+
+
Shares

यी दागी जो संसद् छिर्न चाहन्छन्

गुण्डागर्दीको क्षेत्रमा कहलिएकादेखि अख्तियारले मुद्दा दायर गरेका व्यक्तिसम्म प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ माघ ६ गते २१:२१

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभरका १६५ वटै क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । पुराना भनिएका मुख्य राजनीतिक दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमध्ये कतिपय भने विभिन्न आरोप र मुद्दा खेपेका व्यक्ति पनि छन् । गुण्डागर्दीको क्षेत्रमा कहलिएकादेखि अख्तियारले मुद्दा दायर गरेका व्यक्ति पनि प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

चक्रे मिलन- एमाले

नेकपा एमालेबाट गोरखा-२ बाट उम्मेदवारी दिएका मिलन गुरुङ (चक्रे मिलन)माथि मुद्दाका चाङ छन् । उनीविरद्ध एक दर्जन मुद्दा चलिसकेका छन् ।

चक्रे पछिल्लो पटक गत १५ साउनमा पक्राउ परेका थिए । उनीसँगै १९ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक शान्तिविरुद्ध मुद्दा चलाएको थियो । यो कसुरमा उनी ३० हजार धरौटीमा छुटेका थिए ।

उनीविरुद्ध भक्तपुरमा पनि ज्यान मार्ने उद्योगको मुद्दा थियो । यो मुद्दामा उनी १ लाख १० हजार धरौटी तिरेर ३० साउनमा छुटेका थिए ।

आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले चक्रेविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।

कुनै समय एमाले नेता प्रदीप नेपाल (हाल दिवंगत) का किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ चक्रे बनेर अपराधको दुनियाँमा फैलिए ।

भूतपूर्व गोर्खा आर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका-५ छोप्राक हो ।

उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि विस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अहिले एमालेबाट प्रतिनिधिसभा उम्मेदवार ।

उनीविरुद्ध भक्तपुरमा दायर भएको ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन नै छ ।

माधवकुमार नेपाल- नेकपा

पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । २२ जेठमा उनीसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिबाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

हदबन्दीभन्दा बढी जग्गा खरिद-बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप नेपालमाथि छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको थियो ।

पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‌कै निर्णयबाट बिक्री गरेको भेटिएको थियो । त्यतिबेला नेपाल प्रधानमन्त्री थिए । यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

नेपाल अहिले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रौतहट-१ मा उम्मेदवार बनेका छन् ।

रवि लामिछाने- रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, पर्साको सानो पाइला सहकारी र चितवनको सहारा चितवन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ । यसका साथै सम्पत्ति सुद्धीकरण र संगठित अपराधको मुद्दा भने सरकारले संशोधनमार्फत फिर्ता लिएको छ ।

उनै लामिछानेले अहिले चितवन-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसअघि लामिछाने २ पटकसम्म अत्यधिक मत ल्याएर प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

महेश बस्नेत- एमाले

नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पनि मुद्दा छ । भ्रुण हत्याको जाहेरी दिए पनि त्यो जाहेरी दर्ता भने भएको छैन । साइबर कसुरको जाहेरी भने प्रहरीमा दर्ता छ ।

बस्नेत २२ असोजमा साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उपस्थित भएका थिए । त्यतिबेला उनले डेढ घण्टासम्म बयान दिएका थिए ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सो निर्देशनपछि ब्युरोले बस्नेतलाई आफ्नो कार्यालयमा उपस्थित गराएर बयान लिएको थियो ।

अहिले बस्नेत भक्तपुर-२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । बस्नेतविरुद्ध उजुरी हाल्ने शोभा पाठकले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । उनको चुनाव चिह्न जेनजी आन्दोलनको आइकोनिक जुत्ता रहेको बताइएको छ ।

ऐन महर- एमाले

गाली बेइज्जती तथा साइबर अपराधको कसुरमा महरविरुद्ध मुद्दा चलेको छ । उनको यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ । उनीविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् ।

महर अहिले नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका छन् । एमालले यसअघि आचरणको विषय उठाउँदै महरलाई केही समयका लागि निलम्बनसमेत गरेको थियो ।

११ भदौमा उनलाई साइबर ब्युरोले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । त्यतिबेला उनी हाजिरी जमानीमा छुटेका थिए । अहिले पनि यो मुद्दा विचाराधीन अवस्थामा छ ।

टेकबहादुर गुरुङ- कांग्रेस

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा गुरुङ विशेष अदालतबाट दोषी ठहर व्यक्ति हुन् । १६ फागुन २०७९ मा विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

