६ माघ, चिववन । मंगलबार बिहान १० बजेअगाडि नै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डको भरतपुर-१० स्थित निवासमा कार्यकर्ताहरू जम्मा भइसकेका थिए । पाण्डेको उम्मेदवारी दर्तामा सहभागी हुन कार्यकर्ताहरू उनको घर पुगेका थिए ।
पाण्डेको उम्मेदवारी दर्ताका लागि तयारी गर्न भनियो । विभिन्न ठाँउबाट कार्यकर्ता ओसार्न बसहरू तयार गरिए । कार्यकर्ताले सामाजिक सञ्जालमा पाण्डेका चुनाव प्रचारात्मक भिडियोहरू हाल्न थाले ।
२०७९ सालमा चितवन-३ बाट भारी मत ल्याएर विजयी भएका पाण्डे यस पटक पनि चुनाव लड्न र आफ्नो बिरासत कायम राख्न भन्दै काठमाडौंबाट चितवन आएका थिए ।
तर, उम्मेदवारी दर्ताको तयारी भइरहँदा बिहान ११ बजेतिर अचानक पाण्डेले निर्वाचन नलड्ने बताए । उनी निकट नेता/कार्यकर्तालाई पनि सरप्राइज दिने गरी पाण्डे उम्मेदवार नबन्ने भए ।
‘म त उहाँको मनोनयन दर्तामा सहभागी हुन भनेर सबै तयारी गरी बिहानै गएको थिएँ । उहाँ नै चुनाव उठ्ने भनियो, तयारी गर्न लगाइयो, तर अचानक उम्मेदवार नबन्ने घोषणा पो आयो,’ पाण्डे निकट एक नेताले भने, ‘मैंले उहाँसँग बुझ्दा भित्री कुरो भन्नुभएन, अरूलाई अवसर दिएको भनेर टार्नुभयो ।’
पाण्डे पछाडि हटेपछि राप्रपाले भरतपुर महानगर कमिटी अध्यक्ष दीपक थापा मगरलाई चितवन-३ बाट उम्मेदबार बनाएको छ ।
२०७९ को निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले छाडेको क्षेत्रमा जितेका पाण्डे यस पटक पनि त्यहाँका हेभिवेट नै मानिन्थे । त्यतिबेला एमालेको उम्मेदवार नभएर कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेको र कांग्रेसले माओवादीसँग गठबन्धन गरेको अवस्थामा पाण्डेले जित निकालेका थिए ।
राप्रपाका एक नेताले भने, ‘अघिल्लो चुनावमा एमालेको आफ्नो उम्मेदवार थिएन, कांग्रेसको पनि थिएन, तर भोट थियो। तिनै भोट पाण्डेलाई आउँदा जित निकाल्न सहज भयो । तर यसपटक त्यो अवस्था नदेखेर ब्याक भएको हुनसक्छ ।’
चितवन-३ मा यसपटक रास्वपाले निवर्तमान सांसद सोविता गौतमलाई उम्मेदवार बनाएको छ । चितवनका ३ वटै क्षेत्रमा जित निकाल्ने लक्ष्यका साथ उम्मेदवार उठाएको रास्वपाले चितवन-३ मा बलियो उम्मेदवार गौतमलाई ल्याएपछि पाण्डे पछाडि हटेको हुनसक्ने आकलन पनि गरिएको छ ।
अर्कोतिर, पाण्डेले मत चोर्न सक्ने पार्टीहरू कांग्रेसबाट पुराना पाका नेता टेकप्रसाद गुरुङ र एमालेले महानगर अध्यक्ष शंकर थपलियालाई उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेले २०७० पछि यो क्षेत्रमा आफ्नो चुनाव चिह्नमा मत दिन पाएका छैनन् । यसपटक दुवै दलका मतदाता र समर्थकले आआफ्ना चिह्नमा मत हाल्न सक्ने सम्भावना देखेर पाण्डे हच्किएका हुन सक्छन् ।
अर्कोतिर, पाण्डेले आफूतिर तान्न सक्ने भोट कता छरिन्छन् र त्यसले चुनावमा अहिले होमिएका उम्मेदवारलाई फाइदा वा घाटा के होला भन्ने विष्लेषण पनि हुन थालेको छ ।
राप्रपाको पार्टीको भोट निकै कम रहेको चितवन-३ मा पाण्डेले लोकप्रिय मत र अन्य पार्टीबाट मत तानेर नै जित्दै आएका छन् । उनी यो क्षेत्रबाट २०७० र २०७९ मा विजयी हुँदा २०५६ र २०७४ मा हारेका थिए ।
उनले माडीसहितको यो भूगोललाई आफ्नो राजनीतिक आधार इलाका बनाउँदै आए । तर यसपटक अकस्मात र रहस्यमय तरिकाले उम्मेदवारी नदिएका ७२ वर्षे पाण्डे राजनीतिक जीवनको उत्तरार्धमा पनि छन् ।
राप्रपाको पार्टी अध्यक्ष बन्ने योजनामा रहेका पाण्डे संसदीय निर्वाचन हार्दा अध्यक्ष उठ्ने नैतिक बल कमजोर हुनसक्ने दृष्टिकोण राखेर निर्वाचनमा उम्मेदवार नबनेका पनि हुन सक्छन् ।
जेनजी युवाहरूलाई मौका दिने भनेर पाण्डेले दीपक थापा मगरलाई आफ्नो टिकट भिडाएपछि चितवनमा राप्रपाका समर्थक तथा कार्यकर्ता आश्चर्यमा परेका छन् ।
प्रतिक्रिया 4