+
+
Shares

काठमाडौँमा ‘बंगलादेश मेडिकल एजुकेसन फेयर’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली विद्यार्थीलाई बंगलादेशको चिकित्सा शिक्षाबारे जानकारी गराउन ‘बंगलादेश मेडिकल एजुकेसन फेयर–२०२६’ आयोजना गरिएको छ।
  • मेलामा बंगलादेशका २० वटा निजी मेडिकल कलेज सहभागी भएर नेपाली विद्यार्थीलाई अध्ययन प्रणाली, शुल्क, छात्रवृत्ति र आवासबारे जानकारी दिएका थिए।
  • नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बंगलादेशको गुणस्तरीय चिकित्सा शिक्षा र क्यानाडाली प्रणालीमा आधारित पाठ्यक्रमबारे जानकारी गराए।

३ माघ, काठमाडौं । नेपाली विद्यार्थीलाई बंगलादेशको चिकित्सा शिक्षाबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेसन फेयर–२०२६’ आयोजना गरिएको छ ।

नेपालस्थित बंगलादेश दूतावास र बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसन (BPMCA) को सहकार्यमा मेला आयोजना गरिएको हो ।

मेलामा बंगलादेशका २० वटा निजी मेडिकल कलेज सहभागी भएका थिए । ती कलेजका प्रतिनिधिले इच्छुक नेपाली विद्यार्थी र अभिभावकलाई बंगलादेशमा उपलब्ध चिकित्सा शिक्षाका अवसर, अध्ययन प्रणाली, शुल्क, छात्रवृत्ति, आवासलगायत विषयमा आवश्यक जानकारी दिएका थिए ।

मेलाको उदघाटन कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल–बंगलादेशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध उल्लेख गर्दै शिक्षा, विशेषगरी चिकित्सा शिक्षाको क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको बताए ।

उनले गुणस्तरीय शिक्षा, व्यापक क्लिनिकल अभ्यास, सुलभ शुल्क, आधुनिक प्रविधियुक्त चिकित्सा पूर्वाधार र अन्तर्राष्ट्रिय रूपमा मान्य डिग्रीका कारण बंगलादेश अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वसनीय गन्तव्यका रूपमा स्थापित भएको बताए ।

राजदूतका अनुसार बंगलादेशको पाठ्यक्रम र परीक्षा प्रणाली क्यानाडाली प्रणालीमा आधारित छ, जुन दक्षिण एसियाका अन्य मुलुकको तुलनामा प्रभावकारी मानिन्छ ।

भाषा र सामाजिक परिवेशमा समानता भएकाले नेपाली विद्यार्थी बंगलादेशमा सहज रूपमा अध्ययन गर्न सक्ने उनको भनाइ थियो । त्यस्तै, विविध रोगको उपचारमा प्रत्यक्ष अनुभव लिन पाउने भएकाले विद्यार्थीले राम्रो क्लिनिकल ज्ञान हासिल गर्ने उनले बताए ।

बंगलादेशबाट चिकित्सा शिक्षा हासिल गरेका धेरै नेपाली चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै उनले विशेषगरी त्यहाँबाट उत्पादन भएका स्नातकोत्तर चिकित्सकको गुणस्तर विश्वभर मान्य रहेको बताए । राजदूतले शिक्षा सहकार्य प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढ बनाउन दूतावास प्रतिबद्ध रहेको पनि दोहोर्‍याए ।

उदघाटन सत्रमा बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसनका महासचिवले बंगलादेशको चिकित्सा शिक्षा प्रणालीबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले शैक्षिक मापदण्ड, पाठ्यक्रम संरचना, क्लिनिकल अभ्यास र विद्यार्थी सहयोग सेवाबारे जानकारी गराए ।

BPMCA का पूर्व अध्यक्षले पनि सम्बोधन गर्दै गुणस्तरीय शिक्षा कायम राख्न र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तारमा संघसंस्थाको भूमिकाबारे धारणा राखेका थिए ।

मेलाले विद्यार्थी र अभिभावकलाई बंगलादेशी मेडिकल कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिएको थियो । सहभागीहरूले भर्ना प्रक्रिया, योग्यता, शैक्षिक कार्यक्रम, शुल्क, छात्रवृत्ति, आवास सुविधा र बंगलादेशमा विद्यार्थी जीवनबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?