अख्तियारले उनीसहितका व्यक्तिविरुद्ध २१ माघ २०७५ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । त्यतिबेला गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

टेकबहादुर गुरुङ – Online Khabar

यसअघि २०७९ को चुनावमा मुद्दा दायर भए पनि विचाराधीन रहेको भन्दै उनी मनाङबाट चुनाव उठेर विजयी भएका थिए ।

विशेष अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले पत्र लेखेपछि उनी निलम्बनमा परेका थिए । फैसला गर्दा १ करोड २१ लाख ८४ हजार बिगो ठहर गरी सोही बराबरको जरिवानाको भयो ।

यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन दिए । सँगै निलम्बन फुकुवा गर्न भन्दै अर्को रिट लिएर सर्वोच्च गए । सर्वोच्चको आदेशपछि उनको सांसद फुकुवा भएको थियो । उनै गुरुङ यो पटक फेरि कांग्रेसकै तर्फबाट मनाङबाट उम्मेदवार बनेका छन् । पुनरावेदनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

लक्ष्मी कोइरी महतो- एमाले

लक्ष्मी महतो कोइरीले नेकपा एमालेको तर्फबाट महोत्तरी-१ मा उम्मेदवारी दिएका छन् । कोइरी सशस्त्र प्रहरी बलका असई थमन विक हत्यामा मुद्दा चलेका व्यक्ति हुन् ।

मधेश आन्दोलनका क्रममा असई विकको हत्या भएको थियो । आन्दोलनका क्रममा २५ भदौ २०७२ मा असई विक घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

महोत्तरी जिल्ला अदालतले कोइरीलाई २ असोज २०७६ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशविरुद्ध विक परिवार उच्च अदालत जनकपुर गएपछि सो अदालतले १ मंसिर २०७७ मा कोइरीलाई थुनामै राख्न आदेश दिएको थियो । त्यसपछि उनी फरार थिए । फरार रहेकै समयमा २०७९ को निर्वाचनमा उनी महोत्तरीबाट-१ बाट निर्वाचित भएका थिए ।

अहिले भने कोइरीले सफाइ पाएका छन् । उनै कोइरी पुनः एमालेबाट उम्मेदवार बनेका छन् ।

विजय गच्छदार– कांग्रेस

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा विशेष अदालतले गच्छदारलाई सफाइ दियो । यो सफाइविरुद्ध अहिले अख्यितारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

‘सरकारी सार्वजनिक जग्गामा मोही कायम गर्ने नीतिगत निर्णयको आडमा सरकारी जग्गा वितरण गर्ने उद्देश्यले एक पटक भइसकेको निर्णयलाई फेरि संशोधन गर्न दोस्रो पटक टिप्पणी सदर गरेको देखिँदा प्रतिवादी (गच्छदार)को बदनियत पुष्टि हुन आएको,’ अख्तियारले सर्वोच्च अदालतमा दर्ता गरेको पुनरावेदनपत्रमा भनिएको छ, ‘यस्ता बदनियत तथ्य पुष्टि हुने प्रतिवादी विरुद्धका सबुद प्रमाणलाई फैसला हुँदा गोलमटोल व्याख्या विश्लेषण गरिएको ।’

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सट्टापट्टा गर्न दिनुपर्ने भनी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेका थिए । भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट अघि बढ्नुपर्ने जग्गासम्बन्धी विषय भौतिक योजना तथा निर्माण मन्त्रालयले अघि बढाएकोमा अख्तियारले प्रश्न उठाएको थियो ।

उनै गच्छदार अहिले सुनसरी–३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका छन् ।

रेशम चौधरी- नाउपा नेपाल

नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट कैलाली–१ मा उम्मेदवारी दर्ता गराएका रेशम चौधरी जन्मकैदको सजाय पाएका व्यक्ति हुन् ।

१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिबाट आममाफी पाएपछि उनी डिल्लीबजार कारागारबाट कैद मुक्त भएका थिए । ५ वर्ष ३ महिना कारागार बसेका चौधरीको १४ वर्ष ९ महिना कैद छुट भएको थियो ।

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।

घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा रेशम भूमिगत अवस्थामै कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

वारिसनामाबाट उम्मेदवारी दिएर चुनाव जिते पनि प्रमाणपत्र ग्रहण गर्न उनी आफैं आउनुपर्ने भयो । त्यसैले प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित रिट हाले तर सर्वोच्चले अस्वीकार गरेपछि १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे ।

पुर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका चौधरीलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दीपालयले सजाय सदर गरेको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?