+

राष्ट्रिय लिग फुटबलबारे थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

२०८२ पुष  २२ गते १२:३० २०८२ पुष २२ गते १२:३०

नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेर आलोचना खेपिरहेको एन्फाले पुस ३० देखि राष्ट्रिय लिग सुरु गर्ने तयारी गरेको छ ।

राष्ट्रिय लिग फुटबलबारे थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले पुस ३० गतेदेखि १७ क्लब सहभागी राष्ट्रिय लिग फुटबल सुरु गर्ने तालिका सार्वजनिक गरेको छ।
  • राष्ट्रिय लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
  • विजेताले ट्रफीसँगै नगद ५० लाख पुरस्कार पाउने व्यवस्था गरिएको छ।

२२ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) यही पुस ३० गतेदेखि सुरु गर्ने गरी आइतबार राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक गरेको छ ।

नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेर आलोचना खेपिरहेको एन्फाले यसअघि तोकिएको भन्दा ५ दिनपछि राष्ट्रिय लिग सुरु गर्ने तयारी गरेको हो ।

यसअघि पुस २५ देखि राष्ट्रिय लिग गर्ने एन्फाले घोषणा गरेको थियो । त्यसबेला राष्ट्रिय लिग सकिएलगत्तै एक महिना भित्र ए डिभिजन लिग पनि आयोजना गर्ने एन्फाले जनाएको थियो । तर घोषणा गरिएको राष्ट्रिय लिग नै समयमै हुन्छ कि हुँदैन भन्ने अन्योल कायम थियो ।

एन्फाले क्लबहरूलाई तयारी खर्च दिनु र राष्ट्रिय लिगका लागि क्लबहरूले पनि खेलाडी अनुबन्ध गर्न थालेपछि लिग हुन्छ होला भन्ने आशा जागेको छ । कुनै ठूलो निर्णय नभएमा अबको ९ दिनपछि अर्थात पुस ३० गतेदेखि राष्ट्रिय लिग फुटबल सुरु हुनेछ ।

तर ए पछिल्लो दुई सिजन ए डिभिजन लिग गर्न नसकेको एन्फाले यस पटक राष्ट्रिय लिग गर्दै ए डिभिजन गर्न नखोजेको आरोप पनि लागिरहेको छ ।

नेपालको डिभिजन फुटबलमा ए, बी र सी अनी सी डिभिजन क्वालिफायर हुने प्रावधान छ । यस बाहेक एन्फा प्रेसिडेन्ट कप अनि राष्ट्रिय लिग पनि हुने उल्लेख गरिएको छ ।

तर शीर्ष डिभिजनको लिग ए डिभिजन लिग भने अब कहिले हुने टुङ्गो छैन ।

यस्तो अवस्थामा राष्ट्रिय लिग आयोजना हुँदा कम्तीमा खेलाडीले खेल्न पाउँछन् र आर्थिक रुपमा पनि केही आर्जन हुन्छ सकरात्मक पाटो छ । तर अहिलेको अवस्थामा राष्ट्रिय लिग हुँदा यसको प्रोग्रेस कस्तो हुन्ने भन्ने कुरामा भने अझै धेरै शंकाहरू छन् ।

यस लेखमा हामी राष्ट्रिय लिग कस्तो लिग हो यो कसरी खेल्न्छ कति क्लब सहभागी हुन्छन् भन्ने लगायतका जानकारी दिनेछौं ।

कति क्लब

राष्ट्रिय लिगमा कूल १७ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा ए डिभिजन लिगका १३ र एन्फा प्रेसिडेन्ट लिगको उत्कृष्ट ४ क्लबहरू छन् ।

पछिल्लो ए डिभिजन लिगमा च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडसहित मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) शीर्ष ६ मा थिए ।

यस्तै एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनल पुग्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काक्रेविहार स्पोर्टस क्लब पनि लिगका लागि छनोट भएका छन् ।

राष्ट्रिय लिगका लागि नयाँ थपिएका ए डिभिजन क्लबहरूमा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब छन् ।

कसरी छानिए क्लब

राष्ट्रिय लिगमा यसअघि १० क्लबले खेल्ने प्रावधान थियो । जसमा ए डिभिजन लिगमा शीर्ष ६ क्लब र एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनल पुग्ने चार क्लब समावेश हुन्थे ।

तर यस पटक भने टिम संख्या बढेको छ । पछिल्लो दुई सिजन ए डिभिजन लिग नभएकोले यस पटक ए डिभिजनका अन्य क्लबहरूका लागि पनि एन्फा टिम दर्ता खुल्ला गरेको थियो । जसमा ए डिभिजनका १४ मध्ये हिमालयन शेर्पा बाहेक बाँकी १३ वटै क्लब खेल्न राजी भए ।

सुरुमा पछिल्लो पटक भएको ए डिभिजन लिग २०७९-८० को शीर्ष ६ क्लबले खेल्ने पक्का थियो । त्यसपछि एन्फा दर्ता खुलाउँदा बाँकी ८ मध्ये ७ क्लबले टिम दर्ता गरे । हिमालयन शेर्पाले भने नाम दर्ता गरेन । ७ मध्ये पनि दुई क्लब बी डिभिजन लिगबाट बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब छन् ।

प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहेर लालिगुरास एसोसिएसन, काँक्रेबिहार युथ क्लब, चित्लाङ एफसी र नव जनजागृति क्लब छन् ।

मिति

राष्ट्रिय लिग पुस ३० गतेदेखि सुरु गर्ने भनिएपनि यो कहिलेसम्म हुने भन्ने टुङ्गो छैन । एन्फाले कम्तीमा तीन महिनाको राष्ट्रिय लिग आयोजना गर्ने योजना बनाएपनि खेल तालिका पूरा मिति भने उल्लेख गरिएको छैन ।

खेल स्थल

एन्फाका अनुसार उपत्यकाका तीन मैदानमा राष्ट्रिय लिगको खेल हुनेछ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासलको च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एन्फा कम्प्लेक्स मैदान छन् ।

यी तीन मैदानमा राष्ट्रिय लिगका खेल खेलाइनेछ । एक दिनमा बढीमा ३ खेल सम्म हुनेछ ।

यसअघि राष्ट्रिय लिग कतिपटक भयो ?

