८ माघ, डोल्पा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पामा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् ।
विभिन्न ७ राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका अधिकांश नेताहरू पुरानै अनुहार छन् । यो पटक केही नयाँ पुस्ताका उम्मेदवार पनि चुनावी मैदानमा छन् । नयाँ र पुराना अनुहारबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।
डोल्पामा नेकपाबाट पूर्वमन्त्री धनबहादुर बूढा, नेपाली कांग्रेसबाट केन्द्रीय सह-महामन्त्री कर्णबहादुर बूढा, नेकपा एमालेबाट लंक रोकाया र उज्यालो नेपाल पार्टीबाट दीलबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बूढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र तत्कालीन माओवादीका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
को उम्मेदवार कस्ता ?
नेकपाबाट उम्मेदवार बनेका पूर्वमन्त्री धनबहादुर डोल्पाका प्रभावशाली र अनुभवी नेताका रूपमा मानिन्छन् । बूढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका व्यक्त हुन् । चौथो पटक चुनावमा होमिएका उनी बलिया प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
उनी राजनीतिक अनुभव र सङ्गठनात्मक पकड भएको नेताको रूपमा चिनिन्छन् । राप्रपाको पृष्ठभूमिबाट राजनीतिमा उदाएका उनी ०७० को संविधान सभा निर्वाचन र ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए ।
त्यति बेला उनले ११ हजार ७ सय ६१ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार अंगद बूढालाई पराजित गरेका थिए । एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका बुढा ०७९ सालको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाटै चुनाव लडेका थिए । उनले ११ हजार २ सय ९२ मत ल्याएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीलाई ५ हजार ७८७ मतान्तरले पराजित गरेका थिए । पराजित शाहीले ५ हजार ५०५ मत ल्याएका थिए । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
बूढाले २०७० को दोस्रो संविधान सभा निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । पछि एमाले पनि छाडेर एकीकृत समाजवादी हुँदै हाल नेकपासम्म आइपुगेका हुन् । उनी ‘क’ श्रेणीका निर्माण व्यवसायीसमेत हुन् ।
उनको यो पटक आफ्नै सहोदर दाइसँग प्रतिस्पर्धा हुनेछ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर भर्खरै मात्र सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित नेता हुन् ।
२०४८ सालदेखि राप्रपाबाट राजनीतिक सुरु गरेका कर्णले राप्रपाबाटै तीन पटक प्रतिनिधिसभा चुनाव लडेका थिए । तर तीनै पटक पराजित भए ।
उनी राप्रपामा तीन पटक निर्वाचित केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री मनोनीत भएका थिए । २०५१ सालमा काँग्रेसकै बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग पराजित भएका थिए । त्यसपछि २०५६ सालमा एमालेका नरबहादुर बुढाथोकी र २०६४ सालमा तत्कालीन माओवादीका रामबहादुर बोहरासँग पराजित भएका थिए ।
राप्रपाबाट २०७६ सालमा काँग्रेसमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरेका उनी अहिले सहमहामन्त्री छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका लंक जिल्ला पार्टी कमिटीका अध्यक्ष हुन् । उनी विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीको नेतृत्वमा पुगेका हुन् । २०७४ र २०७९ मा मुड्केचुला गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका उनी दुवै पटकको निर्वाचनमा पराजित बने ।
२०७४ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार दत्त शाही सँग झिनो मतान्तरले पराजित बनेका उनी २०७९ मा पनि उनै साहीसँग ३७ मतले पराजित भए । दुई पटकको हार हुँदा पनि नथाकेका लंकलाई यो पटक एमालेले डोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
यो पटक उनको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बूढासँग हुने देखिन्छ । जसलाई उनका राजनीतिक गुरुका रूपमा समेत लिइन्छ । गुरु–चेलाबीचको यो प्रतिस्पर्धाले डोल्पाको राजनीति थप रोचक बनाउने स्थानीयहरू बताउँछन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार विष्ट समाजसेवामा सक्रिय रहे पनि राजनीतिमा भने सधैँ असफलताको ट्याग लागेको नेता हुन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोट निवासी विष्ट पनि दुई पटकको स्थानीय तहको निर्वाचनमा पराजय भोगेका व्यक्ति हुन् ।
उनी ०७४ सालको निर्वाचनमा नेपाली काँग्रेस र २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रदेखि निर्वाचनमा होमिएका थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका २६ वर्षीय युवा विकास अध्ययन सँगै राजनीतिमा सक्रिय छन् । त्रिपुरा सुन्दरी ४ रंग गाउँ विकासका तत्कालीन माओवादी केन्द्र निकट वाईसिएलको सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज थिए । माओवादी फुटपछि जनार्दन शर्मातिर देखिएका उनलाई प्रलोपाले उम्मेदवार बनाएको छ ।
प्रलोपाले भने जेनजेड समूहका युवालाई अघि सारेको बताउँदै जिल्लाको राजनीतिमा नयाँ पुस्ताको प्रवेश गराएको बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ऐडी इन्जिनियर हुन् । युवा उम्मेदवार ऐडी गत महिना रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा समेत परेका थिए । प्रारम्भिक निर्वाचनमा अपेक्षा अनुसार मत ल्याउन सकेका थिएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका डाँगी जिल्ला पार्टीका प्रवक्ता हुन । १५ वर्षदेखि निरन्तर राप्रपामा देखिएका उनी पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन् । उनी ट्रेकिङ गाइड हुन् ।
स्वतन्त्रतर्फ उम्मेदवारी घोषणा गरेका केसी नेकपाका पूर्व नेता हुन् । एमाले हुँदै तत्कालीन माओवादीमा प्रवेश गरेका उनी ठूली भेरी नगरपालिकाका ३ नं को वडा अध्यक्षमा पराजित भएका थिए ।
उनी जिल्लामा लेखापढी व्यवसायमा सक्रिय छन् । राजनीतिमा पुस्तान्तरणका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।
मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी भण्डारी महिला पनि उम्मेदवार हुनुपर्छ भनेर आफू आएको बताउँछिन् ।
प्रतिक्रिया 4