+
+
Shares

कांग्रेसलाई इतिहासको हतियार होइन, भविष्यको आधार बनाउने संकल्प

यस्तो लाग्छ- हाम्रा शीर्ष भनिएका नेताहरू पनि शक्तिमा बसिरहने (कु)लतले ग्रसित छन् । राजनीतिमा शक्तिको आकर्षण यति बलियो हुने रहेछ कि मानिसले आफ्नै शारीरिक सीमाहरू बिर्सनसक्दो रहेछ ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८२ पुष २८ गते २२:१४
Listen News
0:00
0:30
🔊

२८ पुस, काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको नेपाली कांग्रेसको संस्थापन र कतिपय राजनीतिक पण्डितहरूलाई चक्मा दिंदै अन्ततः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अघि बढे । उनीहरुको अगुवाइमा पुस २७ र २८ गते पार्टीको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा आयोजना भयो । पार्टी सत्ताशक्तिका तगारो छिचोल्दै विशेष महाधिवेशन पक्षमा बहुमत प्रतिनिधिहरू सहभागी भइरहेका छन् ।

उद्घाटनसत्रमा महामन्त्रीद्वयले राजनीतिक संस्कारसँगै राष्ट्रिय समस्या पहिचान र समाधानका सूत्रसहितका मन्तव्यले नागरिक पंक्तिमा ऊर्जा सञ्चार समेत गरे ।

महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको छ । यसको निकास कसरी निस्कन्छ ? भन्न सक्ने अवस्था छैन । तर महामन्त्रीद्वयले जुन आँट र हिम्मतका साथ बदलिएको देशको नेतृत्व गर्न सक्ने बदलिएको कांग्रेस बनाउने उद्घोष गरे, यसले नागरिकसँगै अरू पार्टी पंक्ति हुँदै राज्यका अरू निकायहरूमा पनि तरंग पैदा गरेको छ ।

संसदका दुई ठूला दलले सरकार बनाउन गठबन्धन बनाउँदा त्यसको साक्षी मात्र होइन, सहयात्री पनि बनेका थापाले अन्ततः कोर्ष करेक्सन गरेका छन् । भलै, महामन्त्रीद्वयका लागि यो चुनाव ‘गुमाएको अवसर’ बन्नसक्ने प्रवल सम्भावना छँदै छ ।

आन्तरिक लोकतन्त्रको अँध्यारोविरुद्ध विद्रोह

जेनजी आन्दोलनपछि पनि राजनीति जसरी सत्ताको लुछाचुँडीमा अल्मलिनेतर्फ उन्मुख थियो । पुराना दलका शीर्ष नेताहरू उही पुरानै शैलीमा सत्ता समीकरण र भागबन्डाका खेलहरूमा मैमत्त देखिन्थे ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेपाली कम्युनिष्ट पार्टीको अगेनो बनाएर एक दर्जन बढी समूहहरूको झिक्रा जम्मा पारे पनि आगो बाल्ने सम्भावना छैन ।

माओवादी बदलिइरहने तर प्रचण्डको नेतृत्व चाहिं चार दशकदेखि अपरिवर्तनीय रहने एकप्रकारको राजतन्त्रात्मक अभ्यास जेनजी आन्दोलनपछि पनि उही छ । भलै चलाखीपूर्वक होर्डिङ बोर्ड र झन्डा भने बदलिएको छ ।

नेकपा एमालेले कस्तो महाधिवेशन गर्दैछ ? यसको जवाफ विधान महाधिवेशनताका प्रश्न सोध्ने कर्ण थापालाई हलमै ओलीले गरेको व्यवहार हुँदै एक व्यक्तिको अनुहार हेरेर विधानको व्यवस्था बदल्ने कदमले छनक दिइसकेको थियो । महाधिवेशनमा गरिएको प्रश्नहरूको निषेध, वैचारिक बहसमाथि प्रतिबन्धसँगै विधान महाधिवेशनका आला निर्णयहरू गुटको अनुकूलतामा परिमार्जनले जेनजी आन्दोलनको भावनामाथि न्याय त गर्न सकेन नै, बदलिएको देशलाई नेतृत्व गर्ने परिमार्जित एमाले बन्न सकेन ।

