News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको छ।
- आयोगका पदाधिकारीहरूले कार्यालय समय सकिए पनि रसिद बोकेर आयोग परिसरमा रहेका दलका प्रतिनिधिहरूलाई बन्दसूची पेस गर्न नदिन नहुने निष्कर्षसहित व्यवहारिक निर्णय गरेको बताएका छन्।
- समानुपातिकको बन्दसूची पेस गर्नुअघि हरेक दलले ५० हजार रुपैंया दस्तुर बुझाउनुपर्ने व्यवस्था आयोगले जनाएको छ।
१४ पुस, काठमाडौँ । निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको छ ।
आयोगका पदाधिकारीहरूको अनौपचारिक बैठकले रसिद काटिसकेका र बन्दसूची बुझाउन आएका दलहरूलाई कार्यालय समय सकिएकै कारण निषेध गर्न नहुने निष्कर्षसहित बन्दसूची पेस गर्न निर्णय गरेको हो ।
‘उहाँहरूले रसिद काटिसक्नुभएको छ, प्रतिनिधिहरू सूची बोकेर आयोगको परिसरमा आइसकेका छन्’ आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘त्यस्तो अवस्थामा घडीमा ४ बज्यो भन्ने कारणले मात्रै बन्दसूची पेस गर्न नदिनु गलत हुनेछ, त्यसमा हामी व्यवहारिक हुनेछौं ।’
निर्वाचन आयोगको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरूका अनुसार, सबैजसो दलहरुले रसिद काटिसकेका छन् । तर कतिपय दलमा निर्णय नभएका कारण र केही दलहरू एकीकरणको प्रक्रियामा रहेका कारण बन्दसूची पेस गर्न ढिलाइ भएको हो ।
तर दलका प्रतिनिधीहरू निर्वाचन आयोग परिसरभित्र रसिद बोकेर बसिरहेको अवस्थामा उनीहरूलाई निषेध गर्न नहुने भन्दै मंगलबार बिहानसम्म भए पनि सूची दर्ताको अवसर दिने तयारी गरेको हो । त्यसरी काम गर्दै जाँदा जतिबेला भए पनि लाइनमा रहेका प्रतिनिधिहरूलाई आयोगले मौका दिने भनेको हो ।
तर सोमबार कार्यालय समय सकिएपछि समानुपातिकको सूची पेस गर्न रसिद काट्न भने बन्द भएको आयोगले जनाएको छ । समानुपातिकको बन्दसूची पेस गर्नुअघि हरेक दलले ५० हजार रुपैंया दस्तुर बुझाउनुपर्छ ।
प्रतिक्रिया 4