News Summary
Generated by OK AI. Editorially reviewed.- प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबीच नेपालमा पठन संस्कार प्रवर्द्धन र गुणस्तरीय शिक्षाको विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
- समझदारीअनुसार प्याब्सन सदस्य विद्यालयहरूलाई ‘रिड उइथ अक्सफोर्ड’ कार्यक्रमका ७० पुस्तक सहुलियतपूर्ण दरमा उपलब्ध गराइनेछ।
- ओयूपीले शिक्षक तालिम, अन्तर्राष्ट्रिय प्रशिक्षक र स्रोत केन्द्र स्थापना गरी दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
२९ पुस, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी) इन्डियाबीच नेपालमा पठन संस्कार प्रवर्द्धन र गुणस्तरीय शिक्षाको विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा ३५ वर्षदेखि नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै आएको प्याब्सन र विश्वप्रसिद्ध शैक्षिक प्रकाशक ओयूपी इन्डियाबीच दीर्घकालीन सहकार्यको औपचारिक सुरुवात भएको हो ।
समझदारीसँगै नेपालभरका विद्यालयहरूमा विश्वस्तरीय पठन सामग्रीको पहुँच विस्तार, विद्यार्थीमा पठन संस्कार विकास, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि तथा विद्यालय नेतृत्व सुदृढीकरण गर्ने लक्ष्य लिइएको छ ।
प्याब्सनले देशभरका पाँच हजारभन्दा बढी निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ र उद्देश्यपूर्ण, गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रवर्धनमा सक्रिय रहँदै आएको छ ।
विद्यार्थीको समालोचनात्मक सोच, सिर्जनशीलता, सिकाइ क्षमता तथा आजीवन शिक्षाको आधारका रूपमा पठन संस्कार अत्यावश्यक रहेको भन्दै प्याब्सनले यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
विश्वव्यापी रूपमा पठन बानी कमजोर बन्दै गएको सन्दर्भमा सही पुस्तकको उपलब्धता, सहयोगी सिकाइ वातावरण र योजनाबद्ध पठन कार्यक्रममार्फत विद्यार्थीलाई सशक्त बनाउनु आजको आवश्यकता भएको प्याब्सनको निष्कर्ष छ ।
साथै, परीक्षा केन्द्रित शिक्षाभन्दा पर गई सिकाइको वास्तविक उद्देश्य, आधुनिक शिक्षण दर्शन र विश्वव्यापी शैक्षिक प्रवृत्तिबारे शिक्षक तथा विद्यालय नेतृत्वलाई निरन्तर तालिममार्फत सशक्त बनाउने प्रतिबद्धता पनि प्याब्सनले लिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको विश्वप्रसिद्ध शैक्षिक प्रकाशक अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले पनि पठन संस्कारलाई शिक्षाको केन्द्रमा राख्दै आएको छ ।
नेपालमा प्याब्सनले सञ्चालन गर्दै आएका शैक्षिक पहलमा सहकार्य गर्न पाउँदा ओयूपी इन्डियाले खुसी र प्रतिबद्धता व्यक्त गरेको छ ।
समझदारीबारे प्रतिक्रिया दिँदै प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियासँगको सहकार्य नेपाली विद्यालय शिक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले विद्यालयको मूल उद्देश्य सिकाइ नै भएको उल्लेख गर्दै पठन बिना गुणस्तरीय शिक्षा, समालोचनात्मक सोच, सिर्जनशीलता र चरित्र विकास सम्भव नहुने स्पष्ट पारे ।
यस सहकार्यमार्फत शिक्षा सुधारको सुरुवात सशक्त पाठक निर्माणबाटै हुनुपर्ने विश्वास पुन: स्पष्ट भएको उनको भनाइ थियो। पुस्तक मात्र पर्याप्त नहुने भन्दै दक्ष शिक्षक, सक्षम विद्यालय नेतृत्व र स्पष्ट शैक्षिक उद्देश्य अपरिहार्य रहेको उनले बताए ।
प्याब्सनको दृष्टि परीक्षा र नतिजाभन्दा पर रहेको उल्लेख गर्दै उनले पठनलाई विद्यालय जीवनको संस्कारका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
त्यस्तै, अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासले नेपालमा शिक्षा क्षेत्रमा ओयूपी को दीर्घकालीन सहभागिता र योगदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
विश्वप्रसिद्ध वक्ता, अनुभवी शिक्षक र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक स्रोत उपलब्ध गराएर विद्यार्थीको सिकाइ यात्रा समृद्ध बनाइने उनले बताए । साथै, शिक्षकको व्यावसायिक विकास र विद्यालय नेतृत्वलाई आधुनिक शैक्षिक अभ्याससँग परिचित गराउने कार्यमा पनि सहकार्य केन्द्रित हुने उनको भनाइ थियो ।
समझदारीअनुसार अक्सफोर्ड युनिभर्सिटी प्रेसको रिड उइथ अक्सफोर्ड ’ अन्तर्गतको चर्चित ‘अक्सफोर्ड रिडिङ ट्रि’ कार्यक्रमका ७० ओटा पुस्तक समेटिएको विशेष प्याक प्याब्सन सदस्य विद्यालयहरूका लागि सहुलियतपूर्ण दरमा उपलब्ध गराइनेछ ।
यसले नेपालभरका विद्यार्थीलाई स्तरअनुसारका गुणस्तरीय पठन सामग्रीमा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, बेलायतस्थित ओयूपी को व्यावसायिक विकास टोलीबाट ‘रिड उइथ अक्सफोर्ड’ कार्यक्रम अपनाउने विद्यालयहरूका लागि विशेष शिक्षक तालिम सञ्चालन गरिनेछ ।
प्याब्सनद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रादेशिक नेतृत्व शिखर सम्मेलन तथा अन्य नेतृत्व विकास कार्यक्रमहरूमा ओयूपी ले अन्तर्राष्ट्रिय प्रशिक्षक र मुख्य वक्ता उपलब्ध गराउनेछ ।
समझदारीअनुसार प्याब्सन केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापना गर्न ओयूपी ले सहयोग गर्नेछ, जहाँ नमुना पुस्तक, शिक्षण सामग्री र व्यावसायिक सिकाइ स्रोतहरू उपलब्ध हुनेछन् ।
प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई ‘रिड उइथ अक्सफोर्ड’कार्यक्रम लागू गर्न र विद्यालय पात्रोमा पठनका लागि छुट्टै समय निर्धारण गर्न प्रोत्साहित गर्नेछ ।
प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले यस समझदारीलाई दीर्घकालीन सहकार्यको आधारका रूपमा लिएका छन् ।
आत्मविश्वासी पाठक निर्माण, शिक्षकलाई आधुनिक सीपले सुसज्जित गर्नु तथा दूरदर्शी विद्यालय नेतृत्व विकास गर्ने लक्ष्यसहित यो सहकार्यले नेपालको शिक्षा प्रणालीमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया 4