शक्तिशाली संस्थापनले आफ्नो प्यानलको नामावली भएको चिर्कटो बाँड्दा पनि केही महाधिवेशन प्रतिनिधिले विवेकको प्रयोग गरे । तर, नतिजाले महाधिवेशनको प्रक्रिया पूरा गरे पनि आन्तरिक लोकतन्त्रमा प्राण भर्न सकेन ।

यस्तोमा नेपाली राजनीतिलाई नीति, विधि र थितिमा फर्काउने एउटा सशक्त प्रयास गर्ने परिपक्व राजनीतिक प्रयासको कतैबाट होला भन्ने नागरिकको अपेक्षा नै ओइलाएको अवस्था छ ।

राजनीतिमा एउटा असल राजनीतिक शक्ति र अभ्यासले अन्य पक्षलाई पनि बदलिन दबाब सिर्जना हुन्छ । तर, नेपाली राजनीतिमा त गलत अभ्यास गर्ने स्पर्धा नै चलिरहेको छ । त्यो पनि जेनजी आन्दोलनपछि पनि ।

जेनजी आन्दोलनमा प्रदर्शनकारीको सांघातिक आक्रमणपछि राजीनामा दिएर सिंगापुर उडेका कांग्रेस सभापति देउवा काठमाडौं फर्किए । बदलिएको समाज अनुरूप बदलिन नसकेको एमालेसँग उनी चुनावी समीकरणको संवादमा रहेको खबर आइरहेका छन् । नयाँ पुस्ताविरुद्ध राष्ट्रिय मेलमिलाप गर्दैछन् । उनी पार्टीभित्र विशेष महाधिवेशन पक्षधर बहुमत महाधिवेशन प्रतिनिधिहरूको आवाजलाई दुत्कारिरहेका छन् ।

कांग्रेस प्रशिक्षित बौद्धिक जमात र नेतृत्व नै कांग्रेसको ओलीकरण (संक्रमण) अथवा ओलीको स्क्रिप्टमा अभिनय गरिरहेको कांग्रेस भनेर सार्वजनिक टिप्पणी गरिरहेका सुनिन्छन् ।

भदौ २३ गते १९ जना स्कुले बालबालिका हत्याको जिम्मा कसले लिने ? जेनजी विद्रोहको ४ हप्ता बितिसक्दा पनि यो अनुत्तरित प्रश्न नै छ ।

घटनाको नैतिक जिम्मेवारी लिन पनि कोही तयार छैन । समाज पछाडि फर्कने दौडमा छ । सच्चिने, रूपान्तरण हुने, जिम्मा लिने विषय एकादेशको कथा बनिरहेको छ ।

नबदलिने दुस्साहसको निर्लज्ज दृश्य २०४८ सालदेखि चुनाव उठ्न थालेका ८३ वर्षीय महन्थ ठाकुर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न निर्वाचन कार्यालय पुगेको दृश्य हो । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी ३ मा चुनाव लड्दा उनले जनतासँग वाचा गरेका थिए, ‘यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्ने छैन ।’

यो सबै बिर्सएर, आफ्नै प्रतिबद्धताको घाँटी अँठ्याएर, आफ्नै वृद्ध शरीरमाथि अत्याचार गर्न उनी किन तयार भए ? जबकि कांग्रेस-एमाले-लोसपा गठबन्धनबाट उम्मेदवार बनेका उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने पक्का छ र उनी ९० वर्षसम्म सांसद बनिरहने छन् ।

यस्तो लाग्छ- हाम्रा शीर्ष भनिएका नेताहरू पनि शक्तिमा बसिरहने (कु)लतले ग्रसित छन् । राजनीतिमा शक्तिको आकर्षण यति बलियो हुने रहेछ कि मानिसले आफ्नै शारीरिक सीमाहरू बिर्सनसक्दो रहेछ ।

