+
+
Shares

समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी

समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् । ८ वटा दलले फरकफरक तीन वटा चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेदवारी दिएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष १५ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दल समानुपातिक सूचीमा उम्मेदवारी दिएका छन्।
  • समानुपातिकतर्फ ११० सिटका लागि दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएका छन्।
  • समानुपातिक सूचीमा ७ वटा जातीय क्लस्टर छन् र कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्ने व्यवस्था छ।

१५ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दल समानुपातिक सूचीमा सहभागी भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५४ वटा दल आआफ्नो चुनाव चिह्नमा र १० वटा दल ४ वटा चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसरी समानुपातिकतर्फको मतपत्रमा जम्मा निर्वाचन चिह्न ५८ वटा रहने छन् ।

निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । त्यसअनुसार ६४ वटा दलले समानुपातिकमा उम्मेदवारी दिएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् । ८ वटा दलले फरकफरक तीन वटा चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेदवारी दिएका छन् ।

बाँकी ३८ वटा राजनीतिक दलले भने कम सिटमा उम्मेदवारी दिएका छन् ।

दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पेस गर्न सक्थे । अधिकतमभन्दा कम पदमा उम्मेदवारी दिने दलको संख्या अधिक छ ।

समानुपातिक सूचीमा ७ वटा क्लस्टर छन् । आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्छ ।

आदिवासी जनजातिमा २८.७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ । खस आर्यमा ३०.२८ प्रतिशत, थारुमा ६.५२, दलितमा १३.४४ प्रतिशत उम्मेदवार छान्नुपर्छ ।  मधेशीमा १६.१५, मुस्लिममा ४.८९ र पिछडिएको क्षेत्रबाट कम्तीमा ४.०२ प्रतिशत उम्मेदवार छान्नुपर्ने हुन्छ ।

यसअनुसार दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार तय गर्नुपर्ने थियो । यसअनुसार अधिकतम सिटमा आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी उम्मेदवारी दिनेको संख्या १८ छ ।

जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेलिनवादी)ले पनि पूरै ११० सिटमै उम्मेदवारी दिएका छन् ।

पूरै सिटमा उम्मेदवारी दिने दलहरूमा संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाली जनता दल र नेपाल कम्युनस्ट पार्टी (संयुक्त) पनि छन् । एकल चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि छन् ।

बाँकी ८ वटा दलले भने तीन फरक चुनाव चिह्नमा संयुक्त उम्मेदवारी दिएका हुन् ।

मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनादेश पार्टीले संयुक्त नामावली बुझाएका छन् ।

एकल चिह्न बसमा तीन वटा पार्टीले संयुक्त चुनाव लड्दै छन् । ती हुन्- नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी । जाँतो (चकिया) एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले चुनाव लड्दै छन् ।

११ जनाको मात्रै नाम दिनेहरू पनि छन्

समानुपातिकतर्फको ११० सिटका लागि भएको उम्मेदवारी दर्ताका लागि कम्तीमा ११ जनाको नामावली दिनैपर्ने बाध्यता अनुसार ११ जनाको मात्रै नाम दिने दलको संख्या ६ वटा छ । ती हुन्- गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टी, स्वाभिमान पार्टी, जनअधिकार पार्टी, नेपाली कांग्रेस (बीपी) र नेपाली जनश्रमदान संस्कृति पार्टी ।

कम सिटमा उम्मेदवारी दिएको र निर्वाचनमा बढी सिट प्राप्त हुनेगरी मत आएको अवस्थामा के हुन्छ ? भन्ने प्रश्नमा निर्वाचन आयोग पछि नाम थप्न सकिने प्रावधान नरहेको बताउँछ ।

निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराई भन्छन्, ‘समानुपातिकतर्फ पछि नाम थप्न सकिने प्रावधान छैन । नामावली जति बुझाइएको छ, त्यो भन्दा बढी सिट पाउने गरी मतपरिणाम आएको उदाहरण पनि छैन ।’

