News Summary
Generated by OK AI. Editorially reviewed.- राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा नाम परिवर्तन दुई अवस्थामा मात्र गर्न पाइन्छ, जसमा कलस्टर नमिलेको र उम्मेदवारले नाम फिर्ता लिएको अवस्था पर्दछ।
- निर्वाचन आयोगले दललाई पुस २० गतेसम्म क्लस्टर नमिलेको जानकारी दिनेछ र पुस २१ देखि २७ गतेसम्म संशोधन पेश गर्ने समय दिनेछ।
- उम्मेदवारले पुस २८ गतेसम्म नाम फिर्ता लिन सक्नेछन् र पुस ३० गतेसम्म दलले नयाँ उम्मेदवारको नामावली आयोगमा पेश गर्नेछ।
१८ पुस, काठमाडौं । राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन् । अब उक्त सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ?
निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार दुईटा अवस्थामा सूचीमा रहेको नाम परिवर्तन पाइन्छ ।
पहिलो अवस्थाबारे उनी भन्छन्, ‘कलस्टर नमिलेको अवस्थामा, समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले (परिवर्तन गर्न) पाइन्छ ।’
दोस्रो अवस्था भनेको उम्मेदवारले नै नाम फिर्ता लिएको अवस्था हो । उनी भन्छन्, ‘कसैले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को मान्छे पठाउन पाइन्छ ।’ यसका लागि दलहरूले एक साताको समय पाउने छन् ।
प्रवक्ता भट्टराईका अनुसार क्लस्टर नमिलेको अवस्थामा आयोगले सम्बन्धित दललाई यही पुस २० गतेसम्म सूचित गरिसक्छ । ‘त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ,’ उनले भने ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।
आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।
माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।
आयोगको तालिका अनुसार आगामी माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।
प्रतिक्रिया 4