एमाले अध्यक्ष ओली जेनजी विद्रोहलाई प्रतिगमन भनिरहेकै छन् । २४ भदौमा सेना परिचालन गर्न चाहेको बताइरहेका छन् ।

कम्युनिस्टहरू लेनिनको एउटा चर्चित भनाइ उल्लेख गरिरहन्छन् । उनले भनेका थिए- बुर्जुवा (पूँजीपति) हरू आफ्नो स्वार्थमा धक्का लाग्यो भने ज्यामितीय तथ्यहरुको पनि खण्डन गर्छन् । उनले विचारधारा र स्वार्थले कसरी मानिसको वस्तुगत सत्य स्वीकार्ने क्षमतालाई प्रभाव पार्छ भन्ने बारे टिप्पणी गरेका थिए । ओलीले त्यही गरिरहेका छन् । त्यो पनि एकप्रकारको सामन्तवादी हठ र अहंले मैमत्त बनेर ।

हाम्रो जस्तो ‘पेट्रोन-क्लाइन्ट’ राजनीति भएको देशमा नेता पदबाट हट्नु भनेको उसको आसेपासेहरूको स्वार्थ पनि अन्त्य हुनु हो। त्यसैले, कार्यकर्ताहरूले पनि नेतालाई ‘रिटायर’ हुन दिइरहेका छैनन् । यसले नेपाली राजनीतिमा सम्मानजनक बहिर्गमनको खडेरी नै देखाइरहेको छ ।

यसले युवा पुस्ताको बाटो त छेकेको छ नै, स्वयं नेताको दशकौंको गरिमामा पनि ग्रहण लागिरहेको छ ।

कर तिर्न घुस खुवाउनुपर्छ । सडकको कालोपत्र महिना दिन नपुग्दै उप्कन्छ । जताततै गडबडी छ । नयाँ पुस्ताले इतिहासकै शक्तिशाली विद्रोह गरे । तर हामी उस्ताको उस्तै ।

हामी असामान्य काम सामान्य तरिकाले गरिरहेका छौं । एकप्रकारको अपराध गरिरहेका छौं तर सामान्य तरिकाले । यस्तो किन हुन्छ ?

‘बेनालिटी अफ इभिल’

दलीयकरणको महामारीले ग्रस्त देशमा नागरिकभन्दा बढी कार्यकर्ता । पार्टी सदस्यको तमसुकमा हस्ताक्षर गरेपछि प्रश्न गर्नै छाडिदिने ।

घटना होस् वा व्यक्ति, एकको अर्कोसँग तुलना गर्नु सिद्धान्ततः उचित होइन । तर, तिनका मर्म र सन्देशबाट भने धेरै कुरा बुझ्न सकिन्छ ।

कम्युनिस्ट इतिहास पढेका धेरैलाई थाहा छ- कम्बोडियाको ‘किलिङ फिल्ड्स’ र कमरेड डचको प्रसंग ।

कम्बोडियाको खमेर रुज शासनकालका अधिकारी काङ गुएक इयाभ अर्थात ‘कमरेड डच’ ले हजारौं मानिसको हत्या गरिएको कुख्यात एस-२१ यातना शिविर चलाउँथे ।

कुनै बेला गणित शिक्षक रहेका उनी सामान्य मानिस थिए । पछि अदालतमा उनले भन्थे- मैले त माथिको आदेश पालना मात्रै गरेको थिएँ किनकि म एक दक्ष र इमान्दार कर्मचारी थिएँ ।

स्टालिनकालीन सोभियत संघमा लाखौं मानिसलाई ‘राज्यको शत्रु’ भन्दै मारियो वा श्रम शिविरमा पठाइयो । प्रहरी अधिकारी र कमर्चारीहरूको मारिने मानिसहरूप्रति कुनै घृणा थिएन तर उनीहरू आफूले पाएको ‘कोटा’ पूरा गर्न काम गर्थे । हजारौं मानिसहरूलाई मार्न पठाउने काम पनि यसरी सामान्य प्रशासनिक काम बन्न थाल्यो ।

