१७ पुस, काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकिएको छ ।
सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाचौं पटक गरेको म्याद थप अनुसार, आजसम्मका निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, अझै काम पूरा भएको छैन ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘संसद् भवन निर्माण भएर हस्तान्तरण हुन आएको छैन् । कति काम भयो भन्नेबारे पछिल्लो जानकारी अपडेट भएर आएको छैन ।’
भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको थियो । जससले ८ साउन २०८२ मा ६ महिनाभित्र अर्थात् आजसम्म काम सक्ने गरी पाचौं पटक म्याद थप गराएको थियो ।
गत असार १२ मा शहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाँचौं पटक म्याद थपको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार संसद् भवन निर्माणको म्याद ठेकेदारलाई आज सम्मको समय थियो ।
सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।
नयाँ संसद् भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । फेरि पनि काम सकिएन ।
१ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो । फेरि पनि प्रगति भएन । २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रो पटक म्याद थप भयो । फेरि पनि काम नसकिएपछि चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो र पाँचौं पटक गत १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको हो ।
पटकपटक म्याद थपेर पनि काम नसकिएको भनेर यसअघि संसद्मै कुरा उठेको थियो । संसद् भवनकै काम समयमा सकिँदैन भने कहाँको सकिन्छ भनेर तत्कालीन सांसदहरूले प्रश्न गरेका थिए । प्रश्न उठेपछि राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत जिम्मेवार व्यक्तिहरू संसद् भवन निर्माणको अवलोकन गरेका थिए ।
पछिल्लो समयमा समेत सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, सहरी विकासमन्त्री कुलमान घिसिङ लगायतले अवलोकन गरेका छन् ।
तथापि, पाँचौं पटक थपिएको समयभित्र पनि संसद् भवन निर्माणको काम सकिएको छैन ।
विशेष भवन आयोजनाका सूचना अधिकारी रञ्जन दासका अनुसार कति काम भएको छ भनेर मुल्यांकन भइरहेको छ ।
‘सम्झौताको म्याद सकियो । अहिलेसम्म के कति काम भएको छ भनेर त्यसको मुल्यांकन गर्ने काम भइराखेको छ’ दासले जानकारी दिए ।
उनका अनुसार संसद् भवन निर्माणका लागि छैठौं पटक म्याद थपका लागि निमाण व्यावसायीले निवेदन दिइसकेका छन् ।
‘निमाण व्यावसायीले म्याद थपका लागि निवेदन दिएको छ । त्यस सम्बन्धमा निर्णय विभागले गर्छ’ उनले भने ।
प्रतिक्रिया 4