+
+
Shares

विशेष महाधिवेशन अस्वीकार, गगनको टिकट स्वीकार

विशेष महाधिवेशनलाई अवैध भएको ठहर गरेर त्यसविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेका कांग्रेसका एकथरी नेताहरु सभापतिमा गगन थापालाई स्वीकारेर उनले नै हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवार बनेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ माघ ६ गते २२:४५

६ माघ, काठमाडौं । नेपाली कांग्रेसमा भएको विशेष महाधिवेशनलाई अस्वीकार गरेका नेताहरूले सभापतिमा गगन थापालाई स्वीकारेर उनले हस्ताक्षर गरेको टिकट लिएर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

गत पुसको २७ देखि माघ १ गतेसम्म भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो ।

पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिएका थिए । विशेष महाधिवेशन अवैध रुपमा भएको ठहर गर्दै पूर्व संस्थापन पक्षले नेतृत्वलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

विशेष महाधिवेशनबाट आएको समितिलाई अवैध रहेको र मान्यता नदिन आग्रह गर्न पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगे ।

देउवा पक्षको उक्त कार्यमा नेता डा. शेखर कोइरालाले समेत सक्रिय साथ दिए । देउवा पक्षको बैठक डाकेर गत शनिबार आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने निश्चित गरिएको थियो ।

विशेष महाधिवेशनको नेतृत्वलाई वैधता दिने आयोगले संविधान, प्रचलित कानुन, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरुपण गर्दा विगतमा गरिएको नजिर आयोगले बेवास्ता गरेको देउवा पक्षको ठहर थियो ।

आयोगप्रति रुष्ट भएको देउवा पक्षको निर्णयमा भनिएको छ, ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ ।’

निर्वाचन आयोगको निर्णय दुरासयपूर्ण निष्कर्ष निकाल्दै त्यसविरुद्ध विरुद्ध संवैधानिक, कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरिएको थियो ।

आयोगको निर्णय विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी कतिपय नेताहरूले व्यक्त गरेपनि आन्दोलनको घोषणा भने गरिएन । देउवा पक्षले गरेको निर्णय अनुसार पूर्व कार्यवाहक सभापति खड्का आइतबार रिट लिएर सर्वोच्च अदालत पुगे ।

उक्त रिटको पेशी मंगलबार (आज) को लागि तोकिएको थियो । देउवा पक्षले ‘न्याय’को लागि सर्वोच्च अदालत पुग्दा विशेष महाधिवशेन पक्ष भने उम्मेदवार छनोटका लागि केन्द्रित भयो ।

आइतबार रिट लिएर अदालत गएसँगै विशेष महाधिवेशनका विरुद्धमा चर्को स्वरमा बोल्ने नेताहरु नरम हुन लागे । पूर्व कार्यवाहक सभापति खड्काले रुख बाहेक अन्यत्र सोच्न नसकिने विचार सामाजिक सञ्जाल मार्फत राखे ।

देउवा पक्षका कतिपय व्यक्तिले सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवार दिनुपर्ने अभिव्यक्ति दिन थालेपछि खड्काले उक्त धारणा बाहिर ल्याएका थिए ।

नेता मीन विश्वकर्माले विशेष महाधिवेशनबाट नेतृत्वमा चयन भएका थापाको हस्ताक्षर स्वीकारेर जानुपर्ने विचार राखे ।

समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको टिकटमा देउवाको हस्ताक्षर भएको उल्लेख गर्दै प्रत्यक्ष उम्मेदवारका लागि गगनको हस्ताक्षर गरेर विवाद साम्य गर्न विकल्प सुझाए ।

विशेष महाधिवेशनले संसदीय बोर्ड गठन गरेर टिकट उम्मेदवार छनोट गर्ने तयारी गरेसँगै देउवा र शेखर पक्ष विशेष महाधिवेशन पक्षसँग लचिलो हुँदै गयो ।

विशेष महाधिवेशन पक्षले सबैलाई मिलाएर टिकट वितरण गर्ने जानकारी गराएसँगै त्रिपक्षीय संवाद सुरु भयो । देउवाले आफ्नो तर्फबाट नेता रमेश लेखकलाई अघि सारे ।

नेता कोइरालाले डा. मीनेन्द्र रिजाललाई संवादका लागि पठाए । विशेष महाधिवेशन पक्षधरबाट नेताहरू मधु आचार्य र देवराज चालिसे खटिए । त्रिपक्षीय संवाद भइरहँदा पूर्व कार्यवाहक सभापति खड्का र नेता कोइरालाले टिकट वितरण प्रति वेखबर रहेको जानकारी गराए ।

खड्काले सोमबार भने, ‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रक्रियामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारि समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु ! कसैमा भ्रम नरहोस ।’

अर्का नेता कोइरालाले आफ्नो कार्यालयमा उम्मेदवारको सोधिखोजी गर्न भीड लागेको सचिवालय मार्फत बाहिर ल्याए ।