उता, १०० दिनमा करिब ८ लाख तुत्सी समुदायका मानिसहरूको हत्या कसले गरे होला ? कुनै तालिम प्राप्त सेनाले ? होइन, सर्वसाधारण छिमेकी, शिक्षक र किसानहरूले आफ्नै छिमेकीको हत्या गरेका थिए ।

उनीहरूलाई यो काम गर्नु नागरिक कर्तव्य भनेर बुझाइएको थियो र उनीहरूले हत्यालाई एउटा सामूहिक ‘सामाजिक कार्य’ वा सफाई अभियान भनेर बुझेका थिए ।

स्ट्यानफोर्ड प्रिजन एक्सपेरिमेन्टको निष्कर्ष थियो- सामान्य विद्यार्थीहरूलाई ‘गार्ड’ को भूमिका दिँदा उनीहरू आफ्ना साथीहरू (कैदीको भूमिकामा रहेका) माथि क्रूर व्यवहार गर्न थाले ।

जहाँ मानिसहरू सोच्न छोड्छन्, अनुशासित होइन, आदेशपालक (अनुयायी) बन्छन्, उनीहरू सामान्य मानिस भए पनि असामान्य अपराधको हिस्सेदार बनिरहेका हुन्छन् ।

यो समस्यालाई अझ राम्ररी बुझ्न बीसौं शताब्दीकी एक प्रभावशाली राजनीतिक सिद्धान्तकार रहेकी जर्मन-अमेरिकन इतिहासकार एवं दार्शनिक हन्ना आरेन्टको एक पुस्तकको प्रसंगसँग तुलना गर्नुपर्ने हुन्छ ।

सन् १९६३ मा प्रकाशित आरेन्टको पुस्तक ‘आइक्यान इन जेरुसेलम: अ रिपोर्ट अन द बनालिटी अफ इभिल’ मा चर्चा गरिएको एउटा प्रसंग हो- ‘बेनालिटी अफ इभिल’ अर्थात् दुष्टताको सामान्यीकरण ।

नाजी समूहको एक प्रतिनिधि एडल्ट्स आइकम्यान जसले लाखौं मानिसको हत्या योजना बनायो, उसको मानसिकता र नियतको लेखिकाले अध्ययन गरेकी थिइन् ।

व्यक्तिले कसरी सोच्छ र काम गर्छ ? ऊ कसरी निर्मित अस्तित्व हो ? यो अवधारणालाई बुझाउन लेखिकाले दुष्टताको सामान्यीकरण अवधारणा अगाडि सारेकी हुन् ।

जेरुसेलमको अदालतमा उभिँदा आइकमानको अनौठा तर्क थिए- मैले आफ्नो हातले कसैलाई मारेको छैन। उनको दाबी थियो – मैले केवल आदेश पालना गरेको थिएँ । एक कुशल र इमान्दार कर्मचारीको रूपमा आफ्नो काम गरेको थिएँ ।

तर आइकम्यान आफैंले मानव इतिहासको सबैभन्दा ठूलो अपराध मध्ये एक काम गरेँ भनेर स्वीकारेका थिए । उनी आफूले गरेको कामलाई अपराध त मान्थे तर त्यसको दोष लिन तयार थिएनन् ।

‘मैले गरेको काम अपराध थियो तर म दोषी थिइनँ ।’ यो अनौठो विरोधाभास थियो ।

समस्या केमा थियो त ? समस्या थियो उसको डरलाग्यो सामान्यपनमा । उसको विचार शून्यतामा ।

जनवरी १९४२ मा वान्सी कन्फरेन्सले आइकम्यानको विवेकको सबैभन्दा ठूलो परीक्षा लियो । सरकारी निकायहरू बीच समन्वय गर्न बनेको त्यो सम्मेलनमा आइकम्यान सचिवको भूमिकामा थिए । उनी त्यहाँ बैठकको विवरण तयार पार्ने र व्यवस्थापनको जिम्मेवारीमा थिए । उनले त्यहाँ जर्मनीका ठूला-ठूला सम्मानित र शिक्षित सरकारी अधिकारीहरू देख्न पाए ।

