९ माघ, सर्लाही । ‘कुरै नगर्नुस्,यी सब बदमास हुन्,’ रूद्रबहादुर खड्काले दिक्दारी पोखे, ‘भोट पनि नहाली बसौंजस्तै भएको छ ।’ खड्का सर्लाही क्षेत्र नम्बर ३ को हरिवन नगरपालिका धरहरा बजारका बासिन्दा हुन् ।
७७ वर्षका खड्काले आफ्नो निर्वाचन क्षेत्रमा खालखालका उम्मेदवार व्यहोरेका छन् । सबै पार्टीका नेताहरूलाई पालैपालो मतदान पनि गरेका छन् । पुरानाहरूबाट अपेक्षित काम नभएको महसुस गरेका खड्का यसपटक नयाँ दल र नयाँ उम्मेदवारबारे विचार गर्नुपर्ने धारणा राख्छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही-३ बाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए । त्यो प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न नसके पनि उप्रेती भने त्यस्ता भाग्यमानी सांसद हुन् जो दुई कार्यकाल मन्त्री हुन पाए ।
सुरूमा २०७९ साल माघ ३ गतेदेखि फागुन १६ गतेसम्म रक्षामन्त्री भएका उनी दोस्रो कार्यकालमा २०८० फागुन २३ देखि ०८१ असार २० गतेसम्म रक्षामन्त्री बनेका थिए । तर आफूहरूले जिताएर पठाएका उप्रेती मन्त्री बनिसकेपछि भने फर्किएर पनि नआएको गुनासो यहाँका नागरिकको छ । यिनै उप्रेतीले यसपाली पनि सर्लाही क्षेत्र नम्बर ३ मा टिकट पाएका छन् ।
यसपाली भोट माग्न गाउँ आएमा अघिल्लो चुनावमा गरेका बाचामध्ये कति काम भए त्यसको हिसाब माग्ने र त्यसपछि बल्ल भोट हाल्ने कि नहाल्ने भनेर भनेर निर्णय गर्ने यहाँका नागरिकको कुरा छ ।

‘सबै पार्टी पालैपालो सरकारमा थिए,’ बागमती नगरपालिका वडा नम्बर ११ का एक व्यापारीले भने, ‘पहिले पुराना दलका नेताहरू सरकारमा हुँदा हाम्रो लागि के काम गरे भनेर सोध्छौं । उनीहरूको कुरा चित्त नबुझे नयाँ पार्टी छँदैछन् ।’
यद्यपि उप्रेतीले भने आफू सधैंभरी मतदाताहरूकै बीचमा रहेको बताए । ‘म महिनाको पाँचचोटी निर्वाचन क्षेत्रमा आउने मान्छे हुँ,’ उप्रेतीले अनलाइनखबरसँग भने, ‘संसदमा मलाई तपाईं त उतै मेयर बनाएर राख्न पर्ने मान्छे रहेछ भन्थे ।’
सर्लाही-३ कांग्रेस, एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने क्षेत्र हो । २०६४ साल यताको निर्वाचनमा कहिले एमाले र कहिले माओवादीकै पल्लाभारी हुँदै आएको छ । तर जनताको समस्या भने पटक्कै समाधान हुन नसकेको बरहथवा नगरपालिका १० हनुमानचोक डोम बस्तीका कमल धनकरले बताए ।

‘तीन पुस्तादेखि बसिरहेका छौं । चुनावमा नेताहरू आउँछन् । विभिन्न आश्वासन दिन्छन् । नालाको समस्या छ,’ धनकरले भने, ‘नेता आउँछन् जितेर गएपछि काम हुँदैन । विगतमा नारा जुलुसमा पनि जान्थ्यौं । तर पनि केही काम गरिदिएनन् । आश्वासन दिन्छन् काम गर्दैनन् ।’
यसपाली एमालेका उप्रेतीसहित नेपाली कम्युनिष्ट पार्टीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्र साह कलवार, नेपाली कांग्रेसका विनोद खनालसहितका नेताहरू प्रतिस्पर्धामा छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ बाट नेकपा एमालेका हरि उप्रेती ७७० मत अन्तरले माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई पराजित गरेका थिए । उप्रेती ३२ हजार ९३८ मतसहित निर्वाचित भएका थिए ।
तत्कालीन पाँचदलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कलवार ३२ हजार १६८ मत ल्याएका थिए । तेस्रोमा जनमत पार्टीकमा उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५१९ मत पाएका थिए भने रास्वपाका उम्मेदवार ३ हजार ५६६ मत ल्याएर चौथो भएका थिए ।

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादवले जितेका थिए । उनले ७ हजार ४३८ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार हरेशकुमार महतोलाई पराजित गरेका थिए ।
रायले २२ हजार ३ सय ६७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी महतोले १४ हजार ९ सय २९ मतमा सीमित भए । तेस्रोमा स्वतन्त्र उम्मेदवार गुलाब छाप चुनाव चिह्नका नरेन्द्र साहले १२ हजार ८६ मत पाएका थिए ।
यस क्षेत्रमा २०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेका उप्रेती जितेका थिए । यसपटक रास्वपाबाट उम्मेदबार बनेका साह २०७० मा महेन्द्र यादव नेतृत्वको तराई मधेश लोकतान्त्रिक (तमसपा)बाट समानुपातिक सांसद बनेका थिए ।
२०७४ को प्रतिनिधिसभा सदस्यमा गुलाब छाप चुनाव चिह्नबाट लडेर पराजित नरेन्द्र २०७९ मा नेकपा माओवादी केन्द्रबाट पाँच दलीय गठबन्धनका उम्मेदबार बनेर उप्रेतीसँग कडा प्रतिस्पर्धा गरेका थिए । अहिले सर्लाही क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धीहरूसँगै नेपाली कम्युनिष्ट पार्टी नेकपाका नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्दैछ्न् ।
यस क्षेत्रमा जसपा नेपालबाट जयप्रकाश राय, जनमतबाट सुनिल प्रसाद गुप्ता लगायत ३४ उम्मेदवार छन् ।
संगठनात्मक आधार खोज्दै सर्लाहीमा नारायणकाजी
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले सर्लाहीमा सबभन्दा बढी ४७ हजार ३२९ समानुपातिक मत पाएको थियो । त्यसमा पनि सर्लाही क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी १५ हजार ४७१ मत समानुपातिकमा थियो ।

