+
+
Shares

गुल्मीमा आचारसंहिता उल्लंघन रोक्न उम्मेदवार र दलका प्रतिनिधिसँग छलफल

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत ऋषिराम घिमिरेले निर्वाचन आचारसंहिता २०८२ मा भएका प्रावधानहरूको विस्तृत जानकारी गराएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १४:३८

११ माघ, गुल्मी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गुल्मीमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता सम्बन्धी जानकारी गराइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत ऋषिराम घिमिरेले निर्वाचन आचारसंहिता २०८२ मा भएका प्रावधानहरूको विस्तृत जानकारी गराएका थिए ।

उनले निर्वाचनको क्रममा उम्मेदवार, राजनीतिक दल, समर्थक तथा सरोकारवालाहरूले के गर्न हुने र के गर्न नहुने विषयमा स्पष्ट पार्दै आचारसंहिताको पालना नगरे कानुनअनुसार कारबाही हुने जानकारी दिए ।

निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचनका लागि आचारसंहिता महत्त्वपूर्ण आधार भएको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैरैले निर्वाचन आचारसंहिता सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए ।

उनले जिल्लामा शान्तिपूर्ण, भयरहीत र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायसहित सबै सरोकारवाला निकायहरू तयारी अवस्थामा रहेको बताए ।

कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क रहेको उल्लेख गर्दै उनले सबै पक्षको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले निर्वाचनलाई सफल बनाउन सबै उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।

आचारसंहिताको पालना गर्दा निर्वाचनप्रति आम नागरिकको विश्वास अझ सुदृढ हुने उनको भनाइ थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरूको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय तथा प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

गुल्मीमा दुई निर्वाचन क्षेत्र छन् । ती दुई निर्वाचन क्षेत्रमा गरी हालसम्म ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेका छन् ।

तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् ।

जिल्लाभरि १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।  निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लामा राजनीतिक गतिविधि थप चहलपहल हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?