विभिन्न मन्त्रालयका उपसचिवहरु, विद्यावारिधी गरेका कानुनका विशेषज्ञहरू, समाजका प्रतिष्ठित मानिसहरू आदि आदि । उनले सबै भद्र मानिसहरूले सामूहिक हत्याको योजनालाई कुनै हिच्किचाहट होइन, बरू ठूलो उत्साह साथ स्वागत गरिरहेका देखे । उनीहरू त कसरी कुशलतापूर्वक यो काम गर्न सकिन्छ भनेर छलफल गरिरहेका थिए ।

उनलाई लाग्यो- जब समाजका यति प्रतिष्ठित र ठूला मानिसहरुले यसलाई सही मानिरहेका छन्, जब सबैजना यही गर्न सहमत छन्, तब म को हुँ र यसमाथि प्रश्न उठाउने ?

उनको लागि हिटलरको इच्छा नै देशको कानुन थियो । त्यसैले उनको विवेकले उनलाई आदेश नमान्न होइन बरू पूर्ण निष्ठाका साथ आदेश मान्न भनिरहेको थियो। उनी केवल कानुन पालना गरिरहेका थिएनन्।

आइकम्यानको कथाले त्यतिबेला युरोपेली समाज नै कसरी नैतिक शून्यतामा थियो भनेर बताउँछ ।

जब मानिसहरूले ‘सोच्न’ छोडिदिन्छन् र सही-गलतको विवेक प्रयोग नगरी केवल ‘नियम’ वा ‘आदेश’ पालना गर्छन्, तब समाजमा अपराध र दुष्टताहरू जन्मन्छन्। यसैलाई लेखिकाले ‘दुष्टताको सामान्यीकरण’ अर्थात् बेनालिटी अफ इभिल भनेकी छिन्।

उनका अनुसार, राजनीतिमा र जीवनमा ‘सोच्नु’ वा चिन्तन गर्नु एक राजनीतिक कार्य हो। यदि हामीले हाम्रा कार्यहरूको नतिजाबारे सोच्न छोड्यौं भने हामी सजिलै अधिनायकवादको शिकार बन्न सक्छौं । भलै हामी नारा चर्को स्वरमा लोकतन्त्रको लगाइरहेका हुनसक्छौं ।

यही नै हो नेपाली समाजले व्यहोरिरहेको पीडादायी र असहज सत्य । सम्पूर्ण अँध्यारो कथाको सबैभन्दा अँध्यारो अध्याय जस्तो । दृश्यहरुले हाम्रो समयको पूर्ण नैतिक पतनलाई संकेत गरिरहेको छ ।

जब हामी कुनै विचारधारा वा संगठन प्रति आफ्नो व्यक्तिगत विवेक र सोच्ने क्षमता समर्पण गर्छौं तब हामी पनि आइकमान जस्तै विचारशून्य बन्ने खतरामा हुन्छौं ।

पार्टीको विधान, अनुशासन विभागको निर्णय, सिंगो पार्टीको भावना र समाजको मुडभन्दा पनि पार्टी अध्यक्षको निर्देशन कसरी बलशाली हुन्छ ? हामीले देखि/सुनिरहेकै छौं ।

यसमा सोच्नु साँच्चै आवश्यक छ। कम्तिमा जेनजी आन्दोलनको कहालीलाग्दो जनधनको क्षति र मनोविज्ञानमा पुगेको ठेसको मूल्यमा ।

चिन्तैचिन्तामा चिन्तन, पार्टीविरुद्ध प्रश्न

नागरिकमा आर्थिक चिन्ता छन् । साना तथा मझौला व्यवसायमा निराशा छ । किसानका अकथनीय पीडादायी व्यथा छन् । ज्यालाले नभ्याउने महँगी छ ।

