+
+
Shares

किस्ता–किस्तामा ऋषि धमला : कहिले हँसाउने, कहिले रुवाउने

शिव मुखिया शिव मुखिया
२०८२ माघ ९ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको गाउँमा जन्मी–हुर्केका यी जलेबी ब्वाईले मधेशमा पुगेर किसानको कथा यसरी सुनिरहेका छन्, मानौँ त्यसअघि उनले त्यस्तो दुःखको बखान कहिल्यै सुनेका थिएनन्।

‘ऋषि धमला जानीबुझी चटक देखाउँछन् कि अज्ञानतावश् ?’

संभवत् दुनियाँले सुल्झाउन नसक्ने गाँठी रहस्य हो यो । कहिले आँसु नआए पनि रोइदिन्छन्, कहिले मन गाँठो पारेरै फिस्स हाँसिदिन्छन्, कहिले सातो जाने गरी तर्सिन्छन् । तैपनि उनले आफ्नो पारा छाड्दैनन् ।

मान्छे हाँसेरै मरोस् कि जे सुकै गरोस्, उनी किस्ता–किस्तामा नयाँ खुराक लिएर हाजिर भइदिन्छन् । यस्तो खुराक, जसले नेपाली समाजलाई काउकुती लगाइरहन्छ । हँसाइरहन्छ । खुसी बढाउने डोपामाइनको ‘क्याप्सुल’ जस्तै छन् उनी ।

यस्तो लाग्छ, ‘ट्रोल’ शब्द उनकै पेवापात हो । इन्टरनेट क्रान्तिपछि कुनै यस्तो समयावधि बाँकी छैन, जहाँ ऋषि धमला हाँसोको पात्र नबनेका हुन् । उसो त ‘ट्रोल’ शब्द प्रयोगमा आउनुअघि पनि उनको मजाक उडाइन्थ्यो । त्यसबेला के भनिन्थ्यो भने, ‘ऋषि धमलाले क्यामेरा देख्नै हुन्न, तँछाडमछाड गरेरै अनुहार देखाइछाड्छन् ।’

हुन पनि कुनै पनि नेताको अन्तर्वार्ता भइरहेको छ भने त्यसको पछिल्तिर चिल्लो कपाल भएका ऋषि धमला गजक्क परेर यसरी उभिएका हुन्थे, मानौँ उनलाई त्यहाँ थपक्क सजाइएको होस् ।

१४ इन्चको श्याम–श्वेत टेलिभिजनमा समाचार हेर्नेले ऋषि धमलालाई त हेर्नै पर्थ्यो । नहेरे पनि उनले आफ्नो अनुहार देखाइछाड्थे ।

समय बदलियो तर ऋषि धमला बदलिएनन् । हिजोजस्तै आज पनि उनी सर्वाधिक हेरिने अनुहारमा पर्छन् । अब त स्थिति यस्तो छ कि ऋषि धमलालाई खोजी–खोजी हेर्नैपर्ने । कुनै रेडियोको विज्ञापनमा ‘नसुने पछि परिन्छ’ भनेजस्तै, ऋषि धमलालाई नहेरे धेरै कुरा छुटे जस्तै हुन्छ ।

जगजाहेर छ, यतिबेला ऋषि धमला पत्रकारबाट नेता भएका छन् । र, काठमाडौंबाट रौतहट पुगेका छन् । मधेशमा उनले धमकेदार इन्ट्री मारेका छन् । उनी फूलमाला र खादाले अनुहार छोपेर साष्टाङ्ग दण्डवत् शैलीमा मतदाता रिझाउँदैछन् । सुकिला–मुकिला धमला धुस्रो–फुस्रो बस्ती–बस्तीमा पुगेका छन्, खेत–खेतमा पुगेका छन् । हिलोमा टेकेका छन्, धुलोमा हिँडेका छन् ।

उनले के गरेका छैनन् ?

