+
+
Shares

सुत्केरी र गर्भवतीलाई चाहिने आइरनसमेत किन्न सकिएको छैन : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १७:१९

१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताएकी छन् ।

सोमबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरनसमेत सरकारले किन्न नसकेको बताएकी हुन् ।

खरिद प्रणालीमा हुने टेन्डर प्रक्रियामा भाग लिन नपाएका कम्पनीलेहरूले उजुरी दिने लगायतका कारण समस्या आएको मन्त्री गौतमको भनाइ छ ।

उनले प्रदेश सरकारहरुले आ–आफूले औषधि खरिद गर्दा पनि समस्या भएको बताइन् ।

खरिदका क्रममा प्रदेश र संघीय सरकारको मूल्य फरक-फरक पर्ने हुदाँ प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

उनकाअनुसार टेन्डर प्रक्रियामा प्रदेशले ६० रुपैयाँमा किनेको औषधि केन्द्रमा टेन्डर गर्दा ८२ रुपैयाँ पनि पर्न जान्छ । यस्तो जटिल समस्याको अन्त्य गर्न सरकारले स्वदेशी औषधि उत्पादकसँग प्रत्यक्ष संवाद गरेर आवश्यक औषधि खरिद गर्ने नयाँ मोडालिटीमा जान खोजेको उनले जानकारी दिइन् ।

उनले आवश्यक पर्ने औषधि र तीनीहरूको डाटा जम्मा गरेर देशभित्र औषधि उत्पादक ती औषधिको मूल्य र गुणस्तर माग गरी खरिद गर्ने तयारी गरेको जानकारी दिइन् ।

मन्त्री गौतमकाअनुसार स्वास्थ बीमाबाट वितरण हुने औषधिको कुल डाटा निकालेर कुन प्रकारका औषधि कति परिमाणमा चाहिन्छ भन्ने यकिन गरिनेछ । त्यसपछि औषधि उत्पादक संघ (एपोन) लगायतसँग समन्वय गरेर  प्रतिष्पर्धात्मक मूल्यमा औषधि खरिद गरिने योजना रहेको उनले बताइन् ।

सरकारले खरिदको ग्यारेन्टी लिएमा औषधि उत्पादकहरूले एमआरपीको आधा मूल्यमा औषधि दिनसक्ने बताएको उनको दाबी छ ।

विज्ञापन, मार्केटिङ र वितरण खर्च नलाग्ने भएकाले औषधि सस्तो पर्ने जाने व्यवसायीहरुले आफूलाई बताएको उनले जानकारी दिइन् ।

सरकारले आवश्यक औषधिको संख्या र प्रकार निर्धारण गरी प्रतिस्पर्धात्मक दरमा कम्पनी सूचीकृत गर्ने र तोकिएको मूल्यमा देशभरिबाट खरिद गर्न सकिने प्रणाली विकास गर्ने तयारी गरेको उनको भनाइ छ ।

मन्त्री गौतमले स्वास्थ्य बीमा सुधार गर्न खोजिएको पनि जानकारी दिइन् । उनकाअनुसार बीमामा कहिले औषधि नपाउने, कहिले लामो लाइन बस्नुपर्ने समस्या छन् ।

बीमा अनावश्यक रूपमा महँगो बन्दै गएकोले त्यसको लागत, वितरण प्रणाली र सेवामा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?