+
+
Shares

जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पटके अपराधीको हातमा

काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १७:००

१६ पुस, काठमाडौं । काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका दुई पेस्तोल यसअघि पटक पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्तिको हातमा पुगेको भेटिएको छ । गुण्डागर्दी, हप्ता असुली गर्दै हिँड्ने व्यक्तिले दुई पेस्तोल आफ्नो कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

यो प्रकरणमा काठमाडौं डल्लु बस्ने झिल्के भनिने विकाश शाही, मोरङ लेटाङका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राईबाट फेला परेको हो ।

उनीहरूबाट सीएफ ९८ पेस्तोल २ थान, ३ थान म्याग्जिन र २ राउण्ड गोली र २ राउण्ड खोका बरामद गरेको छ । पक्राउ परेका झिल्केविरुद्ध यसअघि पाँच पटक मुद्दा चलेको भेटिएको छ ।

१५ जेठ २०७३ मा प्रहरी वृत्त लैनचौरले उनलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । लैनचौरले नै १७ वैशाख २०७५ मा र ७ माघ २०७७ मा अभद्रको मुद्दा चलाएको थियो । प्रहरी वृत्त स्वयम्भूले १४ असार २०७९ मा उनीविरुद्ध बलात्कार कसुरमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।

प्रहरी वृत्त लैनचौरले नै ७ भदौ २०८० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ गरेर उनलाई मुद्दा चलाएको थियो । यो केशमा उच्च अदालत पाटनले ९ महिनाको कैद तोके पनि उनी फरार हुँदै आएको खुलेको छ । उनै झिल्के अहिले पेस्तोलसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका अर्का राई त यसअघि प्रहरीले गोली हानेर पक्राउ गरेका व्यक्ति हुन् । उनी प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैटेका सहयोगी समेत रहेको प्रहरीले बताएको छ । उनी पछिल्लो समय भने कारागारमा रहेका अर्का गुण्डा नाइके समीरमानसिंह बस्नेतको सहयोगीको रुपमा काम गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

उनीविरुद्ध पनि यअसघि पाँच वटा मुद्दा चलिसकेको प्रहरीले बताएको छ । २०७२ साउनमा कालिमाटीमा मनकामना माई यातायातका सञ्चालक पञ्चबहादुर शाहीमाथि खुकुरी प्रहार गरी लुटपाट गरेको आरोपमा मुद्दा चलेको थियो ।

२०७२ मै कलंकीमा रहेको स्काई प्यालेस डान्सबारमा तरबार र बोतल प्रहार गरी लुटपाट गरेको आरोपमा मुद्दा चलेको थियो । उनै जस्वन्तलाई २०७३ सालमा प्रहरीले गोली हानेर पक्राउ गरेको थियो । २०७६ मा उनी लागु औषधसहित पक्राउ परेर मुद्दा चलेको थियो ।

उनी राईअहिले पेस्तोलसहित पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?