News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज देशभर १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ।
- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्।
- नेकपा अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट, प्रचण्ड र रवि लामिछाने पनि आफ्ना निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।
५ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज (मंगलबार) देशभर उम्मेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।
२१ फागुनमा हुन गइरहेको निर्वाचनमा लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने प्रतिष्पर्धामा हुने छैनन् ।
उनले गए मध्यरातमा आफू निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरेका छन् ।
‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले राति सवा १२ बजे प्रेस नोट जारी गरेर भनेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा २०४८ सालको निर्वाचनदेखि लगातार कांग्रेसका तर्फबाट डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले अन्तिमपल्ट निर्वाचनमा प्रतिष्पर्धा गर्ने चाहना राखेका थिए ।
उनको चाहनाअनुसार नै कांग्रेसको जिल्ला कार्यसमितिले उम्मेदवारका लागि एकल सिफारिस पनि गरेको थियो । तर, कांग्रेसको दोस्रो विशेष महाधिवेशनका कारण चुलिएको विवादपछि देउवा निर्वाचन नलड्ने मनस्थितिमा पुगेका हुन् ।
कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको सर्लाही-४ बाट उठ्ने भएका छन् । उनी काठमाडौं–४ बाट निर्वाचन लड्दै आएका थिए ।
जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट निर्वाचन लड्दैछन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
गत निर्वाचनमा एमाले अध्यक्ष ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता खगेन्द्र अधिकारीले २३ हजार ७४३ ल्याएका थिए ।
कांग्रेस तत्कालीन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेलमा थिए । एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सघाएका थिए ।
ओली निर्वाचित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेल ११ हजार ७५९ मतसहित तेस्रो भएका थिए । अहिले ओलीलाई रास्वपाबाट बालेन शाहले चुनौती दिने भएका छन् । रास्वपा उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको छ । बालेन आइतबारमात्रै काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरेर चुनावी अभियानमा होमिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ माओवादी विद्रोहको उद्गम थलो रूकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन् । निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न उनी जिल्ला पुगिसकेका छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रचण्ड गोरखा–२ बाट निर्वाचित भएका थिए । तत्कालीन समयमा उनलाई कांग्रेस र एकीकृत समाजवादीले सघाएका थिए ।
प्रचण्ड गोरखा–२ बाट २६ हजार १०९ मतसहित विजयी हुँदा दोस्रो भएका रास्वपा नेता कबिन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए । एमालेका अब्दुस सलाम मिया ७ हजार ३९५ मतसहित तेस्रो भएका थिए ।
गत निर्वाचनमा उदाएको रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने चितवन–२ बाट प्रतिष्पर्धा गर्दैछन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ र उपनिर्वाचन–२०८० मा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सञ्चारकर्म छोडेर पहिलोपल्ट संसदीय निर्वाचनमा उत्रिदा लामिछानेले २०७९ मा ४९ हजार ३०० मतसहित शानदार जित निकालेका थिए । उक्त निर्वाचनमा कांग्रेसका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठले १४ हजार ९८८ मतका साथ दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।
दोहोरो नागरिकतासम्बन्धी मुद्दामा लामिछाने निलम्बनमा परेपछि २०८० मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा ५३ हजार १७६ मतसहित दोस्रोपल्ट विजयी भएका थिए । उपनिर्वाचनमा कांग्रेसले युवा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएका थियो । उनी ११ हजार २१४ मतसहित दोस्रो भएका थिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । गत निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री प्रचण्डका लागि निर्वाचन क्षेत्र खाली गरिदिएका थिए । उनले यसपालि प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)को चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका थिए ।
गोरखा–२ मा कांग्रेसले प्रकाशचन्द्र दवाडी र नेकपाले युवा नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । एमालेबाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन उम्मेदवार बनेका छन् । रास्पाले यो क्षेत्रमा गत निर्वाचनकै उम्मेदवार बुर्लाकोटीलाई दोहोर्याएको छ ।
जेनजी आन्दोलनपछि गठित सरकारमा तीनवटा मन्त्रालय हाँकेका कुलमान घिसिङ काठमाडौं–३ बाट पहिलो पटक संसदीय निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आए घिसिङले २३ पुसमा राजीनामा दिएका थिए ।
मन्त्री रहेकै समयमा आफ्नो संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका घिसिङले १४ पुसमा रास्वपासँग एकता गरेका थिए । एकतापछि उनले रास्वपामा पहिलो वरीयताको उपसभापतिको जिम्मेवारी पाएका थिए । तर, पछि घिसिङले रास्वपासँगको एकता भंग भएको घोषणा गरेर उज्याो नेपाल पार्टीलाई अघि बढाएका थिए ।
धरान उपमहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर हर्क साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्दै छन् । उनी आफ्नै नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटोबाट निर्वाचन लड्न लागेका हुन् । निर्वाचन लड्न भन्दै साम्पाङले ४ माघमा पदबाट राजीनामा दिएका थिए ।
स्थानीय तह निर्वाचन–२०७९ मा साम्पाङ २० हजार ८२१ मतसहित धरान उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए । उनी लौरौ चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा कांग्रेस उम्मेदवार किशोर राई १६ हजार ५९ मतसहति दोस्रो र एमाले उम्मेदवार मञ्जुकुमारी सुवेदी १२ हजार ८२५ मतसहित तेस्रो भएका थिए ।
पूर्वप्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल चितवन–३ बाट चुनावी प्रतिष्पर्धामा उत्रिदै छन् । उनी भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख हुन् । दाहालले प्रचण्ड संयोजकत्वको नेकपाबाट निर्वाचन लड्न महानगरपालिका प्रमुखबाट राजीनामा दिएकी थिइन् ।
स्थानीय तह निर्वाचन–२०७९ मा दाहाल ५२ हजार २८ मतसहित महानगरपालिका प्रमुखमा विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत पाएका थिए ।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल १४ हजार ७२८ मतका साथ तेस्रो भएका थिए ।
जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट उठ्दैछन् । उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव लडेका थिए । उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । जसपा नेपालका उपेन्द्र यादव चाहिँ उपचुनावमा बारा पुगेका थिए । यसपटक सप्तरी ३ मानै लड्ने तयारी गर्दैछन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन यसअघि नै उनले चुनाव जित्दै आएको क्षेत्र झापा ३ बाट उठ्दै छन् । राप्रपाका कमल थापा काठमाडौं ५ बाट उम्मेदवार बन्दैछन् ।
एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट उठ्दैछन् । कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं-५ मा उठ्दैछन् । यो क्षेत्रमा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि उम्मेदवार बन्दैछन् ।
प्रतिक्रिया 4