+
+
Shares

साना पार्टीलाई उम्मेदवार नपाएर हैरान, ठूलालाई चित्त बुझाउनै मुस्किल

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बनाउँदा क्लस्टर मिलाउन सकस परेको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष १४ गते २३:१९

१४ पुस, काठमाडौं । सोमबार बिहान १० बजे कान्तिपथस्थित निर्वाचन आयोग पुग्दा सुनसान जस्तै थियो । आयोगका कर्मचारी दलहरूको पर्खाइमा थिए ।

सवा १० बजेतिर जनप्रिय लोकतान्त्रिक पार्टी आयोग पुग्यो । आइतबार नै निस्सा लिएको सो पार्टी समानुपातिकतर्फको बन्द सूचीमा रहने नाम बुझायो र निस्कियो ।

त्यसपछि १२ बजेतिर नेपाल जनता संरक्षण पार्टी पुग्यो । यो पार्टीले समानुपातिकमा १७ जनाको नाम राखेको छ । निस्सा लियो र बन्द सूची बुझायो ।

यो पार्टीका अध्यक्ष हुन् कुमलाल लामा । उपाध्यक्ष रहेछन् थर्कबहादुर बस्नेत । उमेरले ७० वर्ष पुगेका थर्कबहादुर पूर्वीय दर्शनको संरक्षण र विस्तार गर्ने चाहना राख्दा रहेछन् । पश्चिमाको प्रभाव बढेको चिन्ता गरिरहेका उनी भन्दै थिए, ‘बल्लबल्ल १७ जनाको नाम पुर्‍याइयो ।’

उम्मेदवार हुन किन मान्दा रहेनछन् भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने , ‘त्यही त हो, चुनाव जितिन्छ, जितिन्न भन्छन् । ठूला दलका मान्छे धेरै भएर हैरान, सानामा बस्न मान्दैनन् ।’

‘अनि विश्वास दिलाउनुपर्‍यो नि’ भन्दा उनी थप्छन्, ‘हामी ठूलो भए हाम्रैमा पनि त्यस्तै हुन्छ ।’

केहीबेरपछि समुन्नत नेपाल पार्टीका नेताहरू पुगे । नेता स्वागत नेपाल उपस्थित थिए । यो पार्टीले ११ जनाको नाम बन्द सूचीमा पेस गरेको छ । समानुपातिकतर्फको बन्द सूची बुझाउने दलहरूमा नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको बुझाएको छ ।

गतिशील लोकतान्त्रिक पार्टीले ११, जसपा नेपालले १०१, समावेशी समाजवादी पार्टीले ३१, समावेशी समाजवादी पार्टी नेपालको १२, नागरिक शक्ति नेपालको २५, राष्ट्रिय जनमुक्ति पार्टीको १२, नेपाल जनमुक्ति पार्टीको ११, उन्नत नेपाल पार्टीले २२ जनाको नाम बुझाएको छ ।

निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि ११४ दल दर्ता भएका थिए । तीमध्ये १०० दलले समानुपातिकतर्फ निर्वाचन लड्ने गरी दल दर्ता गरेका थिए ।

निर्वाचन आयोगमा समानुपातिकतर्फको नाम दर्ता गर्ने क्रममा भने दलहरू एकीकरण र ध्रुवीकरणमा लागे । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतोको नेतृत्वको पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकीकृत रूपमा निर्वाचन लड्दैछ ।

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी आयोग पुग्दा माहोल थप तातिएको थियो । सबै जातजाति, भूगोल, वर्ग र समुदायको हक-अधिकारका लागि लड्न चुनावमा एकीकृत भएर होमिएको राईले बताए ।

राई नेतृत्वको पार्टीका सहअध्यक्ष सहितका नेताहरू उपेन्द्र यादव नेतृत्वको पार्टीमा सामेल भएका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपा पनि जसपा नेपालकै चुनाव चिह्नमा चुनाव लड्ने गरी सम्झौता भएर अगाडि बढेको छ । जसपा नेपालले पनि समानुपातिकतर्फको बन्द सूची बुझाएको छ ।

साँझ परेसँगै दलहरू निर्वाचन आयोग पुगेका हुन् । ढिलो गरी आयोग पुग्नुको कारण समानुपातिकतर्फको नाम टुंग्याउन समय लागेको नेताहरू बताउँछन् ।

कांग्रेस नेता मीनबहादुर विश्वकर्मा भन्छन्, ‘स्वाभाविक छ आकांक्षी धेरै हुन्छन् । तथापि निर्णय लिएका छौं ।’

एमाले नेता भीष्म अधिकारी ‘गाह्रो साह्रै गाह्रो’ भन्दै थिए ।

उम्मेदवार छनोट गर्न कति सकस पर्‍यो ? नेता अधिकारीको जवाफ छ,’ नामावली टुंगो लगाउन समय लाग्यो । तल कमिटीबाट सिफारिस भएर केन्द्रसम्म आउने र केन्द्रले टुंगो लगाउने विधि छ । महाधिवेशनबाट बाहिर निस्किएको र राष्ट्रिय जीवनमा प्रभाव पार्ने व्यक्तिलाई पठाउनुपर्ने हुन्छ ।’

तथापि, विभिन्न कलस्टर मिलाएर ल्याइएको उनले बताए ।

पार्टी भित्र महाधिवेशनमा पराजित पक्षलाई समेट्न कति सकियो भन्ने प्रश्नमा उनी भन्छन्, ‘चुनावपछि हार र जित पक्ष रहेन । सिंगो एमालेको बन्द सूची तयार भएको छ ।’

अहिले समेटिन नसकेकालाई अन्यत्र अवसर दिने गरीसमेत मिलाइएको छ । उनी थप्छन्, ‘यस पटक बन्द सूचीमा नपरेकालाई प्रत्यक्षमा उम्मेदवार बनाउन सकिन्छ । राष्ट्रिय सभाको चुनाव छ । प्रदेश र स्थानीय तहको चुनाव छ ।’

दलहरू अबेला गरी निर्वाचन आयोग पुग्दा व्यवस्थापन गर्न भने आयोगलाई सकस परेको छ ।

चाप हुन भनेर त्यसअनुसार निर्वाचन आयोगले जनशक्ति र आवश्यक स्रोत-साधनको व्यवस्थापन गरेको बताउँछन् निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ।

उनका अनुसार आइतबार नै अधिक दलहरू बन्द सूची लिएर निर्वाचन आयोग पुग्ने अनुमान थियो । तर आइतबार त्यस्तो भएन ।

आइतबार तीन वटा दल मात्रै निर्वाचन आयोग पुगे । यसपछि आयोग सोमबार चाप बढेको हो । चाप व्यवस्थापन गर्ने गरी मिलाइएको छ । प्रवक्ता भट्टराई भन्छन्, ‘हामीले रातिसमेत काम गर्नुपर्ने स्थिति हुनसक्छ भनेर व्यवस्थापन मिलाएका छौँ  ।’

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार दलहरूलाई समानुपातिकतर्फको बन्द सूची बनाउँदा क्लस्टर मिलाउन सकस परेको छ । सहसचिव भट्टराईका अनुसार यसअघि निर्वाचन आयोगले प्रशिक्षण नै दिए तापनि क्लस्टर मिलाउन केही सकस परेको देखिएको हो ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?