इन्डोनेशियाले एलन मस्कको कम्पनी एक्स एआईको च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएको छ।
एआईमार्फत बनाइएका यौन सामग्री र डीपफेक तस्वीरहरूका कारण इण्डोनेसिया सरकारले यस्तो कदम चालेको बताएको छ । योसँगै इण्डोनेसिया ग्रोकमाथि प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको छ ।
इन्डोनेशियाका सञ्चार तथा डिजिटल मन्त्री मेउत्या हाफिदका अनुसार बिनाअनुमतिका बनाइएका यौन डीपफेकहरूबाट मानवअधिकार, मानिसको प्रतिष्ठा र डिजिटल क्षेत्रको सुरक्षा उल्लंघनका कारणले गर्दा ग्रोकमाथि प्रतिबन्ध लगाइएको हो ।
साथै इण्डोनेसिया सरकारले यस विषयमा बयानका लागि एक्सका अधिकारीहरुलाई बोलाएको छ ।
स्मरण रहोस्, इन्डोनेशिया विश्वको सबैभन्दा ठूलो मुस्लिम आवादी भएको देश हो, जहाँ इन्टरनेटमा अश्लील सामग्री फैलाउने विषयमा कडा कानूनहरू छन् ।
उता एक्सको एआई च्याटबोट ग्रोकका विषयमा युरोपदेखि एशियासम्म धेरै देशले चिन्ता व्यक्त गरिसकेका छन्। केही देशका नियामकहरूले एपमा रहेका यौनिक र संवेदनशील सामग्रीको अनुसन्धान पनि सुरु गरिसकेका छन् ।
यसैबीच एक्स एआईले आफ्नो ग्रोक एआईमा रहेका सुरक्षा कमजोरीका कारण केही जवाफहरुमा बालबालिकासँग सम्बन्धित यौन र आपत्तिजनक सामग्री देखा परेको स्वीकार गरेको छ। त्योसँगै कम्पनीले इमेज जेनरेशन र एडिटिंग फिचरलाई केवल सशुल्क प्रयोगकर्तामा सीमित गरेको छ। साथै कम्पनीले बालबालिकासँग सम्बन्धित आपत्तिजनक तस्वीरजस्ता जवाफ देखापर्ने कमजोरीहरु समेत सुधार्ने प्रयास गरिरहेको जनाएको छ ।
त्यस्तै एलन मस्कले एक्समा एक पोष्ट गर्दै ग्रोकलाई अवैध सामाग्री बनाउन प्रयोग गर्नेलाई अवैध सामग्री अपलोड गर्नेलाई जस्तै सजायँ हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4