News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले कैदीले अर्को कसुर गरेमा अधिकतम कैदमा चार वर्ष थपेर सजाय गर्नुपर्ने व्याख्या गरेको छ।
- सार्के तामाङले १५ वर्ष कैद भुक्तानपछि २० वर्षको जन्मकैद सजाय पाएपछि थप चार वर्ष कैद गणना गरिएको थियो।
- सर्वोच्च अदालतले चार वर्ष थप कैद तोकेपछि कैदीलाई थुनामा राख्नु गैरकानुनी भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको छ।
२७ पुस, काठमाडौं । सर्वोच्च अदालतले करागारमै रहेको कैदीले कुनै अर्को कसुर गरेमा अधिकतम कैदमा चार वर्ष थपेर सजाय गर्नुपर्ने व्याख्या गरेको छ ।
लागुऔषध मुद्दामा दोषी ठहर भएका कैदीले कारागारमै कुटपिट गरी अर्का कैदीको हत्या गरेका थिए ।
त्यसपछि सुरु भएको कैद निर्धारण र गणनाको विवादमा सर्वोच्च अदालतले पुरानो कैद भुक्तानपछि अधिकतम थप चार वर्ष कैदी हुने भनी व्याख्या गरेको हो ।
आफूलाई अनावश्यक रूपमा २९ वर्षदेखि थुनामा राखिएको दाबी गर्ने ती कैदी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन् ।
लागुऔषध प्रयोग गरेको आरोपमा सार्के तामाङ ३ भदौ २०५१ मा पक्राउ परी सुनसरीको झुम्का कारागार चलान भएका थिए । उनीमाथि १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिबाना भयो ।
उनले कैद भुक्तान गरिरहेका बेलामा भदौ २०६६ मा कारागारमा कुटपिटको घटना भयो । उनको आक्रमणका कारण अर्का एक कैदीको मृत्यु भयो । त्यतिबेला उनले कैद भुक्तान गर्न केही दिन मात्रै बाँकी थियो ।
कैदी मारेको अभियोगमा उनीमाथि जन्मकैद अर्थात् २० वर्ष कैदको सजाय फैसला भयो । जिल्ला अदालत, सुनसरीले २०६६ सालदेखि नै गणना गरेर फेरि कैद कार्यान्वयन थाल्यो ।
भदौ २०५१ देखि भदौ, २०८० सम्म २९ वर्ष कारागारमा बिताएका सार्केले आफूलाई अनाहकमा बढी समय थुनिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिए ।
उनी कारागारमा रहेका बेला २०२० सालमा जारी भएको मुलुकी ऐन कार्यालयमा थियो । तर अहिले भने त्यसलाई विस्थापित गरी जारी भएका पाँच वटा संहिता कानुन प्रचलनमा छन् ।
उनको दाबीमा, त्यतिबेलाको ऐन र अहिलेको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार, २० वर्ष मात्र हुने एकभन्दा बढी मुद्दामा कैद तोक्दा ठूलो सजायमा सानो सजाय खापिने हुन्थ्यो । र, कूल कैद अवधि २० वर्षभन्दा नाघ्न मिल्दैनथ्यो ।
आफूले १५ वर्ष कैद सजाय पाएपछि पछि २० वर्षको जन्मकैद तोकिएकाले थप ५ वर्ष जोडेर २० वर्ष कैद कायम हुनुपर्नेमा २०६६ सालदेखि फेरि २० वर्ष कैद गणना गर्नु अन्याय हुने उनको जिकिर थियो ।
उक्त मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरु डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलले कैद कार्यान्वयनको पुरानो कानुन र अहिलेको ऐनमा भएको व्यवस्थाको व्याख्या गरेका छन् ।
त्यतिबेलाको मुलुकी ऐनअनुसार, कुनै कसुरमा कैद भोगिरहेको मानिसले थप कसुर गरेमा पुरानो कैद सकिएपछि थप चार वर्ष कैद सजाय गर्नुपर्ने व्यवस्था रहेछ ।
नयाँ फौजदारी (कसुर तथा सजाय निर्धारण ऐन, २०७४ मा भने कैदीले नै कसुर गरेमा पहिलेको कैदको अवधि भुक्तान भएपछि अधिकतम कैदको सजाय कार्यान्वयन गर्नुपर्ने रहेछ । त्यसमा सजाय भोगिरहेको र सजाय पाएको कैदीको हकमा फरकफरक व्यवस्था छ ।
सार्के तामाङ भदौ २०५१ मा पक्राउ परेर कारागारमा थुनामा रहेकै बेला भदौ २०६६ मा ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएका व्यक्ति हुन् ।
सर्वोच्च अदालतले चार वर्ष थप कैद हुनसक्ने मुलुकी ऐनको पुरानो व्यवस्था आकर्षित हुने भनी पहिलो कैद भुक्तान भएपछिको चार वर्ष अवधि गणना गरेको हो ।
थप चार वर्ष कैद सजाय तोकेपछि भने उनलाई कैद गर्नु गैरकानुनी हुने भन्दै सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । फागुन, २०८१ मा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।
प्रतिक्रिया 4