+
+
Shares
सम्पादकीय :

आजकै जस्तो उल्लास र हार्दिकता रहोस् चुनावसम्म

मनोनयनको दिन शान्तिपूर्ण वातावरण कायम रहनु उत्साहजनक संकेत हो । यही शालीनता, संयम र सहिष्णुता आगामी सम्पूर्ण चुनावी अवधिमा कायम रहनुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २३:०१

एक अर्कालाई निषेध पो गर्लान् कि भन्ने भय चिर्दै राजनीतिक दल, युवा पुस्ता मिलेर एक साथ चुनावी मनोनयनमा जानु आफैंमा अभूतपूर्व उल्लासको क्षण हो । किनकि २१ फागुनका लागि तोकिएको चुनाव आफैंमा नियमित चुनाव होइन, जेनजी आन्दोलनले थमाएको राजनीतिक कार्यसूची हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराउँछ कि गराउँदैन भन्ने गहिरो संशयको बादल मंगलबारको उल्लासमय उम्मेदवारी दर्तासँगै हटेको छ ।

आन्दोलनपछि देखिएको अन्योल, अविश्वास र आशंका चिर्दै भएको यो उम्मेदवारी दर्ता केवल एक प्रशासनिक प्रक्रिया मात्र होइन, नेपाली नागरिकको लोकतान्त्रिक आत्मविश्वासको पुनर्जागरण पनि हो ।

सबै राजनीतिक दलहरूको चुनावी प्रक्रियामा सक्रिय सहभागिताले एउटा महत्वपूर्ण सन्देश दिएको छ– राजनीतिक असहमति, आन्दोलन र असन्तोषको निकास अन्तत: मतपेटिकामै खोजिनुपर्छ ।

जेनजी आन्दोलनपछि पुराना दलहरूलाई निषेध गर्नुपर्छ भन्ने अतिवादी धारणा र नयाँ उदाएका शक्तिहरू सबै विदेशीबाट परिचालित, षड्यन्त्रकारी र भँडुवा हुन् भन्ने अर्को अतिवादी सोच दुवैलाई यो मनोनयन प्रक्रियाले एकैचोटि साझा मिलनविन्दु खोज्ने ठाउँमा ल्याइपुर्‍याएको छ ।

अब सबै राजनीतिक शक्ति एउटै प्रतिस्पर्धी मैदानमा उभिएका छन् । जनताका सामु आफ्ना एजेन्डा राखेर परीक्षणका लागि तयार भएका छन् । यही नै नेपाली लोकतन्त्रको सुन्दरता हो । आन्दोलन, आलोचना र असहमतिको अन्तिम परीक्षा चुनावी मैदानमै हुने लोकतान्त्रिक विधिलाई स्वीकार्दै सबै दलहरू चुनावी अभियानमा होमिएका छन् ।

यो प्रक्रियालाई संशय र अवरोधका बीच यहाँसम्म ल्याउन सरकार, राजनीतिक दल, नागरिक समाज, निर्वाचन आयोग, कर्मचारी प्रशासन लगायत जस–जसले भूमिका खेले ती सबै प्रशंसनीय छन् ।

जेनजी आन्दोलन कुनै आकस्मिक विस्फोट थिएन । त्यो नेपालको वर्षौंदेखिको शासकीय अव्यवस्था, संरचनागत भ्रष्टाचार र उत्तरदायित्वविहीन राजनीतिक नेतृत्व विरुद्धको संगठित आक्रोश थियो । त्यस आन्दोलनको क्रममा ७६ जना नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाए । अझै पनि कयौं घाइते अस्पतालका शैय्यामा छन् ।

युवाहरूको यही बलिदानीको जगमा मुलुक रुपान्तरणको एजेन्डालाई अब वैधानिक, संस्थागत र दिगो बाटोबाट अघि बढाउने पवित्र अभियानका रूपमा यो चुनाव हुँदैछ ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक र संवैधानिक संकट कसरी पार लाग्छ भन्ने सर्वत्र चिन्ता थियो । मतपेटिकाबाट प्राप्त जनादेश नै अब परिवर्तनको वैधानिक बाटो हुनेछ । यसले नै मुलुकलाई संवैधानिक ट्र्याकमा ल्याउने छ ।

