News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा निर्वाचनमा १३ वटा दलले माघ ११ गते हुने निर्वाचनका लागि दल दर्ता गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले दल दर्ता नगरे पनि सुदूरपश्चिम प्रदेशका एक प्रदेश सांसद डा. तारा जोशी रास्वपाका एक्ला मतदाता छन्।
- मतदाता नामावली पुस २० गतेसम्म प्रकाशित हुनेछ र माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
१८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिँदैछन् । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचन प्रयोजनका लागि १३ वटा दलले दल दर्ता गरेका छन् ।
जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, जनमत पार्टी छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र श्रम संस्कृति पार्टीले पनि राष्ट्रिय सभाको निर्वाचनमा भाग लिँदैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छैन । तथापि, रास्वपाका मतदाता छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् । यसअघिको निर्वाचनमा रास्वपाले स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएको थिएन ।
तर, सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशी रास्वपा प्रवेश गरेका छन् । उनी कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी हुँदै रास्वपाको प्रतिनिधि बनेका हुन् ।
प्रदेश सभा सदस्य जोशी राष्ट्रिय सभा निर्वाचनमा आफू रास्वपाको तर्फबाट एक्लो मतदाता रहेको बताउँछन् । उनी अनलाइनखबरसँग भन्छन्, ‘म मेरो पार्टीको तर्फबाट एक्लो मतदता हुँ । निर्वाचनमा कसलाई सर्पोट गर्ने वा नगर्ने केही तय भएको छैन । यो विषयमा पार्टीले जे भन्छ म त्यही गर्नेछु ।’
डा. जोशी रास्वपाका एकमात्रै प्रदेश सांसद हुन् । राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ५३ छ । स्थानीय तहका एक पदाधिकारीको मतभार भने १९ छ । सातैवटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहमा १ हजार ५०६ प्रमुख तथा उपप्रमुख छन् ।
एक मात्रै प्रदेश सभा सदस्य भएकाले राष्ट्रिय सभामा प्रदेशतर्फ रास्वपाको ५३ मतभार छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।
मतदाता नामावली प्रकाशन भएको छ । पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिन सकिनेछ ।
यसरी परेको निवेदन तथा उजुरीमाथी पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।
२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छ ।
यसपटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
प्रतिक्रिया 4