२५ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिएकी छन् ।
विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरूले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उनको तर्क थियो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताइन् ।
त्यस अवसरमा उनले बजेटको माग गर्दा जिम्मेवार भएर प्रस्तुत हुन पनि मातहतका निकायलाई सचेत गराइन् । मन्त्री गौतमले प्रमाणको आधारमा मात्रै कर्मचारीहरूले बजेटको माग गर्नुपर्नेतर्फ पनि सचेत गराइन् ।
उनले भनिन्, ‘विभिन्न सुझावहरू पनि आएका छन् । अन्य देशका अनुभवहरू पनि छन् । ती पनि सही छन् । कतिपय अवस्थामा विभिन्न टयाक्सहरू लगाऊ र यता देऊ भनेर हेल्थ फाइनान्सका समग्र कुराहरू आएका छन् । जुन हामीले पनि भनिराखेको हो । हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानको त उठेकै छ । त्यो पनि हामीले सबै पाउँदैनौ । अव सरकारलाई, अर्थ मन्त्रालयलाई घचघच्याउनुछ ।’
उनले अगाडि भनिन्, ‘हामीले देशको इकोनोमिक अवस्था पनि रियलाइज गरौं । हामी सबै जिम्मेवार नागरिक हौँ । हामी त अझ विद्वान पढेलेखेका मान्छे हौँ । जसले गाइड गर्नुपर्छ सरकारलाई । गलत भयो भने पनि भएन भन्नुपर्छ सरकारलाई । हामीले माग्ने मात्रै होइन । त्यो हामीले गर्नुपर्छ ।’
मन्त्री गौतमले मुलुकलाई आर्थिक चापमा रहेकाले त्यसको आधारमा अघि बढ्न पनि कर्मचारीलाई निर्देशन दिइन् ।
प्रतिक्रिया 4