+
+
Shares
अविच्युरी :

प्रशान्त तामाङ : नेपाली भाषी एकताका ‘पोस्टर ब्वाई’

विश्वभर छरिएका नेपाली भाषीलाई संगीत र चलचित्रमार्फत राष्ट्रिय एकताको सूत्रमा जोड्ने कार्यमा तामाङको उल्लेख्य योगदान छ ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ पुष २७ गते २२:५७

२७ पुस, काठमाडौं । सलमान खान स्टारर ‘ब्याटल अफ गलवान’ को छायांकन सकेर प्रशान्त तामाङ डबिङ तयारीमा थिए ।

भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको यो फिल्म १७ अप्रिलमा रिलिज हुँदैछ, जहाँ प्रशान्तको पनि महत्त्वपूर्ण भूमिका छ । बलिउड डेब्यूको सपनाले मूर्त रूप लिन नपाउँदै उनै प्रशान्तले आइतबार अन्तिम सास लिए ।

केही साताअघि पंक्तिकारसँग प्रशान्त तामाङले बलिउड डेब्यू र वेब–सिरिज ‘पाताल लोक’ को सिजन-२ बारे कुराकानी गरेका थिए । ५ मंसिरमा रिलिज भएको ‘पहिचानको लडाइँ’ उनको अन्तिम नेपाली फिल्म बन्यो । बक्सअफिसमा गुमनाम भए पनि यो फिल्ममा प्रशान्तको अभिनयको प्रशंसा भने भयो ।

‘ड्यानियल स्पाइडर’ पात्रको भूमिकामा वेब-सिरिजमा प्रशान्त तामा

‘हिम्मत-२’ बाट नेपाली फिल्ममा पार्श्वगायकको रूपमा डेब्यू गरेका प्रशान्तले बहुचर्चित ‘गोर्खा पल्टन’ बाट नेपाली फिल्मको अभिनयमा यात्रा थालेका थिए ।

त्यसयता उनले अँगालो यो मायाको, किन मायामा, धड्कनभित्र, निशानी, परदेशी र परदेशी-२ मा पनि काम गरिसकेका छन् ।

सन् २००७ मा भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेयता तामाङ नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ बने । सोनी टिभीको उक्त शोमा प्रशान्तलाई जिताउन नेपालीले लाखौं खर्चिएर भोट गरे । नेपालीको भोटकै बलमा जितेका तामाङ लोकप्रिय पनि बने ।

‘ब्याटल अफ गलवान’ को मुम्बई सेटमा अन्य कलाकारसँग प्रशान्त ।

‘इन्डियन आइडल’ मा जितेपछिको उत्कर्षको समयमा नारायण रायमाझी र राजेश वंशलले उनलाई नेपाली फिल्म ‘गोर्खा पल्टन’ फिल्ममा हिरोको रूपमा डेब्यू गराए ।

यो फिल्ममा प्रशान्तले लाहुरेको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मको गीत ‘जाउँला रेलैमा सरर’ ले प्रशान्तलाई नेपाली चलचित्र र संगीत क्षेत्रमा पनि चर्चा दिलायो ।

नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ ।

विश्वभर छरिएका नेपाली भाषीलाई संगीत र चलचित्रमार्फत राष्ट्रिय एकताको सूत्रमा जोड्ने कार्यमा तामाङको अपूरणीय योगदान छ ।

विशेषगरी, पूर्वोत्तर भारतीय राज्यमा रहेका अल्पसंख्यक नेपाली भाषीलाई ‘इन्डियन आइडल’ जस्तो ग्लोबल टिभी कार्यक्रमबाट उनले भारतीय मूलधारमा जोड्न भूमिका खेले ।

उनी खुलेर ‘गोर्खाल्यान्ड’ को आन्दोलन र मुद्दाको पक्षमा त लागेनन् तर, उनले आफ्ना कर्मबाट सबैलाई नेपाली भाषीको राष्ट्रिय एकतामा बाँध्ने काम गरे । भारत मात्र होइन, नेपाल भित्र समेत उनको ख्यातीले भाषा र दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई घनिभूत बनाउन भूमिका खेल्यो ।

नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ । जतिबेला प्रशान्तले इन्डियन आइडलको मञ्चबाट उपाधि उचाले, त्यतिबेला उनले लगाएको ‘ढाका टोपी’ एउटा राष्ट्रिय विम्ब बन्यो । त्यसयता प्रशान्तले केही समय संगीत र फिल्ममा आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जा र समय खर्चिए ।

आफ्ना संगीतमा राष्ट्रियता र प्रेमको मिश्रण गरेर दर्शक तथा स्रोताको मन जितेका प्रशान्तले असारे महिनामा, वीर गोर्खाली र मन साइँलीजस्ता हिट गीत दिए । असारे महिनामा र मन साइँलीले मार्फत उनले प्रेम भाव पस्किए । ‘वीर गोर्खाली’ मार्फत उनले नेपाली गौरव र राष्ट्रियतालाई जगाउने प्रयास गरे ।

‘जाउँला रेलैमा सरर’ गीतमार्फत उनले लाहुरे र दार्जिलिङको रेल परम्परालाई चित्रण गरे । ‘गोर्खा पल्टन’ उनको करिअरको सबैभन्दा ठूलो हिट फिल्म बन्यो । व्यावसायिक र समीक्षात्मकरूपमा रुचाइएको यो फिल्ममार्फत निर्देशक तथा संगीतकार नारायण रायमाझीले नेपालको विशिष्ट लाहुरे परम्परालाई दर्शकसामु पस्किएका थिए ।

पहिलोपटक प्रशान्त नेपाल आउँदा उनका अनन्य मित्र राजेश घतानीले यस पंक्तिकारलाई बौद्धमा भेटाएका थिए । त्यसबेला, उनको स्टारडमको जुन क्रेज नेपालीमाझ देखिएको थियो, त्यो विरलै सेलिब्रेटीमा देख्न सकिन्छ ।

अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ ।

पछिल्लो समय प्रशान्त संगीतभन्दा अभिनयमा ज्यादा व्यस्त रहे । नेपालभन्दा भारतमै रहेर उनी बलिउडमा आफूलाई स्थापित गराउन लागिरहे । खेलमा समेत निकै रुचि राख्ने उनी इङ्लिस प्रिमियर लिगको एक क्लब म्यानचेस्टर युनाइटेडका ठूला फ्यान थिए । यो क्लबको खेल हेर्न उनले कतिपटक बेलायतको यात्रा गरिसकेका छन् ।

अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ गत जनवरीमा रिलिज भएको थियो । यो श्रृंखलामा तामाङलाई स्निपर ड्यानिलको भूमिकामा देख्न सकिन्छ । सिरिजमा उनी भिलेनको चरित्रमा देखिएका थिए । तामाङको सशक्त र रहस्यमय स्निपर डेनियलको चित्रणले कथामा महत्त्वपूर्ण तह थपेको छ जसले दर्शक र समीक्षकबाट प्रशंसा प्राप्त गरेको थियो ।

परिवारसहित प्रशान्त ।

पंक्तिकारसँगै केही समयअघि कुराकानी हुँदा प्रशान्तले आफ्नो बलिउड डेब्यूलाई सपनाको रूपमा अर्थ्याएका थिए । रोचक के छ भने, अर्का नेपाली अभिनेता अनुपविक्रम शाहीले पनि प्रशान्तसँगै उक्त फिल्ममा डेब्यू गरेका थिए । दुवै नेपाली कलाकारका लागि सलमान खानसँगको उक्त फिल्म सपनाजस्तै हो ।

विश्वभरका नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ प्रशान्तका लागि ‘ब्याटल अफ गलवान’ एक ट्रिब्युट चलचित्र हुनेछ । अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ ।

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?