+
+
Shares

केयूमा स्नातकोत्तर तहमा फिल्मको पढाइ हुँदै, बोर्डले छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १६:३९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा फिल्म विषयमा अध्ययन सुरु गर्ने घोषणा गरेको छ।
  • फिल्म अध्ययन कार्यक्रम स्कुल अफ आर्टसअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्नेछ।
  • चलचित्र विकास बोर्डले अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ।

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा स्नातकोत्तर तहमा फिल्म विषयमा अध्ययन हुने भएको छ । नेपाली चलचित्र क्षेत्रलाई औपचारिक शिक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको जनाइएको छ ।

वरिष्ठ फिल्म निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा यसको औपचारिक घोषणा गरियो । जसअनुसार, स्नातकोत्तर तहमा चलचित्र अध्ययनलाई संस्थागत रूपमा अघि बढाउने र यस पहलअन्तर्गत चलचित्र विकास बोर्डले अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

केयूको स्कुल अफ आर्टसअन्तर्गत भाषा तथा आमसञ्चार विभागद्वारा सञ्चालन हुने दुई वर्षे (६६ क्रेडिट) कार्यक्रम यही फेब्रुअरी देखि सुरु हुने जानकारी विभागका प्रमुख निर्मलमणि अधिकारीले दिएका छन् ।

यो कार्यक्रमले चलचित्रलाई मनोरञ्जनको माध्यमका रूपमा नभई गहिरो शैक्षिक, सैद्धान्तिक तथा अनुसन्धानमुखी विषयका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उनले बताए ।

विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने फिल्मको अध्ययन कार्यक्रममा चलचित्रको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक अध्ययन, फिल्म निर्माण, पटकथा लेखन, छायांकन, ध्वनि डिजाइन, सम्पादन, अभिनय, फिल्म समीक्षा, अनुसन्धान तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित चलचित्रसम्बन्धी आधुनिक विषय समेटिएका छन् ।

यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा बोर्ड र विश्वविद्यालयले गरेका छन् । कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्रलाई मनोरञ्जनको माध्यमका रूपमा सीमित नराखी शैक्षिक तथा अनुसन्धानमुखी विषयका रूपमा विकास गर्न केयूसँग सहकार्य गरिएको बताए ।

फिल्मका विद्यार्थीलाई प्रोत्साहन गर्न बोर्डको तर्फबाट छात्रवृत्तिको व्यवस्था गरिने जानकारी डीसीले दिए । बोर्डले त्रिभुवन विश्वविद्याल र अन्यसँग पनि सहकार्य गर्दै चलचित्र अध्ययनलाई औपचारिक शैक्षिक धारमा ल्याउने प्रयासलाई निरन्तरता दिँदै आएको छ ।

बोर्डका अनुसार यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, अनुसन्धान प्रवद्र्धन तथा नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आधार तयार गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?