News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले चैतमा नेपाल क्रिकेट संघसँगको सम्झौता नवीकरण नगर्ने मनस्थिति देखाएको छ।
- त्रिविका एक अधिकारीले भने, 'पर्व जात्रा जसरी महिनौसम्म क्रिकेट प्रतियोगिता हुँदा पठनपाठन प्रभावित भयो।'
- नेपाल क्रिकेट संघले वैकल्पिक मैदान तयार भएपछि समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ।
२० पुस, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाताभित्र रहेको ‘होम अफ नेपाली क्रिकेट’ उपनामले चर्चित त्रिवि क्रिकेट मैदानको सम्झौता थप नगर्ने त्रिविको मनस्थिति देखिएको छ ।
आगामी चैतमा नेपाल क्रिकेट संघ (क्यान)सँग त्रिविको सम्झौता सकिने र त्यसपछि नविकरण नहुने त्रिविका एक उच्च अधिकारीले बताएका छन् ।
‘विश्वविद्यालय र क्रिकेट मैदान एकै ठाउँमा हुदैन । पर्व जात्रा जसरी महिनौसम्म क्रिकेट प्रतियोगिता हुँदा अनुसन्धानदेखि पठनपाठानसम्म प्रभावित भयो । क्यानसँगको सम्झौताको समय सकिदैछ । अब थप नगर्ने पक्षमा छौं’ ती अधिकारीले अनलाइनखबरसँग भनेका छन् ।
सामान्य एक दुई वटा म्याच गर्न भने दिने तयारी त्रिविको छ । ‘एक दुई खेल वा इभेन्ट हुनसम्म दिइएला, तर उत्सव जसरी पठनपाठनलाई नै असर पुग्नेगरी खेल गराउनु उचित हुँदैन’ उनले भनेका छन् ।
यता क्यान भने सकेसम्म सबै पक्ष समझदारीमा आएर समस्याको समाधान हुनुपर्ने धारणामा छ । क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली क्रिकेट सबैको साझा भएको र समझदारीको माध्यमबाट समाधान गरिनुपर्ने बताए ।
‘क्रिकेट भनेको क्यानको मात्र नभएर राज्यको नै हो, त्रिवि क्रिकेट मैदान र क्यानको इतिहास लगभग एउटै हो । नेपालले हासिल गरेका उपलब्धिहरू यही मैदानबाट भएको छ । त्रिवि पनि आजसम्म सकारात्मक नै छ । त्यसैले क्यान, त्रिवि, खेलकुद मन्त्रालय छलफलमा बसेर यस विषयमा समाधान निकाल्नुपर्छ भन्ने कुरामा क्यान पनि सकारात्मक छ’ प्रवक्ता लामाले भनेका छन् ।
‘वैकल्पिक मैदानको व्यवस्था भयो भने त क्यान पनि त्रिविलाई डिस्टर्ब गर्न त जाँदैन नि त, सरकारले पनि लगानी गरिरहेको नै छ । वैकल्पिक मैदान तयार भएपछि यो समस्या समाधान हुन्छ नै’ उनले थपे ।
प्रतिक्रिया 4