८ माघ, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले डा. दिनेशराज भुजुलाई उपाध्यक्ष (शैक्षिक तथा अनुसन्धान) पदमा नियुक्त गरेको छ ।
तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा. भुजु हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्रज्ञा हुन् ।
उनी चीनको नर्थवेस्ट युनिभर्सिटीमा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन् ।
यसअघि उनले नेपाल, इटाली र पोल्यान्डका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गरी सकेका छन् ।
डा. भुजुले जापानको चिबा विश्वविद्यालयबाट इकोलोजी विषयमा विद्यावारिधि हासिल गरेका हुन् ।
उनले नास्टमा विज्ञान संकाय प्रमुख तथा विभाग प्रमुख, ख्व:प इन्जिनियरिङ कलेजका संस्थापक प्राचार्य, तथा मध्यपश्चिम विश्वविद्यालयका शैक्षिक संयोजक तथा कार्यकारी निर्देशक जस्ता जिम्मेवारी सम्हाली सकेका छन् ।
उनको अनुसन्धान मुख्यतः चुरे क्षेत्रको इकोलोजी, हिमाली वृक्षरेखा तथा डेन्ड्रो–जलवायुविज्ञानमा केन्द्रित रहेको छ ।
डा. भुजुले युनेस्को, यूएनडीपी, इसिमोड, डब्लूडब्लूएफ तथा नेपाल सरकारको सहकार्यमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन र विज्ञान नीतिसम्बन्धी विभिन्न अनुसन्धान तथा नीतिगत परियोजनाहरूको नेतृत्व र परामर्श दिएका छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार (२०००) र बागमती प्रदेश नवप्रवर्तन पदक (२०२४) बाट सम्मानित डा. भुजुका ८० भन्दा बढी समिक्षित जर्नल लेख, ५० भन्दा बढी पुस्तक अध्याय तथा सम्मेलन कार्यपत्र, र २० भन्दा बढी पुस्तक तथा पाठ्यपुस्तक प्रकाशित छन् ।
उनले १०० भन्दा बढी स्नातकोत्तर तथा विद्यावारिधिका शोधकर्ताहरूलाई निर्देशन गरिसकेका छन् ।
साथै, उनी करिब ६०० विज्ञानसम्बन्धी रेडियो कार्यक्रम मार्फत विज्ञान जनसाधारणसम्म पुर्याउने कार्यमा संलग्न रही सकेका छन् ।
प्रतिक्रिया 4