सार्क इलेक्सन अब्जर्भेसन टीमको सदस्यको नाताले सन् १९९६ जूनमा बङ्गलादेश पुग्दा, त्यहाँ अल्पसंख्यक रहेका एक हिन्दू परिवारसँग भेट भएको याद ताजा छ।
त्यो भेटमा, त्यो घरकी महिला सदस्यले म हिन्दू भन्ने थाहा पाएर मलाई शंखको चुरा र निधारमा रातो अबिरको टीका लगाइदिएर खुशी हुँदै घरभित्र हुलेकी थिइन्। उनका पति कुनै विश्वविद्यालयमा पढाउँथे। त्यो घरमा मलाई, बङ्गला एकेडेमीकी सदस्यले लिएर गएकी थिइन्; जो मुस्लिम थिइन्।
त्यहाँ हामीहरूले भाषाले बङ्गलादेशलाई कसरी एकसूत्रमा बाँधेको थियो, धार्मिक अल्पसंख्यकको स्थिति के-कस्तो छ भन्ने बारेमा कुराकानी गरेका थियौं। त्यही माइमेनसिंघमा गत डिसेम्बरमा दिपुचन्द्र दास नामका २७ वर्षीय हिन्दूलाई जिउँदै आगो लगाएर हत्या गरियो। समाचारमा आए अनुसार, दिपुचन्द्रलाई मार्नुको कारण, उनले ‘सबै धर्म बराबर हुन्’ भनेको भनिएको छ ।
उक्त भनाइले प्रोफेट मोहमदको अपमान भएको भन्दै उनीमाथि हिंसात्मक आक्रमण भएको समाचारहरू विभिन्न सञ्चारमाध्यममा पढ्न पाइन्छ। त्यो ज्यादै अमानवीय र भर्त्सनायोग्य कार्य हो। कुनै पनि धर्म या धर्मग्रन्थले व्यक्तिहत्यालाई प्रश्रय दिंदैन। त्यो काम जसले गरे उनीहरू धार्मिक व्यक्ति होइनन्; अतिवादी हुन्।
त्यसपछिका दिनहरूमा, बदलाको भावनामा आएर भारतका हिन्दू अतिवादी धार्मिक समूहहरूले मुस्लिम समुदायका व्यक्तिहरूमाथि आक्रमण गरेको खबरहरू पनि आए र आइरहेका छन्। त्यो पनि गलत हो। अहिलेको समय आँखाको बदला आँखा, ज्यानको बदला ज्यान लिने आदिमकालीन विचार बोक्ने समय होइन; तर, धर्मको नाउँमा राजनीति गर्नेहरूले यो कुरा पटक्कै बुझ्न चाहँदैनन् वा बुझ्यो भने उनीहरूको राजनैतिक रोटी सेकिंदैन ।
भारत, पाकिस्तान र बङ्गलादेशका हिन्दू र मुस्लिम समूदायहरू बीच समय-समयमा यस्ता-त्यस्ता हिंसात्मक आक्रमण र घटनाहरू घट्दै आइरहेछन्।
ती सबै देख्दा र सुन्दा, नेपालमा ती विषाक्त वातावरणको बाछिटा नपरोस् भन्ने चाहना देशलाई माया गर्ने जो–कोही नेपालीको पनि हुन्छ। तर; केही स्वार्थ समूहहरू त्यस्ता कुत्सित विचारहरू देश भित्र्याएर देशको शान्ति सुव्यवस्थालाई खल्बल्याउन खोजिरहेछन्। त्यसको लागि सरकार र विशेषगरी समुदाय नै चनाखो भएर रहनुपर्ने हुन्छ।
नेपालमा यदाकदा त्यस्ता अमानवीय घटनाहरू नघट्ने वा नघटेका होइनन्; तर त्यो वातावरण भित्रिनुमा छिमेकी देशको प्रभाव धेरै परेको हुन्छ। उदाहरणको लागि, कोभिडको समयमा नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्र्याएको निराधार आरोप लगाइयो। कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमितहरू जो पूर्वी नाकाबाट भित्रिएका थिए, उनीहरूलाई, कोरोना संक्रमण फैलाउने जमाती, मुस्लिम समुदायका हुन् भनेर आरोपित गरियो। जबकि; कोरोना कुनै जाति, समुदाय वा धार्मिक समूहले फैलाएर फैलने रोग थिएन।
हालसालै पनि बर्दिया जिल्लामा एउटा धार्मिक सद्भाव खल्बल्याउने नराम्रो घटना घट्यो। उक्त घटना बारेमा, गत पुस १४ गते सेतोपाटीमा ‘अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घर जलाइदिने ५ जना पक्राउ’ शीर्षकको समाचार प्रकाशित भएको थियो।
