+
+
Shares

कता उभिएलान् शेखर ?

विशेष महाधिवेशनबाट वैधतामाथि प्रश्न उठाउँदै कांग्रेस नेता निर्वाचन आयोगदेखि केन्द्रीय कार्यालय सानेपासम्म पुगे । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई स्विकारेर जानुपर्ने उनी माथि आफ्नै समूहबाट दबाब बढेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ माघ ४ गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मध्यमार्गी नेताका रुपमा आफूलाई परिभाषित गर्दै पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्।
  • कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वलाई मान्यता नदिन निर्वाचन आयोगमा आग्रह गरेका थिए।
  • निर्वाचन आयोगले विशेष महाधिवेशनको पक्षमा निर्णय गरेपछि कोइरालाले नयाँ समितिलाई स्वीकारेर चुनावमा भाग लिन सुझाव दिने नेताहरुको संख्या बढेको बताएका छन्।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफूलाई मध्यामार्गी नेताका रुपमा परिभाषित गर्छन् । त्यही मार्गमा हिंडिरहँदा यतिबेला पार्टीभित्र दबाब झेलिरहेको कोइरालाको निचोड छ ।

आइतबार आफू निकटका नेताहरुको बैठक राखेर उनले मध्यमार्गको बाटो अबलम्बन गर्नेले समस्या भोग्ने गरेको समेत बताए ।

‘मध्यमार्ग र सत्यको बाटो गार्‍हो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न,’ उनले भने । पार्टी अतिवादको घेरामा परेको निष्कर्ष निकालेका कोइरालाले मध्यममार्गी बाटोबाट विचलित नहुने बताएका छन् ।

पार्टीमा विधि, विधान कार्यान्वयनका लागि निरन्तर आवाज उठाइरहने नेता पछिल्लो समय पूर्व संस्थापनको पक्षमा उभिए ।

पूर्व निर्धारित समय पुस २६ देखि २८ सम्म नियमित महाधिवशेन नभए विशेष हुनुपर्ने विचार राख्दै आएका कोइरालाले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिकामा समर्थन गरे ।

पूर्व सभापति शेरबहादुर देउवा पक्षमा उनी उभिरहँदा २७ पुसदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन आयोजना भई नयाँ नेतृत्व चयन भयो ।

विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय षडयन्त्र देखे । विशेष महाधिवेशनप्रति चरम असन्तुष्ट राख्दै उनले भने,‘राजधानीमा षडयन्त्रका अनेकन राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’ त्यसो त, जेनजी आन्दोलन लगत्तै विशेष महाधिवेशनको पक्षमा उभिनुपर्नेमा नेता कोइराला सकरात्मक थिए ।

कोइरालाको इच्छा विपरीत विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व चयन भई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।

थापा नेतृत्वको कार्यसमितिलाई मान्यता प्रदान गर्न नहुने अडान सहित २ माघमा उनी निर्वाचन आयोग पुगेका थिए । केन्द्रीय समिति सम्पूर्ण रुपमा आफूहरुसँग रहेको दाबी गर्दै विशेष महाधिवेशनको नेतृत्वलाई मान्यता नदिन आयोग पुगेर कोइरालाले आग्रह गरेका थिए । सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, केही चोइटिएर गए होलान्,’ कोइरालाले पूर्व सभापति देउवा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन आग्रह गर्दै आयोगमा भने । व्यक्तिभन्दा पनि संस्था हेरेर आयोगले मान्यता दिनुपर्ने कोइरालाको जिकिर थियो ।

विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका र पछि फिर्ता गरेको निस्सा आफूहरुसँग रहेको कोइरालाले दाबी गरेका थिए । देउवा पक्षसँग लागेर उनी निर्वाचन आयोग देखि केन्द्रीय कार्यालयमा राखिएको पत्रकार सम्मेलनसम्म पुगे ।

शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयबाट विशेष महाधिवेशनको विपक्षमा रहेकाहरु आश्चर्यमा परे । गगन थापाको नेतृत्वमा रहेको समितिलाई बैधता दिँदै झण्डा, चुनाव चिन्ह विशेष महाधिवेशन पक्षधरको हुने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि कोइराला कुन लाइनमा उभिएलान्? प्रश्न कांग्रेसभित्र छ । उनको मध्यामार्गी विचार अब कहाँ रहने बारेमा चासो छ । शेखर पक्षका नेताहरुका अनुसार उनी नयाँ समितिलाई स्विकार्दै चुनाव र नियमित महाधिवेशनको तयारीमा लाग्ने बताउँछन् ।

आइतबार आफू निकटका नेताहरूको बैठकमा कोइरालाले देश र लोकतन्त्र संकटमा रहेको उल्लेख गर्दै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका थिए ।

साथै, आसन्न निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई उनको आग्रह थियो । विशेष महाधिवेशनबाट नयाँ समिति आए लगत्तै पनि उनी निर्वाचनको पक्षमा देखिने गरी वक्तव्य जारी गरेका थिए ।

‘अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी छ,’ उनको अपीलमा भनिएको छ,‘समय छोटो छ, तर पनि यथासम्भव तपाईंहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।’