‘देशैभरबाट टिकट माग्न आउँने नेताहरूको भिड लागेको छ । तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन,’ नेता कोइरालाको सचिवालयबाट सम्प्रेषित जानकारीमा भनिएको थियो, ‘जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन । आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा. शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन ।’

विशेष महाधिवेशन र त्यसबाट चुनिएको समितिलाई अस्वीकार गरेपनि देउवा र कोइराला पक्षका उपल्लो तहका नेताहरूले सभापतिमा थापालाई स्वीकार गरेर टिकट लिएका छन् ।

कोइराला स्वयं मोरङ–६ बाट उम्मेदवार बनेका छन् । विशेष महाधिवेशन पार्टी विधान विपरीत भएको र त्यसलाई मान्यता दिन नहुने रिट लिएर अदालत पुगेका पूर्वकार्यवाहक खड्का उम्मेदवार हुन तयार भएनन् ।

उम्मेदवार नहुने कारण खुलाउँदै खड्का भन्छन्, ‘अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया ,भरोसा र विश्वास म प्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधि सभाको निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’

कांग्रेसबाट आधिकारिक उम्मेदवारलाई जिताउन पार्टी पङ्तिमा खड्काले अपिल समेत गरे । खड्का स्वयं उम्मेदवार नबनेपनि उनले प्रतिस्पर्धा गर्दै आएको सुर्खेत–१ मा भाइ विष्णुबहादुर खड्का उम्मेदवार बने ।

खड्का बाहेक देउवा पक्षबाट सबै जसो नेता टिकट आकांक्षी थिए । शीर्ष तहका नेताहरुमा ‘विशेष महाधिवेशन’ सुन्नै नचाहने विमलेन्द्र निधि धनुषा–३ को उम्मेदवार बने ।

देउवाका विश्वासपात्रका रुपमा परिचित प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाए । विशेष महाधिवेशनबाट विपक्षमा रहेका नेताहरू महेन्द्र यादव, किशोरसिंह राठोर, एनपी साउद सुशीला थिङ, नैनसिंह महर लगायत उम्मेदवार बने ।

पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन हुन नसके विशेष हुनुपर्छ भन्ने धारणा राख्ने नेता शेखर कोइराला विशेष महाधिवेशनबाट आएको नेतृत्व स्वीकार्न तयार नै थिएनन् । एउटा पक्षमा नेतृत्व गरेका कोइराला स्वयंले सभापतिमा थापालाई स्वीकारेर उम्मेदवार बनेका छन् । कोइराला पक्षका नेताहरू डा. मीनेन्द्र रिजाल, राजीव कोइराला लगायत उम्मेदवार बनेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित एक पदाधिकारीका अनुसार अघिल्लोपटक जितेका र अनियमितताको आरोप नलागेका सबैलाई टिकट दिने निर्णय गरिएको थियो ।

ती पदाधिकारीले अनलाइनखबरसँग भने, ‘स्वच्छ छवि भएका, जित्न सक्नेलाई यो र त्यो पक्षको भनेर टिकट नदिने सोच नै बनाएनौं ।’

उनका अनुसार पूर्वसभापति देउवालाई उम्मेदवार बनाउन नहुनेमा विशेष महाधिवेशन पक्ष एकढिक्का थियो । महामन्त्री गुरुराज घिमिरेले पूर्व प्रधानमन्त्री देउवा उम्मेदवार बनाउन नहुने विचार टिकट वितरण नसकिँदै भनिसकेका थिए ।

डडेलधुरामा अन्तिमपटक उम्मेदवार हुन इच्छुक देउवाले टिकट पाउने सम्भावना नभएपछि सोमबार मध्यरात सचिवालय मार्फत उठ्न नचाहेको जानकारी गराएका थिए ।

देउवाका स्वकीय भानु देउवाले सोमबार जानकारी दिँदै भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’ देउवा निरन्तर उम्मेदवार हुँदै आएको डडेलधुरामा नैनसिंह महरले टिकट प्राप्त गरेका छन् ।

शीर्ष तहमा रहेर टिकट प्राप्त नगर्ने नेताहरुमा धनराज गुरुङ, जीवन परियार, प्रकाशमान सिंह, डा. शंशाक कोइराला, विजय गच्छदार लगायत छन् । साथै, देउवा निकट नेताहरू रमेश लेखक, रामहरि खतिवडा, मोहन बस्नेत, सन्तोष चालिसे लगायत उम्मेदवार हुन पाएनन् ।

उनीहरूले टिकट प्राप्त नगर्नुको कारण खुलाउँदै नवनिर्वाचित समितिका एक सदस्य भन्छन्, ‘विगतमा सरकार र समितिमा रहँदा विवादमा मुछिएकालाई बनाउन नहुनेमा थियौं । उम्मेदवार बनाउँदा विवादित नहुने र जित्न सक्ने उपयुक्त खोजेका हौं ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?