यस क्षेत्रमा तत्कालीन नेकपा एकीकृत समाजवादीको संगठन अन्य क्षेत्रमा भन्दा राम्रो छ । अहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि नेपाली कम्युनिष्ट पार्टीले सर्लाही-३ लाई निर्वाचन जित्नका लागि अनुकुल देखेको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै रूकुमपूर्व पुगेजस्तै नेता नारायणकाजी श्रेष्ठ पनि सुरक्षित क्षेत्र खोज्दै सर्लाही-३ मा आइपुगेका हुन् ।
यसअघि उनी संविधानसभा निर्वाचनमा मकवानपुर र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए ।
त्यसैले पनि श्रेष्ठले यसपटकको निर्वाचनलाई प्रतिष्ठासँग जोडेका छन् । उनी यहाँ आउनुको अर्को कारण मिटरव्याज पिडितको समस्या समाधानका लागि खेलेको भूमिका पनि हो ।
श्रेष्ठ गृहमन्त्री हुँदा सर्लाहीसहित मधेशका जिल्लामा देखिएको मिटरब्याजको समस्या समाधानमा भूमिका खेलेका थिए ।
‘उहाँले सडकमा हुँदा पनि सरकारमा हुँदा पनि सर्लाहीको पक्षमा नै काम गर्नुभएको हो,’ नेकपा नेता प्रल्हाद बुढाथोकीले भने, ‘हामीले नै उहाँलाई आग्रह गरेर सर्लाही-३ मा ल्याएका हौं ।’ बुढाथोकीले सर्लाही पूर्व माओवादीको संगठनात्मक आधार बलियो भएको क्षेत्र भएकाले श्रेष्ठलाई आफूहरूले आग्रह गरेर ल्याएको बताए ।

यद्यपि अघिल्लो निर्वाचमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नरेन्द्र साह अहिले माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धा गर्दैछन् ।
दल फेर्दै, उम्मेदवार बन्दै नरेन्द्र साह
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार उठेका नरेन्द्र साह कलवार २०७० यता चारपटक चुनाव उठेका छन् । तर उनी चारैपटक फरक-फरक पार्टी र छापबाट चुनाव लड्दै आएका छन् । पहिलोपटक उनी २०७० को दोस्रो संविधानसभामा महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक उम्मेदवार बने । त्यसबाट उनी सांसद बने ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कलवार स्वतन्त्र उम्मेदवार बनेर गुलाव छापबाट चुनाव लडे । त्यस बेला माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादव २२ हजार ३ सय ६७ मत ल्याएर निर्वाचित हुँदा कलवार तेस्रो नम्बरमा १२ हजार ८६ मत पाएका थिए ।
तेस्रो पटक २०७९ को निर्वाचनमा उनी पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बने । गठबन्धनका उम्मेदबार बनेर उप्रेतीसँग कडा प्रतिस्पर्धा गरे । तर जित एमाले उम्मेदवार हरि उप्रेतीसँग ७७० मत अन्तरले पराजित हुन पुगे । उप्रेती ३२ हजार ९३८ मतसहित निर्वाचित हुँदा कलवार ३२ हजार १६८ मतमा सीमित भए ।

बरहथवा नगरपालिका ११ घर भएका कलवार प्रतिष्ठित व्यवसायी समेत छन् । उनले समाजमा पनि योगदान गर्ने गरेको सुनिन्छ । उनी यसपटक पनि नेपाली कम्युनिष्ट पार्टीबाट चुनाव लड्न चाहन्थे । तर नेकपाले नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनायो ।
आफ्नो नाम भूगोल तर्फबाट समेत पार्टीले सिफारिस नगरेको र चुनाव नलड्दा विगतमा प्रतिस्पर्धा गर्दा ल्याएको मत र मतदाताको अपमान हुने भएकाले रास्वपाबाट चुनाव लडेको उनको भनाइ छ ।
‘विगतमा आएको ३२ हजार मतको कारण म नेकपाबाटै पुनः चुनाव लड्न चाहन्थें । मेरो अधिकार थियो । तर मेरो भूगोलबाट समेत सिफारिस गरिदिएन,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसकारण मलाई स्वतन्त्रबाट भएपनि चुनाव लड्नु पर्ने मतदाताको दबाब थियो । पछि स्वतन्त्रभन्दा रास्वपाबाटै चुनाव लड्न सरसल्लाह भयो ।’
उनका भनाइमा आफू चुनाव नलडेको भए आफूसँग जोडिएका मतदाता साथ छाडिदिन्थे । ‘मत र मतदाताको सम्मान गरेर सल्लाहमै रास्वपाबाट चुनाव लडेको हुँ,’ उनको तर्क छ ।
फोटो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4