निर्वाचन आयोगको निर्णयपछि  कोइरालाले निरन्तर नेता कार्यकर्तासँग छलफल गरेका छन् । उनी निकट नेताहरुका अनुसार विशेष महाधिवेशनको आएको समितिलाई स्विकारेर चुनावमा भाग लिन सुझाव दिनेहरुको संख्या उल्लेख्य छ ।

शनिबार बिहान विशालनगरस्थित आफू निकटका नेताहरुसँग छलफल हुँदा देउवा पक्षले बोलाएको बैठकमा जानुपर्ने र जान नहुने दुईतर्फी धारणा आएको बैठकमा सहभागी एक नेताले जानकारी गराए ।

ती नेता भन्छन्,‘आन्दोलन गर्ने निर्णय भए त्यसमा असहमति राख्न शेखर दाइ हिजोको बैठकमा जानुभएको हो ।’ केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेन ।

निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने निर्णय भने गरियो । पूर्व संस्थापन आइतरबार रिट लिएर अदालत पुग्दा नेता कोइराला पक्ष भने गएन । कोइरालाले बत्तिसपुतलीमा आफू निकटका नेताहरुसँग छलफल राखे ।

नयाँ निर्वाचित समितिको पक्षमा कोइराला स्वयंले हालसम्म मुख नखोलेपनि उनी निकट नेताहरु मान्यता प्राप्त पक्षसँग उभिएका छन् । उनी निकट नेताहरु चन्द्र भण्डारी, दिनेश कोइराला, सुनिल शर्मा, रामनाथ अधिकारी, बर्मा लामा लगायत विशेष महाधिवेशनबाट आएको नेतृत्वको विरुद्धमा देखिएका छैनन् ।

आइतबारको बैठकमा सहभागी दोलखाका जिल्ला सभापति बर्मा लामाले अनलाइनखबरसँग भने,‘उहाँहरुले लालपुर्जा लगेपनि घर घडेरी हाम्रो त्यही छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वसँग मिलेर जानुपर्छ भन्ने सबैको विचार छ ।’

 चुनावमा लाग्ने र नियमित महाधिवेशनको तयारीलाई सँगसँगै लानुपर्ने विचारहरु आएको लामाले बताए ।

गत निर्वाचनमा मोरङ–६ बाट निर्वाचित भएका कोइरालाले चुनावी प्रतिस्पर्धी हुने/नहुने धारणा बाहिर ल्याइसकेका छैनन् । चुनावमा प्रतिस्पर्धा गर्न उनलाई नेताहरुले सुझाव दिएका छन् ।

चुनावमा उठ्ने/नउठ्ने कोइरालाले नबताए पनि प्रतिस्पर्धा गर्नका लागि आग्रह गरिएको दोलखा सभापति लामाले बताए ।

नवनिर्वाचित सभापति गगन थापाले टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेर उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेका छन् । तल्लो तहबाट सिफारिस भई आएका नामहरुबाट अध्ययन गर्ने एवं अन्य पक्षका नेताहरुसँग आन्तरिक संवाद गर्ने क्रम चलिरहेको जानकारी गराइएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित एक पदाधिकारीका अनुसार कोइरालाले इच्छा गरेको अवस्थामा उनलाई टिकट दिनेमा कसैमा दुईमत छैन । उनी भन्छन्,‘शेखर दाइले उम्मेदवार हुने इच्छा नराखे मात्रै अर्को व्यक्तिमा छलफल हुने हो ।’

कोइराला निकटका अधिकांश नेताहरु चुनावमा टिकट प्राप्त गरेको अवस्थामा प्रतिस्पर्धा गर्ने पक्षमा छन् । केन्द्रीय सदस्य दिनेश कोइराला टिकट नपाए प्राप्त गर्नेलाई जिताउन चितवनमा लागिपर्ने बताए । उनी भन्छन्,‘कांग्रेस जिताउन जिल्ला देखि देशभरि म लाग्छु । मैलै प्राप्त गरे ठिक छ । मैले पाउन सकिन भनेपनि कांग्रेस जिताउन लाग्छु ।’

आसन्न चुनाव र त्यसलगत्तै नियमित महाधिवेशन हुने हुँदा विशेष महाधिवेशन पक्षसँग तिक्तता बढाएर जान नहुने पक्षमा कोइराला निकटका नेताहरु छन् । पार्टीमा मिलेर जानुको विकल्प नभएको नेता धनराज गुरुङ बताउँछन् । आइतबारको बैठकपछि नेता गुरुङले भने,‘मैले पटक पटक भन्ने गरेको छु– कांग्रेस भनेको एउटा घर हो । एउटा परिवार हौं हामी । परिवारमा कहिलेकाहीँ झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बस्ने भए जस्तै यो सामान्य विषय हो ।’

२१ फागुनका लागि तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले माघ ६ गते उम्मेदवार मनोनयन दर्ताको समय तोकेको छ । देउवा पक्षले सर्वोच्चमा दायर गरेको रिटको पेशी उम्मेदवार दर्ताकै दिनलाई तोकेको छ । निर्वाचन सहजताका लागि आगामी मंगलबार हुने उम्मेदवारी मनोनयनको समय सार्न उपयुक्त हुने विचार नेता कोइरालाले राखेका छन् । विशेष महाधिवेशनबाट पार्टीमा उत्पन्न विवाद अदालत पुगेको हुँदा सर्वोच्च अदालतको निर्णय मान्य हुने कोइरालाले बताएका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?