+
+
Shares

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ पुष ३० गते २०:०३

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपिएको छ ।

२०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ ।

विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना कांग्रेस जीवनमा नै नौलो छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शम्शेरले नै महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कांग्रेसको इतिहासमा यो दोस्रो महाधिवेशन हो । यो महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूले बोलाएका थिए । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ ।

विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ । अब यो विभाजनले कांग्रेसलाई दुई चिरा पारेको छ । अब कुन कांग्रेस आधिकारिक भन्ने कानुनी झमेला पनि सुरु भएको छ ।

२०१० सालको पहिलो विभाजन

कांग्रेसभित्र राणाविरुद्धको संघर्ष अझ एकीकृत र सशक्त बनाउनुपर्ने दबाब थियो । त्यसैले २००७ असोज १० र ११ मा रौतहटको सीमा बैरगनीयामा कांग्रेसले सम्मेलन राखेको थियो । त्यसमा सशस्त्र क्रान्तिबाट मात्र देशमा परिवर्तन सम्भव हुने निष्कर्ष निस्कियो । त्यसपछि क्रान्तिको सुप्रिम कमाण्डर सभापति मातृकाप्रसाद कोइराला र क्रान्ति सञ्चालनको बागडोरको जिम्मा बिपी र सुवर्ण समशेरलाई दिइयो ।

त्यहीँबिच २००७ कार्तिक २१ मा राजा त्रिभुवन नाति ज्ञानेन्द्रबाहेक सपरिवार गद्दीत्यागका साथ दिल्ली शरण लिन पुगेका थिए । दिल्लीमा राजा, राणा र काङ्ग्रेसबिच त्रिपक्षीय सम्झौता भयो । त्यससँगै २००७ फागुन ७ गते १०४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भयो । र, देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो ।

त्यसपछि बनेको सरकारमा कांग्रेसको नेतृत्व गरेका बीपी सामेल हुन गए । उनी गृहमन्त्री बनेका थिए । तर, राणाहरूसँगको द्वन्द्वका कारण बीपीले छोटो समयमा नै राजीनामा थिए । त्यसको केही समयभित्रमा नै राणा-काङ्ग्रेसको सरकार ढल्यो । त्यसपछि दरबार र भारतको साथ पाएका मातृका २००८ मंसिर १ मा प्रधानमन्त्री नियुक्त भए । तर, बीपी समूहले मातृका सरकारलाई सहयोग गरेन ।

उता प्रजातन्त्र स्थापना भएसँगै राजा त्रिभुवनले दुई वर्षभित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए। तर अनेकौं बहानामा चुनाव सार्ने काम भयो। अनि त्यस्तैमा भारतीय हस्तक्षेप, डा. केआई सिंहको विद्रोहजस्ता कारणले दाइभाइबीच अर्थात् बिपी-मातृका विवाद बढ्दै गएको थियो ।

तर, त्यहीँ विवादकै बीच २००९ जेठ १०-१३ मा काङ्ग्रेसले आफ्नो पाँचौं महाधिवेशन गर्यो । जुन नेपाल भित्र भएको पहिलो काङ्ग्रेसको महाधिवेसन समेत थियो । उक्त महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित भएका थिए ।

त्यसपछि पार्टीले २००९ साउन ८ मा मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर पार्टीले भनेको नमानेका कारण उनी सहित अन्यलाई पार्टीले कारवाही गर्‍यो । त्यसैबीच साउन १० गते मातृकासहित नारदमुनि थुलुङ, महावीरशमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा थिए ।

त्यसलगत्तै भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गरे । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गरे । मातृका आफैंले पार्टीबाट कारबाही भोगेको १० महिनापछि २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’को स्थापना गरे ।

२०५९ को विभाजन

कांग्रेसभित्र कलह चुलिँदै थियो । यसैक्रममा २०५७ साल माघ ९ मा कास्कीको पोखरामा काङ्ग्रेसको दशौं महाधिवेशन सम्पन्न भएको थियो । यो महाधिवेशनले केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखेको थियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन गरिएको थियो ।

सभापतिका लागि भने गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए । कोइराला र जोशी दोस्रो पटक प्रतिस्श्पर्धा गर्दै थिए भने देउवा पहिलो पटक उम्मेदवार थिए । त्यसमा फेरि गिरिजाप्रसाद कोइराला सभापतिमा चुनिएका थिए ।

तर, त्यस महाधिवेशनको वर्षपछि नै काङ्ग्रेस टुक्रियो । देउवा प्रधानमन्त्री बनेका बेला माओवादी दबाबउनका लागि संकटकाल लगाइएको थियो । संकटकालको अवधि थप्ने विषयमा कांग्रेसमा विवाद चर्कियो ।

त्यो विवादका बीच पार्टीले सहमति नदिँदा पनि देउवाले जबर्जस्ती गरे । संकटकालको अवधि थपे । यही कारण विवाद बढेपछि कांग्रेस विभाजन तर्फ गयो ।२०५९ असार पहिलो साता त्यो समयमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरेको थियो । त्यस भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो । त्यसरी शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेसँगै काङ्ग्रेस अर्को विभाजन भएको थियो ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?