+
+
Shares

दुईपांग्रे सवारी चढ्ने सबैले हेलमेट लगाए मृत्यु ३९ प्रतिशतसम्म घट्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सवारी दुर्घटनाबाट हुने मृत्यु संख्या सन् २०२१ मा २ हजार ५०० बाट सन् २०२५ मा २ हजार ५९९ पुगेको छ।
  • स्वास्थ्य सेवा विभागका डा. रवीन्द्र बास्कोटाले दुई पाङ्ग्रे सवारी पछाडि बस्नेले हेलमेट नलगाउँदा मृत्यु र घाइतेको संख्या बढेको बताए।
  • डा. सुधा गौतम शर्माले चुनाव नजिकिएकाले सरकारी कार्यालय र मेडिकल कलेजमा दुई पाङ्ग्रे पछाडि बस्नेलाई हेलमेट अनिवार्य गराउने प्रतिबद्धता जनाइन्।

७ माघ, काठमाडौं । नेपालमा सवारी दुर्घटनाबाट हुने मृत्युको संख्या दिनप्रतिदिन बढ्दै गएको सरोकारवालाले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले दैनिक औसत १० जनाको ज्यान सडक दुर्घटनामा जाने गरेको तथ्यांक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग कुष्ठरोग निवारण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा. रवीन्द्र बास्कोटाले सवारी दुर्घटनाको अवस्था वर्षेनी भयावह बन्दै गएको बताए ।

उनका अनुसार सन् २०२१ मा २ हजार ५०० रहेको मृत्यु संख्या सन् २०२५ मा बढेर २ हजार ५९९ पुगेको छ । दुर्घटनाको उच्च जोखिममा दुई पाङ्ग्रे सवारी साधन रहेको उल्लेख गर्दै उनले चालक र पछाडि बस्ने दुवै बढी प्रभावित हुने बताए ।

विशेषगरी १६ देखि २६ वर्ष उमेर समूहका युवा चालक दुर्घटनामा बढी पर्ने गरेको उनले जानकारी दिए ।

‘सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये धेरैको टाउकोमा गम्भीर चोट लागेको पाइएको छ’ उनले भने, ‘दुई पाङ्ग्रे सवारीको पछाडि बस्नेले हेलमेट नलगाउँदा मृत्यु र घाइतेको संख्या बढेको छ ।’

बास्कोटाका अनुसार, पछाडि बस्नेले पनि हेलमेट अनिवार्य लगाउने कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट हुने गम्भीर चोटपटक ७२ प्रतिशत र मृत्यु ३९ प्रतिशतसम्म घटाउन सकिन्छ ।

‘ हेलमेटको प्रयोग सडक सुरक्षाका लागि भ्याक्सिन जस्तै हो’ डा. बास्कोटा भन्छन्, ‘यसले दुर्घटनाबाट हुने जटिल चोट र मृत्युको जोखिम उल्लेख्य रूपमा कम गर्छ ।’

कार्यक्रममा उकालो न्यूजका वरिष्ठ संवाददाता किरण दाहालले सडक सुरक्षासम्बन्धी प्रस्तुति दिएका थिए । तीव्र गति, जीर्ण सडक अवस्था र मादक पदार्थ सेवन सवारी दुर्घटनाका मुख्य कारण हुन् ।

दुर्घटनाले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पार्नुका साथै उपचार खर्चका कारण परिवार गरिबीको चक्रमा फस्ने र राज्यलाई समेत आर्थिक भार पार्छ । ‘दुई पाङ्ग्रे सवारी प्रयोग गर्ने युवा सबैभन्दा बढी मृत्यु र घाइते हुने तथ्यांकले परिवार र मुलुकको अर्थतन्त्रमा समेत असर पारेको छ’ दाहालले भने ।

स्वास्थ्य मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सडक सुरक्षामा सरकारी प्रयास भए पनि अपेक्षित नतिजा नआएको स्वीकार गरे ।

उनका अनुसार सवारी दुर्घटनाबाट हुने मृत्युदर प्रतिलाख जनसंख्यामा ९ मा छ । यसलाई ४ मा झार्ने लक्ष्य सरकारको छ । उनले सडक असुरक्षित हुनु नै दुर्घटनाको प्रमुख कारण रहेको बताए ।

गृह मन्त्रालयका उपसचिव छविलाल पौडेलले सडक निर्माणमा लापरवाही हुँदा पनि दुर्घटना बढेको बताए । गुणस्तरहीन सामग्रीको प्रयोग, शाखा सडक निर्माणमा मापदण्ड नपुर्‍याउनु जस्ता कारण दुर्घटनाको जोखिम बढेको उनको भनाइ थियो । सवारी दुर्घटनालाई राजनीतिक मुद्दाका रूपमा नलिइएकाले समस्या जटिल बनेको उनले बताए ।

पूर्वएआईजी मीरा चौधरीले विद्यमान ऐन–कानुन कार्यान्वयनमा राजनीतिक इच्छाशक्ति कमजोर हुँदा ट्राफिक प्रहरीलाई काम गर्न कठिन भएको बताइन् ।

सडक सुरक्षाविद् भगवती सेडाइले स्वास्थ्य मन्त्रालयले चोटपटक रोकथामसम्बन्धी रणनीति र कार्ययोजना पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । सडक सुरक्षामा कुन निकायको भूमिका के भन्ने स्पष्ट नहुँदा दुर्घटना न्यूनीकरण हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रमकी प्रमुख अतिथि डा. सुधा गौतम शर्माले सवारी दुर्घटनाको बहुआयामिक असर स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी पर्ने बताइन् । दुर्घटनाबाट अपांग भएका व्यक्तिको उपचारमा राज्यको ठूलो खर्च लाग्ने उल्लेख गर्दै उनले सबै निकाय एकीकृत रूपमा लाग्नुपर्नेमा जोड दिइन्।

चुनाव नजिकिएकाले देशभर दुई पाङ्ग्रे सवारीको पछाडि बस्नेलाई हेलमेट अनिवार्य गराउनु व्यवहारिक नदेखिए पनि मेडिकल कलेज र सरकारी कार्यालयमा भने तत्काल कार्यान्वयन गर्न सकिने उनको भनाई छ ।

सरकारी कार्यालय र मेडिकल कलेजभित्र प्रवेश गर्ने दुई पाङ्ग्रे सवारीमा पछाडि बस्नेलाई हेलमेट अनिवार्य गराउन छिट्टै पत्राचार गरिने उनले प्रतिबद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?