३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको अगुवाइ गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान छलफल गरे । आइतबारदेखि सुरु महाधिवेशनपछि उत्पन्न विवाद अन्त्यको खोजीका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन् ।
छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय थापा र शर्मा वार्ता स्थलबाट बाहिरिइसकेका छन् ।
छलफलमा महामन्त्रीद्वयले सभापति देउवालाई निष्क्रिय हुन आग्रह गरेका थिए । तर सभापति देउवाले मुन्टो हल्लाए पनि कुनै जवाफ नफर्काएको महामन्त्रीहरूको भनाइ छ ।
छलफलमा सभापति देउवाले महामन्त्रीद्वयसँग आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने घोषणा गरिसकेको बताएका थिए ।
वार्तामा सहभागी संस्थापन पक्षका एक नेताका अनुसार तीन महिनामा हुने के नै छ र ? भन्दै विधान अनुसार आफू उम्मेदवार पनि बन्न नमिल्ने भन्दै सहमित गरेर अघि बढ्न देउवाले आग्रह गरेका हुन् ।
ती नेताले अनलाइनखबरसँग भने, ‘राष्ट्रिय सभामा मेरो हस्ताक्षरबाट साथीहरूले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । प्रतिनिधिसभाको बन्द सूचीमा पनि मेरै हस्ताक्षर गएको छ । अब प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुन अनुसार बनाउन मिल्छ भने म तयार छु । निर्वाचन आयोग र कानुनका जानकारहरूसँग निर्क्योल गरौँ ।’
देउवाको भनाइ उदृत गर्दै उनले अगाडि भने, ‘नेतृत्वबारे वैशाखमा महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादनले निर्णय गरिसकेको छ । मैले नेतृत्व छोड्ने सार्वजनिक रूपमै भनिसकेको छु । विधान अनुसार पनि उम्मेद्वार बन्न मिल्दैन । तीन महिनामा हुने के नै छ र ?’
देउवाको आग्रहपछि दुवै महामन्त्रीहरू साथीहरूसँग छलफल गर्नुपर्छ भनेर निस्किएको ती नेताले सुनाए ।
प्रतिक्रिया 4