नेपाल जनमुक्ति पार्टीका महासचिव पदम जबेगु भने जति सिट जित्न सकिन्छ त्यतिको नाम दिएको बताउँछन् । ११ जनाकै नाम बुझाउनुका तीन वटा करण दिन्छन् उनी ।

पहिलो : कलस्टर

दोस्रो : कम समय

तेस्रो : चुनावबारे पूर्वानुमान ।

‘निर्वाचन आयोगले जातीय क्लस्टर मिलाएर कम्तीमा ११ जनाको नाम बुझाउनुपर्छ भनेको थियो, त्यसअनुसार बुझाएका हौं,’ महासचिव जबेगु भन्छन्, ‘एकातिर समय पनि कम भयो । अर्कोतिर पछि निर्वाचित नहुने नाम राखेर किन प्रचार गर्नु भन्ने पनि हो । जति जित्न सकिन्छ त्यति राख्ने हो ।’

यसो गर्दा लामो समयदेखि पार्टीमा क्रियाशील रहेकाहरू छुटेको उल्लेख गर्दै उनी भन्छन्, ‘उम्मेदवार हुन चाहेका र प्रत्यक्षमा जित्न सक्नेहरूका लागि ठाउँ छँदैछ ।’

समानुपातिकतर्फ १२ सिटमा उम्मेदवारी दिने दलको संख्या ५ छ । ती दल जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल हुन् ।

नेपाल जनता संरक्षण पार्टीले १७ र पिपुल फस्ट पार्टीले १८ जनाको नाम बुझाएका छन् ।

नेपाल जनता संरक्षण पार्टीका उपाध्यक्ष थर्कबहादुर बस्नेत उम्मेदवार पाउन सकस परेको स्वीकार गर्छन् । सोमबार निर्वाचन आयोग परिसरमा उनी भन्दै थिए, ‘बल्लबल्ल १७ जनाको नाम पुर्‍याइयो ।’

उम्मेदवार हुन किन मान्दा रहेनछन् भन्ने अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिए, ‘त्यही त हो, चुनाव जितिन्छ, जितिन्न भन्छन् । ठूला दलका मान्छे धेरै भएर हैरान, सानामा बस्न मान्दैनन् ।’

‘विश्वास दिलाउनुपर्‍यो नि त’ भन्दा उनी थप्छन्, ‘हामी ठूलो भए हाम्रैमा पनि त्यस्तै (ठूला पार्टीमा जस्तै उम्मेदवार बन्न चाहनेको संख्या अधिक) हुन्छ ।’

अन्य दलहरू पनि छन् जसले समानुपातिकको ११० सिटका लागि कमभन्दा कम नाम निर्वाचन आयोगमा बुझाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल मातृभूमि पार्टी र बहुजन शक्ति पार्टीले २०-२० जनाको नाम बुझाएको छ । उन्नत लोकतन्त्र पार्टीले २२, त्रिमूल नेपालले २३ जनाको नाम बुझाएको छ । २५ जनाको नाम बुझाउने दलको संख्या तीन छ । ती हुन्- नागरिक शक्ति नेपाल, जनता लोकतान्त्रिक पार्टी नेपाल र राष्ट्रिय गौरव पार्टी ।

नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले एकल चिह्न जकर भएको सिंहमा चुनाव लड्दैछन् । यी दुई दलले पनि समानुपातिकतर्फ २५ जनाको नाम बुझाएका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २७, सार्वभौम नागरिक पार्टीले २८, नेसनल रिपब्लिक नेपालले २९, समावेशी समाजवादी पार्टीले ३१, समावेशी समाजवादी पार्टीले ३२, राष्ट्र निर्माण पार्टी नेपालले ३५, प्रजातान्त्रिक पार्टी नेपालले ४१, नेपालको लागि नेपाली पार्टीले ४३, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४६ र राष्ट्रिय परिवर्तन पार्टीले ४९ जनाको नाम बुझाएका छन् ।

५० जनाभन्दा माथि नाम बुझाउने दल चार वटा छन् । जय मातृभूमि पार्टीले ५५, नेपाल जनता पार्टीले ६०, संयुक्त नागरिक पार्टीले ६१ र जनता समाजवादी पार्टी नेपालले १०१ जनाको नाम बुझाएका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?