समाचारको सार थियो, ‘पुस १० गते राति नौ बजेतिर गुलरिया नगरपालिका–१० का २४ वर्षीय सद्दाम बेहनाको घरमा गाउँकै एक समूह गएर आगजनी गरिदिएको थियो। अन्तरजातीय बिहे गरेको तथा मुस्लिमले हिन्दूको छोरी भगाएर लगेको आरोप लगाउँदै गाउँकै केही व्यक्तिहरू गई बेहनाको घरमा आगजनी गरेका थिए।’
नेपालको संविधान २०७२ को धारा २६ ले ‘धार्मिक स्वतन्त्रताको हक’ प्रदान गरेको छ; जसको उपधारा १ ले, ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ’ भनेको छ।
उपधारा २ ले भन्छ, ‘प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ। तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन।’
उपधारा ३ अनुसार, ‘यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ।’
तर, हाम्रो समाजमा केही प्रतिशत व्यक्तिहरूले धर्म तथा आस्थाको स्वतन्त्रतालाई अधिकारको रूपमा बुझेनौं; हिन्दू धर्म विरुद्धको प्रहार भनेर बुझ्यौं। त्यसैले, बंगलादेशमा अल्पसंख्यकको रूपमा रहेका हिन्दूहरूमाथि अत्याचार र अमानवीय व्यवहार हुँदा, नेपालमा अल्पसंख्यक तर, पुस्तौंदेखि रहेका मुसलमानहरूमाथि रिस पोख्छौं; तीमध्ये पनि अलि प्रखर रूपमा आफ्नो विचार राख्ने मुस्लिम, अझ महिला छन् भने देशनिकाला गर्नुपर्छ भनेर अपमानित गर्न समेत पछिपर्दैनौं।
नेपाल सदियौंदेखि धार्मिक सहिष्णुतामा अग्रगामी देश थियो र अहिले पनि विभिन्न धार्मिक आस्था राख्नेहरू मिलेर बस्न नै खोजिरहेछन्। तर, केही व्यक्ति र राजनैतिक स्वार्थसँग गाँसिएका स-साना समूहहरू समाजमा धार्मिक कलह र विद्वेष फैलाउन निहुँ खोज्न उद्यत हुन्छन्।
नेपालको संविधानले अल्पसङ्ख्यकहरूलाई जातीय, भाषिक र धार्मिक समूहहरूको रूपमा परिभाषित गर्दछ। सङ्घीय राष्ट्रिय सभा निर्वाचन अध्यादेश, २०१७ अनुसार, निर्वाचनका लागि सरकारले २२ जनवरी २०१८ मा गरेको निर्णयले कुल जनसङ्ख्याको ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्याको आधारमा ९८ जातीय वा जाति समूहलाई अल्पसङ्ख्यकको रूपमा सूचीबद्ध गरेको छ। त्यसको बावजुद, बहुमतमा रहेका धार्मिक वा जातीय समूहहरू किन सहिष्णु हुन सक्दैनन् ? सोच्दा पनि उदेक लाग्ने विषय छ।
त्यस्तै समुदायमा विखण्डन ल्याउने घटना सप्तरीको सदरमुकाम राजविराजमा, गत पुस ८/९ गतेतिर धर्मको नाममा भएको आन्दोलन पनि हो। सो घटना, तीन वर्षअघि अफरोज आलमले भगवान श्रीकृष्णको बारेमा लेखेको स्टाटसले निम्त्याएको थियो भनिन्छ र त्यसलाई साम्य बनाउन अफरोजलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक रूपमा माफी माग्न लगाइयो। यसरी धर्मको नाउँमा विषाक्त वातावरण भुसको आगो जसरी भित्रभित्रै फैलिंदै छ, धार्मिक असहिष्णुता; जुन समाज र देशको लागि एकदमै घातक छ र बेलैदेखि नसोच्ने हो भने यो झन् घातक हुनेछ।
केही दिन अगाडि, इन्द्रचोकको पोते पसल पुग्दा, त्यहाँको मुस्लिम बजारको बीचमा रहेको महादेवको मन्दिर पुनर्निर्माण भइरहेको थियो। वरिपरि मुस्लिमहरूको व्यापार गर्ने ठाउँको बीचमा दशकौंदेखि हिन्दूहरूको मन्दिर हुँदा पनि त सबैलाई स्वीकार्य नै भएको छ; त्यही स्वीकार्यता अन्य स्थानमा किन हुन सक्तैन ?
