९ माघ, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले स्वतन्त्र उम्मेदवार रहेका लाक्पा तामाङको पक्षमा समर्थन जनाउँदै उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
गोम्देनले स्वतन्त्र उम्मेदवारी दिएको भए पनि स्वतन्त्र धेरै भएपछि निर्वाचन जित्न नसकिने भएकाले उम्मेदवारी फिर्ता गरेर तामाङलाई सहयोग गरेको बताएका छन्।
उनले धनकुटामा बनेका कुनै उम्मेदवार पनि स्वच्छ छविको नदेखेर मनोनयन दर्ता गरेको बताए । पछि उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ताको निवेदन बुझाएका छन् ।
तामाङले चलाएको धनकुटा बनाउ अभियानले प्रभावित भएर उम्मेदवारी फिर्ता लिएर सहयोग गरेको बताए ।
गोम्देन २०७४ सालको स्थानीय तहको निर्वाचनको बेला तत्कालीन नेकपा माओवादी केन्द्रबाट धनकुटा नगरपालिकाको प्रमुख पदका आकांक्षी रहेका थिए । त्यसपछि सो पार्टी परित्याग गरेका गोम्देन स्वतन्त्र बनेका थिए ।
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका गोम्देनले माओवादी केन्द्रबाट विद्राह गरी स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
धनकुटामा अन्य उम्मेदवारले भने उम्मेदवारी फिर्ताका लागि अहिलेसम्म निवेदन नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्रकुमार योङहाङले जानकारी दिए।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने योङहाङले जानकारी दिए ।
उनका अनुसार शुक्रबार नै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।
प्रतिक्रिया 4