News Summary
Generated by OK AI. Editorially reviewed.- खडकराज पौडेल (गनेस) रास्वपाबाट कास्की–१ को प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
- मनीषा द्वा उज्यालो नेपाल पार्टीबाट कास्की–१ को प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेकी छन्।
- कास्की–१ मा १४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् जसमा कांग्रेस, एमाले, नेकपा र नयाँ पार्टीका उम्मेदवारहरू छन्।
७ माघ, पोखरा । संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लोरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेल (गनेस) अहिले रास्वपाबाट कास्की–१ को उम्मेदवार बनेका छन् ।
लेखक तथा विश्लेषकको परिचय बनाएका गनेस बालेन्द्र शाहको टिमबाट रास्वपाको टिकट लिई प्रतिनिधिसभा प्रवेश गर्न खोजिरहेका छन् ।
तीन वर्षअघि पोखरा महानगरवासीले भोगिरहेका समस्या समाधान गर्ने प्रतिबद्धतासहित मेयरमा उम्मेदवार बनेका गनेस अब प्रतिनिधिसभा सदस्य बनेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभावित नागरिकको पक्षमा आवाज उठाउने बताइरहेका छन् ।
२०७९ वैशाख ३० मा गनेसजस्तै लौरो चुनाव चिह्न नै लिएर बालेन्द्र शाह काठमाडौं महानगरको उम्मेदबार बनेका थिए । बालेन्द्रले चुनाव जिते, गनेसले हारे । जितेर काठमाडौं महानगर हाँकीरहेका बालेन ४ माघमा राजीनामा दिएर २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवार बन्न झापा ५ पुगेका छन् ।
झापाबाट बालेनले उम्मेदवारी दर्ता गर्दै गर्दा कस्की १ बाट गणेस पनि उम्मेदवारी मनोनयन दर्ता गराउँदै थिए । स्थानीय तह चुनावमा दुवै स्वतन्त्र उम्मेदवार थिए, यसपटक दुवै रास्वपाका । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । गणेस त्यो घोषणा सार्थक बनाउन आफ्नो जित अनिवार्य रहेको बताउँछन् ।
क्यामरा बोकेर जुनतारा नियाल्न र फोटो खिच्न डाँडापाखा चाहर्ने नेपालको महिला एस्ट्रो फोटोग्राफरको नामले परिचित मनीषा द्वा पनि प्रतिनिधिसभा पुग्ने चाहनासहित उम्मेदवार बनेकी छन् । टेलिस्कोपबाट आकास नियाल्ने खगोलशास्त्री मनीषा उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर १ की उम्मेदवार बनेकी हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी, इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन, नेपालका लागि नेशनल आउटरिच को–अर्डिनेटर, राष्ट्रिय खगोल शिक्षा संयोजक, वर्ड स्पेस विकका लागि काम गरिरहेकी मनीषा अब भने निर्वाचनमार्फत जनताको सेवा गर्ने योजना बुन्दैछिन् ।
राजनीतिभन्दा भिन्न क्षेत्रमा विज्ञता प्रदर्शन गरिरहेका उनीहरूले प्रतिनिधिसभाका लागि चुनौति दिँदै मनोनयन दर्ता गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत दलका उम्मेदवारहरू कास्की–१ को प्रतिस्पर्धालाई आफ्नो पक्षमा जित निकाल्न दलबलसहित मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवारका रुपमा खडा गरेको छ । एमालेले अघिल्लो पटक जितेको यो क्षेत्रको विरासतलाई यथावतै राख्न पहिलो पटक संसदीय चुनावमा अधिकारीलाई उम्मेदवार बनाएको छ ।
तत्कालीन कालिका गाविसको अध्यक्ष हुँदै एमालेको राजनीतिमा होमिएका बैनबहादुर जिल्ला समन्वय समिति कास्कीका प्रमुखसमेत हुन् । यो क्षेत्रबाट यसअघि मनबहादुर गुरुङले जित हासिल गरेका थिए ।
जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वसहित चुनावमा होमिएको नेपाली कांग्रेसले कास्की–१ मा तिलक रानाभाटलाई उम्मेदवार बनाएको छ ।
विशेष महाधिवेशनको पक्षमा उभिँदै नेतृत्व हस्तान्तरण र रुपान्तरणको एजेण्डामा गगन पक्षमा लागेका रानाभाटलाई अन्य चर्चामा रहेका नेताहरूलाई पछि सारेर चुनावी मैदानमा पठाएको छ ।
काठमाडौंमा व्यवसाय गरिरहेका कांग्रेस महाधिवेशन प्रतिनिधि रानाभाटले पनि कांग्रेसले पछिल्लो परिस्थिति र परिवर्तनको एजेण्डालाई संस्थागत गर्ने भएकाले जित निकाल्ने उद्घोषसहित मनोनयन दर्ता गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट यसपटक कास्की–१ को नतिजा आफ्नो पक्षमा ल्याउने रणनीतिसहित नेता राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । २०६४ सालमा कास्कीका ३ वटा क्षेत्रमा जित हासिल गरेको माओवादीले पुरानो विरासत फर्काउने हुँकारसहित राजकाजीलाई चुनावी मैदानमा उतारेको हो ।
पुराना तथा स्थापित दल, नयाँ पार्टी रास्वपाले पनि गुरुङ उम्मेदवार नउठाएकाले आदिवासीजनजातिहरूकै सहानुभूति आफ्नो पक्षमा पारेर नेकपाले चुनाव जित्न सक्ने रणनीति बुनिरहेको छ । कास्की १ का नेकपा उम्मेदवार राजकाजी २०६४ सालमा कास्की क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।
२०७० सालमा पर्वत–२ मा उम्मेदवार बनेका राजकाजी २०७४ मा कास्की–२ (ख)मा प्रतिस्पर्धी थिए । २०७९ को चुनावमै कास्की–१ बाट टिकटको आकांक्षा राखेका करणले यसपटक भने मौका पाएका छन् र आफूलाई पुष्टि गरेर देखाउने बताइरहेका छन् ।
२०४८ सालदेखि कांग्रेस–एमालेले धेरै पटक आलोपालो जित्दै आएको क्षेत्रको चुनावी इतिहास बदल्ने होडमा नयाँ पार्टीका उम्मेदवारहरू छन् भने कांग्रेस एमालेले विगतको नतिजा आफ्नै पोल्टामा पार्ने रणनीति बुनिरहेका छन् । नेकपाले माओवादीको २०६४ को अवस्थामा फर्काउने भनिरहेको छ ।
पुराना पार्टीका कांग्रेस एमालेले विगतको अंकगणित र संगठित/क्रियाशील सदस्यको जोडघटाउ गरेर जित निकाल्ने बताइरहेका छन् । रास्वपाले आफ्नो पक्षमा देशभर लहर चल्दा कास्की–१ मा पनि जित्ने आंकलन गरिरहेको छ । त्योभन्दा अन्य उम्मेदवारले पनि मतदाता कुनै पार्टीको पेवा नहुने र परिस्थितिअनुसार व्यक्ति हेरेर मत पनि बदलिने बताइरहेका छन् ।
यो क्षेत्रमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । कर्णबहादुर डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी हुँदै प्रलोपबाट उम्मेदवार बनेका हुन् ।
उनीहरूसहित राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, नेसनल मंगोल अर्गनाइजेसनबाट मन थापा, श्रमसंस्कृति पार्टीबाट विलबहादुर तामाङलगायत उम्मेदवार छन् ।
प्रतिक्रिया 4