यो त एउटा सानो उदाहरण मात्रै हो। छिमेकी देशसँग सीमा जोडिएका वा नजिक रहेका ठाउँ बाहेकका मुसलमान समुदायहरू शान्तिसँग नै बसेका पाइन्छन्। नेपालमा मुसलमानहरूको आगमन पन्ध्रौं शताब्दीमा भएको मानिन्छ; राजा रत्न मल्लले कश्मीरी व्यापारीहरूलाई सन् १४८४ देखि १५२० को समयतिर नै काठमाडौंमा स्थायी बसोबासको अनुमति दिएको इतिहासमा पढ्न पाइन्छ। सन् १५२४ मा कश्मीरी मुसलमानहरूले बनाएको पहिलो मस्जिद ‘कश्मीरी टकिया’ हाल पनि घण्टाघर छेउमै अवस्थित छ।
यसको मतलब, सामाजिक सञ्जालमा देखिने, हालको घृणात्मक अभिव्यक्तिमा जस्तो, नेपालका मुसलमानहरू हिजो आएर यहाँका बासिन्दा भएका होइनन्। नेपाली राजाहरूले भारतका मुसलमानहरूलाई सैन्य हतियार निर्माण गर्न, कृषिका उपकरणहरू उत्पादन गर्न लगायत कामका लागि नेपालको पहाडी जिल्लाहरू तनहुँ, गोरखा, पाल्पा आदि स्थानहरूमा बस्न दिएको तथ्य इतिहासले नै बोल्छ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले आफ्नो सेनामा घोडचढीदेखि तोप बनाउनेसम्म मुसलमानहरू भर्ना गरेको कुरा पनि इतिहासमा पढ्न पाइन्छ। तर, केही समययता, धर्मको प्रतिरक्षा गर्ने नाममा खुलेका केही संस्था र एकाध राजनैतिक दलहरू समेत खुलेर धार्मिक सद्भाव भड्काउने अनेक बहाना खोजिरहेछन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी छन् भने, बौद्ध ८.२१, इस्लाम ५.०९, किराँत ३.१७, क्रिश्चियन १.७६ र प्रकृतिपूजक ०.३५ प्रतिशत छन्। यी बाहेक, केही अन्य धर्मावलम्बी पनि छन्। त्यसैले, ८१ प्रतिशतभन्दा बढी जनसंख्या भएको धार्मिक समूहले अन्य धार्मिक समूहसँगको सहअस्तित्व स्वीकार गरेर समाजमा मिलेर बस्न किन गाह्रो मान्नुपर्ने ?
जब कुनै समुदायमा धार्मिक असहिष्णुता फैलाउने काम हुन्छ, त्यहाँ स्थानीय सरकारी निकायहरू पनि चनाखो भएर तुरुन्तै समस्या समाधानको बाटोमा लाग्नुपर्छ; मूकदर्शक भएर, उजुरी नआएसम्म केही नगरी बस्न हुँदैन।
कहिलेकाहीं सरकारी व्यवहारले पनि निश्चित धर्मविशेषलाई नजिक राखेर अन्य धार्मिक समुदायलाई अलिकति पाखा लगाउन खोजेको हो कि भन्ने भान पर्न जान्छ। जस्तो; मुस्लिम, इसाई आदि धार्मिक नेताहरूमाथि भएको आक्रमणमा सरकारी अधिकारीहरूद्वारा कुनै अनुसन्धान गरिएको छैन भन्ने आरोप तत्-तत् समुदायका व्यक्तिहरूले लगाउने गर्दछन्।
धर्मनिरपेक्ष धार्मिक अल्पसङ्ख्यकहरू आफ्नो धार्मिक अधिकार उपभोग गर्नबाट वञ्चित भएको गुनासो पनि सुनिने गरेको छ। सरकार र कर्मचारीतन्त्रमा लगभग ९८ प्रतिशत पुरुष र त्यो पनि उच्च जातिका एउटै धार्मिक समुदायका छन्; जसको कारणले, उनीहरूले अन्य धार्मिक समुदायका व्यक्तिहरूको पीडा बुझ्दैनन् भन्ने गुनासो सुनिन्छ। फेसबुक र ट्विटरमा धार्मिक अल्पसङ्ख्यक विरुद्ध सामाजिक सञ्जाल अभियानहरु शुरु भएको छ; जसले धार्मिक सद्भाव भड्काउने डर बढेको छ। दण्डहीनता र न्यायमा पहुँच नेपालका धार्मिक समूहहरूको प्रमुख चिन्ता हो। धार्मिक समूहका अगुवाहरूका अनुसार, अहिलेसम्म कुनै पनि अपराधीलाई सजाय दिइएको छैन, जो आपराधिक कार्यमा संलग्न थिए। त्यसले गर्दा, आपराधिक कार्य गर्नेहरूलाई धार्मिक हिंसा भड्काउन झनै बल मिल्न सक्छ।
चुनाव आउन लागेको छ; यतिबेला शान्ति र सद्भावको झनै खाँचो छ। हामी मानव हौं; मानव नै रहने कोशिश गरौं। धर्मको नाममा हिंसा बढाउने, भड्काउने काम नगरौं। हिन्दू धर्मले पनि हिंसा गर्न सिकाउँदैन। हामी त जनावरदेखि रूख–बिरुवासम्म पुज्ने समुदाय हौं, मानवमाथि दानव भएर जाइलाग्ने काम नगरौं। किनकि, धार्मिक सद्भावले समुदायलाई बाँधेर राख्छ; मानवताको मिसाल दिन्छ।
प्रतिक्रिया 4