चुनाव नभएर लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध हुने हो कि वा नेपाल पनि बंगलादेश जस्तै अस्थिरताको बाटोमा धकेलिने हो कि भन्ने जस्ता अफवाहले आम नागरिकलाई समेत सताएको थियो । तर १६५ वटै निर्वाचन क्षेत्रमा भएको सफल उम्मेदवारीले नागरिकमा बचेखुचेको भय पनि हटाइदिएको छ । नेपाल अब त्यस्तो अनिश्चित दिशातर्फ नजाने लगभग सुनिश्चित अवस्था सिर्जना भएको छ ।

यस चुनावी मनोनयनको अर्को महत्वपूर्ण र स्वागतयोग्य पक्ष भनेको कुनै पनि ठूला राजनीतिक दलहरूले चुनावअघि घोषित रूपमा गठबन्धन नगर्नु पनि हो । उनीहरू आआफ्नै एजेन्डा, संगठन र समर्थकको मतबाट परीक्षणमा उत्रन तयार देखिएका छन् ।

पछिल्ला वर्षहरूमा चुनावी गठबन्धन बनाउने, समर्थकलाई अरू दलको चुनाव चिह्नमा मत हाल्न बाध्य पार्ने र चुनावपछि गठबन्धन फेरेर सत्तामा पुग्ने विकृत राजनीतिक अभ्यास मौलाउँदै गएको थियो । त्यो विकृति रोकिएको छ ।

अब चुनावी परिणामले प्रतिनिधित्वको स्वच्छता र जनमतको वास्तविक तथ्य कस्तो छ भन्ने स्पष्ट रूपमा बाहिर ल्याउने छ । दलहरूको आफ्नो स्वतन्त्र हैसियत कस्तो छ भन्ने पनि परीक्षण हुनेछ ।

आज मनोनयन मात्र सम्पन्न भएको हो । तर अबका ४४ दिन अझ निर्णायक छन् । यो अवधिमा राजनीतिक झडप, एकअर्काको प्रचारमा अवरोध, घृणाजन्य अभिव्यक्ति, अराजक सोसल मिडिया क्याम्पेन र उत्तेजनात्मक गतिविधि भए अहिलेसम्म सम्हालिँदै आएको परिस्थितिलाई फेरि भड्काउने जोखिम रहन्छ ।

मनोनयनको दिन शान्तिपूर्ण वातावरण कायम रहनु उत्साहजनक संकेत हो । यही शालीनता, संयम र सहिष्णुता आगामी सम्पूर्ण चुनावी अवधिमा कायम रहनुपर्छ ।

सबै दलहरूले निर्वाचन आचारसंहिता अक्षरश: पालना गर्दै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । परिवर्तनको एजेन्डा बोकेर अघि आएका सबै राजनीतिक शक्तिले यो तथ्य आत्मसात गर्नुपर्छ कि परिवर्तनको वैधानिक बाटो संसदीय शक्ति आर्जनबाट मात्र खुल्छ, र त्यो शक्ति जनताको मतबाट मात्र प्राप्त हुन्छ ।

जनतासामु आफ्ना एजेन्डा राखेर, उनीहरूबाट अनुमोदन प्राप्त गरेर मात्र कुनै पनि परिवर्तन दिगो र वैधानिक हुन्छ । त्यसैले यो चुनाव केवल सरकार बनाउने प्रक्रिया होइन, मुलुकको भविष्यको दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर हो ।

लोकतन्त्रको रक्षा र सुदृढीकरण तथा संवैधानिक गतिरोधलाई चिर्न पनि चुनावको बाँकी अवधिलाई अवसर सफल बनाउनु सबैको साझा जिम्मेवारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?