राजनीतिक असफलता उस्तै छन् । ३४ वर्षमा ३० सरकार बने । चरम अस्थिरताका लज्जास्पक तथ्यांक शीर्ष नेताका लागि गर्व उकास्ने तथ्याङ्क बनिदिन्छन् । कतिपटक प्रधानमन्त्री बनेँ भनेर राजनीतिक जीवनको सफलता नाप्ने नयाँ मानक बनेका छन् । यसले नीतिगत अस्थिरता कति हो कति । उत्पादक क्षेत्रभन्दा ‘शोकेस’ आयोजनामा रेमिटेन्सको लगानी भइरहेको छ ।

सुशासनमा ग्रहण लागिरहेको छ । भ्रष्टाचार खानामा अचार खाएजस्तै सामान्य भइरहेको छ । कर्मचारीतन्त्र झन्झटिलो छ । विश्वविद्यालयदेखि दूतावाससम्म हरेक संस्थाको चरम राजनीतीकरण छ । संघीयता छ तर कार्यान्वयन छैन । संघको अस्थिरताले प्रदेशलाई पखाला चलेको चल्यै हुन्छ । सामाजिक र सार्वजनिक सेवाको कथा त्यस्तै भद्रगोल छ ।

यी सबैले राजनीतिमा ‘पात्र र प्रवृत्ति’ दुवै फेर्नुपर्ने अपरिहार्यतालाई चर्को स्वरले भनिरहेको छ ।

तर, प्रमुख दलका नेताहरू सुनेको नुसन्यै गर्छन् ।

महन्थ ९० लाग्ने बेला हुँदासम्म सांसद बन्ने धोको पूरा गर्दैछन् । देउवा-ओली चुनावअघिको गठबन्धनको तयारीमा छन् । प्रचण्ड आगो नबल्ने झिंजा थुपारिरहेछन् । उनको आगो बल्दैन । धुँवाले आँखा नागरिकको पोल्ने !

यस्तोमा कांग्रेस महामन्त्रीद्वयले प्रश्न गरेका छन् । प्रश्न मात्रै गरेका छैनन्, समाधानका सूत्रहरू प्रस्तुत गरेका छन् । नेतृत्वमाथि प्रश्न मात्रै होइन, तिम्रो औचित्य सकियो । तिमीले छाड भनिरहेका छन् ।

गगनले भने, ‘शेरबहादुर दाइ, तपाईंलाई तपाईंकै भन्नेहरूले डुबाइरहेका छन् । हामीले त तपाईंले इतिहासमा दिनुभएको योगदानका लागि सम्मानित जीवनका लागि वकालत गरिरहेका छौं । तपाईंले छोड्नुहोस् ।’

देउवा समूहले राष्ट्रिय सभा हुँदै प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने प्रस्तावमा काम गरिरहेको बेला महामन्त्रीद्वयले निर्वाचन पूर्व र पश्चातका अप्राकृतिक ‘गठबन्धन’ले सत्ता र प्रतिपक्ष बीचको भिन्नता मेटाएको उल्लेख गर्दै यसले प्रशश्रय दिएको ‘कारोबारी राजनीति’लाई रोक्न चुनावअघिको गठबन्धन खारेज गर्ने घोषणा गरेका छन् ।

महामन्त्रीद्वयले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रस्तावनाले नेपाली राजनीतिको संरचनात्मक सुधारका केही महत्वपूर्ण प्रस्ताव गरेका छन् । यी प्रतिवेदनहरूले नेपाली राजनीतिमा व्याप्त जडताविरुद्ध महत्वपूर्ण क्रमभंगको आह्वान गरेको छ ।

यसको सफल कार्यान्वयन गर्न सक्दा नेपाली राजनीतिको परम्परागत व्याकरण बदल्ने आशा गर्न सकिन्छ । महामन्त्रीद्वयको यो पहलकदमीले नेपाली कांग्रेसलाई ‘इतिहासको हतियार’ मात्र होइन, ‘भविष्यको आधार’ बनाउने संकल्प अगाडि सारेको छ ।

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?