+
+
Shares

उद्धारमा ढिलाइ हुँदा नदीमै मर्‍यो डमरू

डिभिजन वन कार्यालय प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय निकुञ्ज र संरक्षण कोषको लापरवाहीले डमरूको मृत्यु भएको दाबी गरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले भने त्यसको खण्डन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते ८:२७
Listen News
0:00
0:30
🔊

१८ पुस, धनगढी । कञ्चनपुरमा समयमै उद्धार नहुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका–१ को चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जोगबुढा नदीमा फसेको बाघको डमरूको मृत्यु भएको हो ।

नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान डमरू भेटिएको थियोे ।

स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरेका थिए तर दुवै निकायबाट उद्धारमा ढिलाइ भएको स्थानीयले बताए ।

मृत्यु भएको डमरूको उमेर करीब दुई महिनाको थियो ।

डिभिजन वन कार्यालय प्रमुख भन्छन्– निकुञ्जको लापरवाही

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरे ।

उनले डमरू नदीमा फसेको अवस्थामा रहेको थाहा पाएपछि आफू उद्धारका लागि घटनास्थल जान खोजे पनि सशस्त्र प्रहरीले राष्ट्रिय निकुञ्जका वार्डेनको अनुमति बिना जान नदिने भन्दै रोकेको बताए । निकुञ्जले आफू पनि उद्धार नगर्ने र वनको टोलीलाई समेत रोकेकै कारण डमरूको मृत्यु भएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले डमरूको उद्धारमा ढिलाइ भएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

दिउँसो २ बजेतिर डमरू नदीमा फसेको खबर प्राप्त भएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको उनको भनाइ छ ।

तर, बघिनी समेत घटनास्थल वरपर भएका कारण माउले नै डमरू लगोस् भन्ने कोणबाट प्राविधिकले रेकी गरेर बसे पनि कुर्दाकुर्दै मृत्यु भएको बताए ।

‘उद्धार टोली नगएको भन्ने कुरा गलत हो । चिकित्सकसहित हाम्रो प्राविधिक टोली समयमै घटनास्थल पुगेको थियो,’ चौधरीले भने, ‘माउ पनि वरिपरि भएकाले बच्चा माउले नै लगोस् भन्ने कोणले रातिसम्म प्राविधिक टोली कुरेर बसेको थियो तर डमरूको दु:खद मृत्यु भयो ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले ४४ बाघको संरक्षण गरेर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?