+
+
Shares

मरूभूमिका कमिलाबाट सिकेर वैज्ञानिकले विकास गरे विद्युतरहित ‘कुलिङ पेन्ट’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ६:५३

२४ पुस, काठमाडौं । हङकङका अनुसन्धानकर्ताहरूले भवनहरूमा बिजुलीको खपतलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने एउटा नवीन ‘कुलिङ’ प्रविधिको विकास गरेका छन्। प्रकृतिबाट प्रेरित भई तयार पारिएको यो प्रविधि एक साधारण रङ (पेन्ट) को माध्यमबाट प्रयोग गर्न सकिन्छ।

सिटी युनिभर्सिटी अफ हङकङका वैज्ञानिकहरूले पानीमा आधारित कुलिङ पेन्टको विकास गरेका हुन् । यसले सूर्यको तीव्र प्रकाशलाई परावर्तन गर्छ र भवनको तापक्रमलाई बाहिर फाल्ने काम विद्युत बिना नै गर्दछ। ३० भन्दा बढी देश र क्षेत्रहरूमा परीक्षण भइसकेको यो प्रविधि सहारा मरूभूमिको ‘सिल्भर आन्ट’ (कमिला) को ताप-नियमन गर्ने विशेष क्षमतामा आधारित छ। यो कमिला मरूभूमिको चरम तापक्रममा पनि जीवित रहन सक्ने थोरै जीवहरूमध्ये एक हो।

सहारा मरूभूमिमा पाइने उक्त कमिला ६० देखि ७० डिग्री सेल्सियससम्म पुग्ने सतहको तापक्रममा बस्ने गर्दछ। अनुसन्धानकर्ताका अनुसार, यो कमिलाले सूर्यको किरणलाई परावर्तन मात्र गर्दैन, बरु आफ्नो शरीरको आन्तरिक तापलाई ‘मिड-इन्फ्रारेड रेडिएसन’ मा परिणत गरी अन्तरिक्षमा विसर्जन गर्छ।

‘सिल्भर आन्टको छालाको बनावटले शरीरको आन्तरिक ऊर्जालाई मिड-इन्फ्रारेड उत्सर्जनमा बदल्न सक्छ,’ एक अनुसन्धानकर्ताले भने, ‘८ देखि १३ माइक्रोनको यो विशेष तरङ्ग पृथ्वीको वायुमण्डलबाट सजिलै बाहिर जान सक्छ।’

यो मिड-इन्फ्रारेड विकिरण करिब माइनस २७० डिग्री सेल्सियस तापक्रम भएको चिसो अन्तरिक्षमा पुग्छ, जसले गर्दा तापक्रम कुशलतापूर्वक कम हुन मद्दत पुग्छ।

अनुसन्धान टोलीले कम्प्युटर सिमुलेसनको प्रयोग गरी कमिलाको छालाको सूक्ष्म संरचनाको अध्ययन गरे र ‘नानो-टेक्नोलोजी’ मार्फत सोही कुलिङ संयन्त्रलाई पुनः सिर्जना गरे ।

नतिजामा एउटा ‘न्यायोनो-पाउडर’ तयार भयो, जसलाई रङमा मिसाएर छतहरूमा लगाउन सकिन्छ।

एकपटक प्रयोग गरेपछि, यो पेन्टले एकैसाथ दुईवटा काम गर्छ : यसले सूर्यको प्रकाशलाई ९५ प्रतिशतभन्दा बढी परावर्तन गर्छ र भवनको आन्तरिक तापलाई सिधै अन्तरिक्षमा विकिरण गर्छ। परम्परागत कुलिङ पेन्टहरूले मुख्यतया परावर्तनमा मात्र जोड दिने भए तापनि यो प्रविधिको ताप उत्सर्जन गर्ने क्षमताले यसलाई विशिष्ट बनाएको छ।

विद्युत बिना नै काम गर्ने भएकाले यो कुलिङ पेन्टले एयर कण्डिसनिङको  खर्चलाई ४० प्रतिशतसम्म घटाउन सक्छ। यसले बढ्दो तापक्रमसँग जुध्नका लागि एउटा दिगो समाधान दिएको गरेको छ ।

यो उपलब्धिले जलवायु परिवर्तन जस्ता प्रमुख विश्वव्यापी चुनौतीहरूको समाधान अक्सर प्रकृतिलाई नजिकबाट अध्ययन गरेर फेला पार्न सकिन्छ भन्ने कुरालाई उजागर गरेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?