+
+
Shares

३ बजेसम्म देशभर १२१४ जनाको पर्‍यो उम्मेदवारी

उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:४४

६ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको क्रम जारी छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।  उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक हुनेछ ।

यदि उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारम अनिवार्य छ ।

प्रचलित कानुन अनुसार योग्यता पुगेको उम्मेदवारले मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयन पत्र पेस गर्नुपर्नेछ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए, दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य हुन्छ र र संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक हुनेछ ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । तर महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहले दिएको सिफारिस पत्र आवश्यक हुन्छ ।

उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ । उम्मेदवारले आफ्नो चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र र ऋण/उधारो समेतको सम्पूर्ण विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ ।

उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको वैयक्तिक विवरण फाराम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?