News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मितज्यू' को छायांकन १५ जेठ प्रदर्शन मितिसहित दाङको घोराहीबाट सुरु भएको छ।
- फिल्ममा डान्सर तेरिया मगरको डेब्यू अभिनय रहनेछ र दयाहाङ राई, सौगात मल्ल लगायतको अभिनय छ।
- निर्देशक अनिल बुढामगरले निर्देशन गरेको यो फिल्म ग्रामीण भेगमा चल्ने जीप चालकको कथामा आधारित छ।
काठमाडौं । चर्चित डान्सर तेरिया मगरको डेब्यू अभिनय रहने फिल्म ‘मितज्यू’ को छायांकन शुक्रबार दाङको घोराहीदेखि सुरु भएको छ । वसन्त पञ्चमीको अवसरमा एक महिने तालिकासहित छायांकन सुरु भएको हो ।
छायांकनपूर्व स्थानीय अम्बिकेश्वरी मन्दिरमा पूजाआजा गरियो । १० दिन दाङ र २० दिन रोल्पाको सुलीचौर, सातदोबाटो र जेलबाङमा छायांकन तयारी छ ।
निर्माता जनक घर्तीमगरको यो दोस्रो प्रोजेक्ट हो । यसअघि उनले ‘घरज्वाइँ’ बनाएका थिए । सोही फिल्ममा निर्देशकीय सहकार्य गरेका अनिल बुढामगरले नै ‘मितज्यू’ निर्देशन गर्दैछन् ।
‘हामी यो फिल्मलाई लिएर उत्साहित छौं’ फिल्म छायांकन थाल्दै घर्तीमगरले अनलाइखबरसँग भने, ‘नेपाली ग्रामीण सौन्दर्य कथालाई दर्शकले पुनः हेर्न पाउनुहुनेछ ।’

१५ जेठलाई प्रदर्शन मिति तय छ । यो फिल्ममा तेरियासहित दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, सुवर्ण थापा, अस्मिता लामिछाने, खड्गबहादुर पुन, अरुण पुनको अभिनय हुनेछ ।
ग्रामीण भेगमा चल्ने जीप चालकको कथावस्तुमा फिल्म बन्न लागेको हो । शिशिर बिशंखेले यो फिल्मको छायांकन गर्नेछन् ।
तेरियाको कुरा गर्दा उनी भारतीय टिभी रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता हुन् ।
यसअघि उनले सन् २०२२ को भारतीय वेब-सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ मा पनि अभिनय गरेकी थिइन् । फिचर फिल्मको रुपमा ‘मितज्यू’ पहिलो हुनेछ ।
प्रतिक्रिया 4