यसअघि दुई पटक राष्ट्रिय लिग आयोजना भएको छ । दुवैमा समान १० क्लबले प्रतिस्पर्धा गरेका थिए । पहिलो पटक सन् २०११-१२ (२०६८ साल ) मा एन्फाले राष्ट्रिय लिग आयोजना गरेको थियो । जसमा ए डिभिजनका ८ र पोखरा (संगम क्लब) र धरान (मित्र मिलन क्लब)का १-१ क्लब सहभागि थिए । त्यसबेला नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

यस्तै त्यसपछि २०१४-२०१५ (२०७१ साल) मा राष्ट्रिय लिग आयोजना भयो । जसमा ए डिभिजनका शीर्ष ६ क्लब तथा झापा, मोरङ, लुम्बिनी र फार वेस्टन गरी ४ क्लब मोफसलबाट सहभागि थिए । दोस्रो पटकको राष्ट्रिय लिग थ्री स्टार क्लबले जितेको थियो ।

तेस्रो पटक राष्ट्रिय लिग आयोजना हुन लागेको हो ।

विजेतालाई पुरस्कार

राष्ट्रिय लिगको विजेताले ट्रफीसँगै नगद ५० लाख पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले नगद २५ लाख र तेस्रो हुनेले १५ लाख हात पार्नेछन् । फेयर प्ले टिमले १ लाख पाउनेछ ।

यस बाहेक सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले १-१ लाख र अवार्ड पाउनेछन् ।

प्लेअर अफ दि म्याचले ५ हजार हजार पाउनेछ भने हरेक खेलको विजेताले २० हजार, खेल हार्ने टिमले १० हजार र खेल बराबरी भएमा दुवै टिमले समान १५ हजार पाउनेछन् ।

खेलाडी दर्ता

राष्ट्रिय लिगका लागि कम्तीमा २३ खेलाडी दर्ता गर्नुपर्नेछ भने बढीमा ४० जना खेलाडी दर्ता गर्न पाउने नियमावलीमा उल्लेख छ ।

यस्तै राष्ट्रिय लिग खेल्ने टिमले यही पुष २२ गतेसम्ममा घटिमा २३ खेलाडीको सूची दर्ता गर्नुपर्नेछ । जसमा ३ गोलकिपर अनिवार्य छ । यस्तै लिग दौरान पनि थप खेलाडी दर्ता पाइनेछ ।

अन्तिम खेलाडी दर्ता सातौं चरण पछि र आठौं चरणअघिसम्म गरिसक्नुपर्नेछ ।

विदेशी खेलाडी

हरेक टिमले राष्ट्रिय टिमका लागि ३ विदेशी खेलाडी दर्ता गर्न पाउनेछ । विदेशी खेलाडीको हकमा भ्यालिड भिजा र पासपवर्टसँगै आईटिसी (इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट) र वर्क परमिट अनिवार्य हुनुपर्नेछ ।

विदेशमा रहेका नेपाली खेलाडी खेल्न आउँछन् ?

राष्ट्रिय लिगका लागि विदेशमा रहेको नेपाली खेलाडी आउँछन् कि आउँदैनन् भन्ने जिज्ञासा धेरैमा छ । राष्ट्रिय लिग खेल्न बाहिर रहेका नेपाली खेलाडीहरू आउन सक्छन् । तर धेरै खेलाडीको प्राविधिक चुनौती हुन सक्छ ।

विगत एक दशकदेखि अष्ट्रेलियामा फुटबल खेलिरहेका मिडफिल्डर जगजित श्रेष्ठ राष्ट्रि यलिग खेल्न नेपाल आउँदैछन् । उनलाई सातदोबाटो युथ क्लबले अनुबन्ध गरेको हो ।

यस्तै अन्य नेपाली खेलाडीहरू पनि नेपालमा खेल्न आउन चाहन्छन् । तर कसैको भिसा प्रोसेस, कसैको समय अभाव लगायत विविध विषयले गर्दा आउन नमिल्ने देखिएको छ ।

ए डिभिजन लिग आयोजना भएमा विदेशमा रहेर धेरै नेपाली खेलाडीहरू नेपालमा खेल्न बउन चाहन्छन् । तर राष्ट्रिय लिग नेपालको टप टायर लिग नभएकोले पनि धेरै खेलाडीको रोजाईँमा नपरेको हुन सक्छ ।

प्रत्यक्ष प्रसारण

राष्ट्रिय लिगका लागि एन्फाले ब्रोडकास्टिङ, मार्केटिङ, टिकेटिङ राइट्सका लागि टेन्डर आह्वान गरेको थियो । यसको अधिकार एमएसएम भिडियो प्रालिले खरीद गरेको छ ।

एन्फाले यसअघि राष्ट्रिय लिग खेल्ने क्लबहरू समावेश गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोमा हुने एन्फा टिभीमा लाइभ हुने उल्लेख गरिएको थियो ।

तर अब एमएसएमले मार्केटिङ र प्रसारणदेखि डिजिटल तथा टिकटिङ अधिकार पाइसकेकाले एमएसएमको ओटिटी प्लाटफर्ममा लाइभ हुनेछ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय