+
+
Shares

कुरिनटारमा केएफसीको २५औं शाखा, नेपालकै पहिलो ‘ग्रिन स्टोर’ मा ५ करोड बढी लगानी

५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको यो शाखालाई ‘फ्ल्यागसिप आउटलेट’ को दर्जा दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीले चितवन कुरिनटारमा नेपालकै पहिलो 'ग्रिन स्टोर' शाखा सञ्चालनमा ल्याएको छ।
  • केएफसीको कुरिनटार शाखा २०२५ को अन्तिम दिन औपचारिक रूपमा उद्घाटन गरिएको र यो नेपालभरिको २५औं आउटलेट हो।
  • कुरिनटार शाखामा १५ देखि १६ जना महिला कर्मचारी कार्यरत छन् र ईभी चार्जिङ स्टेसनको सुविधा पनि उपलब्ध छ।

१६ पुस, कुरिनटार, (चितवन) । विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीले चितवन कुरिनटारमा विशेष शाखा सञ्चालनमा ल्याएको छ ।

सन् २०२५ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ का दिन औपचारिक रूपमा उद्घाटन गरिएको यो शाखा केएफसीको नेपालभरिको २५औं आउटलेट हो ।

कम्पनीले २०२५ भित्र २५ शाखा पुर्‍‍याउने आफ्नो लक्ष्य यही आउटलेट उद्घाटनसँगै पूरा गरेको छ । नेपालकै पहिलो ‘ग्रिन स्टोर’ केएफसीका प्रतिनिधि तथा केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहका अनुसार कुरिनटारको यो आउटलेट अन्य साधारण शाखाभन्दा निकै फरक र विशेष छ । यसलाई केएफसीले नेपालकै पहिलो ‘ग्रिन स्टोर’ का रूपमा स्थापित गरेको छ ।

‘वातावरण संरक्षण र ऊर्जा दक्षतालाई मुख्य प्राथमिकतामा राखेर यो आउटलेट डिजाइन गरिएको छ,’ शाहले भने, ‘यहाँ प्रयोग हुने ऊर्जाको मुख्य स्रोत जलविद्युत् हो, आउटलेटभित्र जडान गरिएका एयर कन्डिसनर (एसी) देखि भान्साका उपकरणसम्म सबै ‘फाइभ स्टार रेटेड’ छन्, जसले कम बिजुली खपत गर्छन् ।’

साथै, विद्युत नहुँदा प्रयोग गरिने जेनेरेटर पनि ‘सीपीसीबी४’ रेटिङको छ, जसले शून्य धुवाँ उत्सर्जन गर्छ । यसबाहेक यहाँ वर्षाको पानी संकलन प्रविधि जडान गरिएको छ भने भविष्यमा सौर्य ऊर्जा  जडान गर्ने योजना पनि छ ।

यो शाखालाई पूर्णरूपमा प्लास्टिकमुक्त बनाइएको छ र यसलाई ग्रिन स्टोरका रूपमा आधिकारिक प्रमाणीकरण गराउने प्रक्रिया समेत अघि बढाइएको छ ।

५ करोड बढी लगानी र फ्ल्यागसिप अनुभव

५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको यो शाखालाई ‘फ्ल्यागसिप आउटलेट’ को दर्जा दिइएको छ । लिजमा लिइएको जग्गामा निर्मित यस रेस्टुरेन्टमा ग्राहकलाई प्रिमियम अनुभव दिन विशेष किसिमका फर्निचर र सजावट प्रयोग गरिएको छ । लामो यात्राबाट थकित भएर आउने यात्रुलाई आरामदायी र कोजी वातावरण प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेको शाहले बताए ।

यो नयाँ आउटलेटको अर्को रमाइलो र उदाहरणीय पक्ष यहाँको जनशक्ति हो । कुरिनटार आउटलेटमा कार्यरत १५ देखि १६ जना सबै कर्मचारी महिला छन् । महिला सशक्तीकरणलाई टेवा पुर्‍याउने उद्देश्यले पूर्णरूपमा महिला कर्मचारीद्वारा यो शाखा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

राजमार्गमा ईभी चार्जिङ र हाइजेनिक खानाको गन्तव्य राजमार्गमा यात्रा गर्ने यात्रुको चाप र विद्युतीय सवारी (ईभी) को बढ्दो प्रयोग मध्यनजर गर्दै कुरिनटारमा यो शाखा खोलिएको हो । ‘ई–स्टप’ सँगको सहकार्यमा रेस्टुरेन्ट परिसरमै ईभी चार्जिङ स्टेसनको सुविधा पनि उपलब्ध गराइएको छ ।

शाहका अनुसार भविष्यमा निश्चित रकमको खाना खाने ग्राहकलाई चार्जिङ निःशुल्क गर्ने योजनामा पनि कम्पनीले गृहकार्य गरिरहेको छ । राजमार्गमा यात्रा गर्दा गुणस्तरीय र हाइजेनिक खाना अभाव महसुस गर्ने यात्रुका लागि केएफसी एउटा भरपर्दो गन्तव्य बन्ने शाहको विश्वास छ ।

हतारमा हुने यात्रुका लागि ‘ग्र्याब एन्ड गो’ सुविधा पनि यहाँ उपलब्ध छ । साथै, विदेशी पर्यटक वा कम्युनिकेसनमा समस्या हुने ग्राहकका लागि ‘सेल्फ अर्डरिङ किओस्क’ को व्यवस्था गरिएको छ, जहाँबाट ग्राहकले आफैं मेनु हेरेर अर्डर गर्न सक्नेछन् ।

यहाँ केएफसीका चर्चित परिकार हट एन्ड क्रिस्पी, पपकर्न चिकेन, चिकेन स्ट्रिप्स, जिंजर बर्गर लगायत नियमित मेनु उपलब्ध हुनेछन् ।

कम्पनीले यो वर्ष मात्रै ७ वटा नयाँ शाखा थपेर आफ्नो २५ शाखाको लक्ष्य पूरा गरेको हो । चितवन जिल्लामा भने यो केएफसीको दोस्रो शाखा हो ।

(तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?