+
+
Shares

लन्डनमा मनाइयो माघी पर्व

अतिथिहरुलाई टोकन अफ लभ प्रदान गरिनुका साथै चिचर, ढिक्री, हाँसको मासु, तारेको माछा, तिलको लड्डु लगायत थारु परिकारले स्वागत गरिएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते ८:३६

लन्डन । थारु कल्याणकारी सभा यूकेको आयोजनामा नयाँ वर्ष २६४९ को स्वागत गर्दै माघी पर्व भव्य रुपमा मनाइएको छ।

लन्डन हिथ्रो नजिक होटल हिल्टन गार्डेन इनमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको प्रवर्धन गर्न जुटेकामा थारु कल्याणकारी सभा यूकेसंग आवद्ध युवाहरुलाई बधाई र धन्यवाद दिए।

उनले चार वर्ष पहिले बर्दियामा थारु होम स्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए। दुवाडीले बेलायतस्थित थारु लगायत सबै समुदायलाई सक्दो सहयोग गर्न दूतावास सधैं तयार रहेको पनि जनाए ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले थारु समुदायमाथि ऐतिहासिक रुपमा शोषण र उत्पीडन गरिएको भए पनि अहिले थारु युवाहरु देश, विदेश पुगेर प्रगति गरिरहेको बताए।

उनले विदेशमा बसेर पनि आफ्नो समुदायको उत्थानका लागि सक्दो सहयोग गर्न आग्रह गरे। पुडासैनीले केही दशक अगाडिसम्म पनि कमलरी प्रथा जस्तो अमानवीय प्रथा व्यहोरेको समुदाय भएकाले आफ्नो इतिहास आफैं लेख्न र स्वाभिमान कायम गर्न सुझाव दिए।

आफ्नो शुभकामना मन्तव्यमा बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले राष्ट्र गानमा “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भने झैं विभिन्न जातजाति भाषाभाषी मिलेर नेपाल बनेको बताए। उनले अहिले नेपाल मेची महाकालीभित्र मात्र सीमित नरहेको भन्दै जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ नेपाल पनि पुगेको जनाए।

उनले आफ्नो बालसखा दाङ निवासी सुन्दर कुमार चौधरीले ६५ वर्षको उमेरमा सन् २०२४ मा ६,०९० मिटर अग्लो लोबुचे हिमाल सफल आरोहण गरेको र यो वर्ष गोर्खा जिल्लास्थित ८,१६३ मिटर अग्लो मनासलु हिमाल चढ्ने योजना बनाएको बताए।

उनले सुन्दर चौधरीले सन् २०२७ मेमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको जनाउंदै उक्त अभियान सफल भएमा उनी सर्वोच्च शिखर आरोहण गर्ने तराईवासी थारु समुदायको पहिलो व्यक्ति बन्ने पनि जनाए। वरिष्ठ पत्रकार योगीले चौधरीको अभियानमा नैतिक र भौतिक रुपले सघाउन सबैलाई आग्रह पनि गरे।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रि क्या डेमबहादुर गुरुङ, किरात राई यायोख्या यूके तथा युरोपका विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए।

कार्यक्रममा ज्योति, जीना, रत्न, माया, सुष्म, सन्ध्या लगायतका कलाकारले थारु नृत्य प्रदर्शन गरेका थिए भने राकेश चौधरीले गीत सुनाए।

सो अवसरमा अतिथिहरुलाई टोकन अफ लभ प्रदान गरिनुका साथै चिचर, ढिक्री, हाँसको मासु, तारेको माछा, तिलको लड्डु लगायत थारु परिकारले स्वागत गरिएको थियो।

थारु कल्याणकारी सभा यूकेका अध्यक्ष कवि कुसुम्याले बेलायतमा बसोबास गरिरहेका थारु समुदायका युवाहरुलाई एकजुट गरी थारु भाषा, संस्कृति र पहिचानको प्रवद्र्धन गर्न कार्यक्रम आयोजन गरिएको जनाए।

उनले माघी पर्वको शुभकामना दिंदै सबै सहभागी तथा प्रायोजकहरुलाई धन्यवाद दिए।

कार्यक्रम संचालन ओम थारु तथा ज्योति चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?