१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टी फोरेर नभइ एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘महाधिवेशन फेस गरौं न त, सबैभन्दा बढी जो मत ल्याउँछ उ नेता हो नि । महाधिवेशन गरेर चुनाव हुन नदिने अनि मै नेता हुँ भन्न मिल्दैन,’ उनले भने ।
साथै, उनले पार्टीमा बोल्न, हिँड्न र गर्न नसक्ने मान्छेलाई नेतृत्व बनाएर पार्टी बलियो हुन्छ ? भन्दै प्रश्न गरे । ‘बोल्नै, हिँड्नै, र गर्नै नसक्ने मान्छे नेतृत्व बनाएर कांग्रेस बलियो हुन्छ ?,’ उनको प्रश्न छ ।
गतिशील, विचारशील, संगठनमा कौशलता र आफू पनि बुझ्न र लेख्न सक्ने नेतृत्वको रुपमा गगन थापालाई अघि सार्नुपर्ने उनको भनाइ छ ।
‘गतिशील, विचारशील, संगठनमा कौशलता र आफू पनि बुझ्न र लेख्न सक्ने गगन थापाको नेतृत्वलाई रोक्नका लागि यो पार्टीको फुटको हौवा देखाएर पार्टीलाई यथास्थितिमा राख्ने षड्यन्त्र भइरहेको छ । यसलाई चिर्ने काम हाम्रो हो,’ उनले भने ।
अहिले जनता र पार्टी कार्यकर्तालो महामन्त्री थापामाथि नै विश्वास गरिरहेको बताए ।
‘अहिले आम नेपाली जनताले गगनमाथि विश्वास गरिरहेको छ । नेपाली कांग्रेसले पनि गगन थापालाई सभापतिको उम्मेदवार बनाएर अघि लैजाऔं भन्ने भइरहेको छ,’ उनले भने ।
अहिले पदाधिकारीमा रहेकाहरूले आफ्नो शक्ति घट्छ भनेर महाधिवेशन नगर्ने षड्यन्त्र रचिरहेको आरोप उनको थियो ।
‘अहिले नेपाली कांग्रेसको पदाधिकारीको रुपमा बसेको छ, उनीहरूले महाधिवेशन भयो भने हाम्रो हातबाट शक्ति जान्छ, आउने निर्वाचनमा हामीले टिकट बाँड्न सक्दैनौं भनेर,’ उनले भने ।
विशेष महाधिवेशनको प्रस्ताव कांग्रेसलाई बलियो, लोकप्रिय बनाउने र चुनावमा स्थापित गर्ने उद्देश्यले विशेष महाधिवेशनको प्रस्ताव ल्याएको उनले बताए ।
प्रतिक्रिया 4