हाते आराले काठ काटेका छन्, एक अँगालो उखु बोकेका छन्, ट्र्याक्टरको स्टेयरिङ समाएका छन्, साइकलको पेडल घुमाएका छन् अनि तातो तेलमा जलेबी पोलेका छन् । उसो त ऋषि धमला आफैँमा जलेबी जस्तै छन्—अनेकतिर जेलिएका । तैपनि झरिला, भरिला र रसिला ।

भोट माग्दै हिँडिरहेका उनी एक ठाउँ पुगेर जलेबी पोल्दै गरेका पुरुषको हात समाउँछन् । अनि आफैँ फनफनी घुमाएर पोल्न थाल्छन् । यही भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भएको छ । निलो कोट–पाइन्टमा ठाँटिएका धमलाले जलेबी पोलिरहेको भिडियोको पृष्ठभूमिमा गीत बज्छ, ‘जलेबी ब्वाई ।’

धादिङको गाउँमा जन्मी–हुर्केका यी जलेबी ब्वाईले मधेशमा पुगेर किसानको कथा यसरी सुनिरहेका छन्, मानौँ त्यसअघि उनले त्यस्तो दुःखको बखान कहिल्यै सुनेका थिएनन् । उनी भावुक हुँदै किसानलाई अँगालो हाल्छन्, रुन–रुन खोज्छन् । अनि निकै भावुक भएर भन्छन्, ‘रौतहट ठूलो समस्यामा छ । जनता धेरै पीडित छन् । त्यसैले मैले एउटा संकल्प गरेको छु—रौतहट जिल्ला अब म बनाउँछु ।’

उनको भावुक मन यतिमै थामिँदैन । उनी धाराप्रवाह भन्छन्, ‘मैले रौतहटमै आएर बस्ने निर्णय गरेको छु । अब म रौतहटमै घरजम गर्नेछु । अब म यहीँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु ।’ यति भनी सिध्याएर कुनै लभ–स्टोरी फिल्मको प्रेमिल दृश्यमा जसरी उनले स्थानीय किसानलाई च्याप्प अँगालोमा बाँध्छन् । धेरै बेर बाँधिरहन्छन् ।

करिब ६ फिट अग्ला ऋषि धमलाले मधेशमा माला लगाउन ९० डिग्री निहुरिनुपर्छ । उनी मज्जाले निहुरिएका छन्, जहाँ–जहाँ माला र खादाको स्वागत पाएका छन् । उनले ती किसानहरूबाट माला ग्रहण मात्र गरेका छैनन्, आफूले लगाइरहेको माला झिकेर लगाइदिएका पनि छन् । यसो भन्दै, ‘ल, अब उहाँलाई अभिनन्दन गरौँ । उहाँ सबैभन्दा राम्रो मान्छे, सबैभन्दा असल मान्छे ।’

त्यसपछि उनी मालाधारी मान्छेलाई समाएर फोटोसुट गर्छन् । ‘म तपाईंको साथमा छु जहिले पनि । अब चुनाव जितेपछि फेरि तपाईंको घरमा आउँछु,’ उनी पूर्ण आत्मविश्वासका साथ यति भन्न छुटाउँदैनन् ।

किस्ता–किस्तामा आउने ऋषि धमला हेरेर ‘हेराफेरी’ का दर्शकले राम्ररी धीत मारे होलान् । चिटिक्क कुर्ता–पाइजामा लगाएर उनी उखुबारी पुग्छन् । थोरै उखु बटुलेर अँगालोमा हाल्छन् । अनि यसो भन्छन्, ‘अरे ये उखु है ना उखु । ये उखु बोक के गाँव–गाँव जा सकता हूँ । आपको लेकर जा सकता हूँ । मैं काम करूँगा ।’

टाइ–सुटमा ठाँटिएका धमला फटाफट हिँड्दै चिया दोकानको हात समाउँछन् । टाउको निहुराएर आशीर्वाद थाप्छन् । बुढो किसानलाई अँगालोमा बाँध्छन् । एक नवजवानलाई आफूले लगाइरहेको माला फुकालेर लगाइदिन्छन् । अधवैंशेको साइकल मागेर डोहोर्‍याउँछन् । यी सबैको गजब मोन्टाज दृश्य बन्छ । अनि त्यसको पृष्ठभूमिमा धमकेदार गीत बज्छ, ‘रम्बा हो हो हो‘ सम्बा हो हो हो ।’

मानौँ मधेशमा धमला चुनावी यात्रामा छैनन् । बरु कुनै कमेडी फिल्मको छायांकनमा छन् । आखिर जे भए पनि उनले सबैको ध्यान आफूतिर खिचेका छन् । देश–विदेशका नेपाली उनैलाई हेरिरहेका छन् । अनि मस्त हाँसिरहेका छन् ।

उनले जानेर यसो गरेका हुन् वा नजानेर ?

त्यो उनीबाहेक अरू कसैलाई थाहा छैन ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?