९ माघ, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकारम रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार रेग्मीले उम्मेदवारी फिर्ता लिएका हुन् । रेग्मीको उम्मेदवारी फिर्तासँगै प्रलोपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने भएको छ ।
दुवै दलबीच पहिलो हुने निर्वाचित प्रणालीतर्फ सहकार्य गर्ने र समानुपातिकतर्फ आ–आफ्नै पार्टी चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।
सहमतिलाई जनभावना, विशेषगरी जेन-जेड पुस्ताको चाहना र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको रास्वपाले जनाएको छ ।
रास्वपा स्याङ्जा क्षेत्र नम्बर-२ ले विज्ञप्ति जारी गर्दै प्रलोपा नेतृत्वप्रति सहमतिका लागि आभार प्रकट गरेको छ ।
‘आमनागरिकको चाहना र परिवर्तनको कदर गर्दै भएको यो सहमतिले स्थानीय राजनीतिमा सकारात्मक सन्देश दिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सहमति पत्रमा रास्वपाका उम्मेदवार झविलाल डुम्रे, प्रलोपाका उम्मेदवार टिकाराम रेग्मी, रास्वपा स्याङ्जा–२ का संयोजक जगदीशप्रसाद गैह्रे, प्रलोपा स्याङ्जा–२ का संयोजक भरत पाठक र जिल्ला सभापति रुक्मागत भण्डारी (विश्वास) को हस्ताक्षर रहेको छ ।
यसैगरी, स्याङ्जा–२ का स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय र दिलीप श्रेष्ठले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तीन जनाले उम्मेदवारी फिर्ता लिएसँगै १२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया 4