News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले नेपाली कांग्रेसको आन्तरिक विवादलाई दलभित्रको विषय भएकाले आयोगले प्रवेश नगर्ने तर नजिकबाट हेरिरहेको बताएको छ।
- नेपाली कांग्रेसको नियमित महाधिवेशन आगामी बैशाकमा गर्ने कार्यसम्पादन समितिको निर्णय छ भने विशेष महाधिवेशन २७ र २८ पुसमा आह्वान गरिएको छ।
- विशेष महाधिवेशन पक्षधरले आयोगलाई पत्राचार गरेका छन् तर आयोगले औपचारिक धारणा सार्वजनिक गरेको छैन र यसलाई आन्तरिक लोकतन्त्रको विषय भनेको छ।
२५ पुस, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताएको छ ।
शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएको हो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन । तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’
नेपाली कांग्रेसभित्र अहिले नियमित र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । केही दिनअघिको कार्यसम्पादन समिति बैठकको बहुमतले आगामी बैशाकमा गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
विशेष महाधिवेशन आह्वानकर्ताहरूले भने २७ र २८ पुसमा विशेष महाधिवेशन बैठक आह्वान राखेका छन् । यसमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपमहामन्त्री फरमुल्लाह मन्सुरलगायतको पनि समर्थन छ ।
विशेष र नियमित महाधिवेशनको विवाद निर्वाचन आयोगमा समेत प्रवेश गरिसकेको छ । केही दिनअघि विशेष पक्षधरले आयोगलाई पत्राचार गरेका थिए । तर, त्यसबारे आयोगले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
आयोगले यसलाई आन्तरिक लोकतन्त्रको विषय भएको बताएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने, ‘उहाँहरूको आन्तरिक लोकतन्त्रको विषय हो । अहिलेलाई यति भनौं ।’
प्रतिक्रिया 4