+
+
Shares

रोल्पामा पूर्वअर्थमन्त्रीसँग भिड्न कांग्रेसले उतार्‍यो युवा अर्थविद्

नेकपाका नेता वर्षमान पुनसँग रोल्पामा कांग्रेसले युवा अर्थशास्त्रीलाई अघि सारेको छ भने एमालेबाट पूर्व पोलिटब्यूरो सदस्यलाई मैदानमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते २१:५८

११ माघ, काठमाडौं । तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ ।

विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी सकेका वलीसँग संघ र प्रदेश सरकारसँग मिलेर काम गरेको अनुभव छ ।

३४ वर्षीय उम्मेवार वलीले युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञको रुपमा काम गरिसकेका छन् । सिंचाई मन्त्रालयमा सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि उनीसाग छ ।

लुम्बिनीको प्रदेश योजना आयोगको सदस्यका रुपमा उनले दुई वर्ष बढी काम गरे । उनी कांग्रेसको निति प्रशिक्षण तथा अनुसन्धान विभाग सदस्य समेत हुन् ।

संघीय सरकारको राष्ट्रिय खेलकुद र पर्यटन नीतिको मस्यौदा गरेको अनुभवले पनि विधायिकी भूमिकामा जान इच्छा जागेको वलीले चुनावी प्रचारमा बताउँदै आएका छन् । उनी भन्छन्, ‘भावनामा बग्ने भन्दा पनि जसको भूमिका जे हो त्यही भूमिका निर्वाह गर्न जानुपर्दछ । नीति निर्माणका लागि मस्यौदा बनाउने कार्यमा मैले काम गरिरहेको हुँदा संघीय संसदमा जान खोजेको हुँ ।’

नेकपा नेता पुनसँग एमालेबाट पूर्वपोलिटब्यूरो सदस्य गोकुल प्रसाद घर्ती चुनावी प्रतिस्पर्धी छन् । ५२ वर्षीय घर्ती विद्यार्थी संगठन हुँदै माउ पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् । २०४६ सालमा अनेरास्ववियुको सदस्य बनेका उनी २०६३ सालमा उक्त संगठनको महासचिव बनेका थिए ।

अध्ययन/अनुसन्धानको क्षेत्रमा समेत अनुभव रहेका घर्तीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन सकेका छन् । उनी संविधान सभा सदस्य समेत हुन् ।

विघटित प्रतिनिधि सभाको चौथो शक्ति रास्वपाले यसपटक रोल्पामा उम्मेदवारी दिएको छ । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका ३८ वर्षीय बालराम थापालाई रास्वपाले उम्मेदवार बनाएको छ । गत निर्वाचनमा रोल्पामा समानुपातिक तर्फ रास्वपाले १९०४ मत सहित चौथो शक्ति बनेको थियो ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव रोल्पाबाट उम्मेदवारका लागि एकल सिफारिस भएपनि प्रतिस्पर्धा गर्नबाट पछि हटेका छन् । उम्मेदवारको मनोनयन दर्ता हुने दिन (माघ ६ गते) चुनावमा सहभागी नहुने उनले निर्णय लिएका थिए । उम्मेदवार नहुनुको कारण ‘पार्टीको विचार तथा परिस्थितिको संवेदनशीलता’ लाई देखाएका थिए । चुनावमा आफू प्रतिस्पर्धी नबने पनि आफनो दलबाट उम्मेदवार हुने जानकारी गराएका थिए । तर, निर्वाचन आयोगका अनुसार उनको दल नेकपाबाट गुलाब चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छैनन् ।

विगतको नतिजाले नेकपालाई अनुकूल

२०६४ सालदेखि नतिजाको आधारमा विश्लेषण गर्दा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) शक्तिशाली देखिन्छ । २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनमा लगातार माओवादीका उम्मदेवारले जित्दै आएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले मतान्तरमा तुलनात्मक सुधार गरेपनि परिणाम निकाल्न सक्ने गरी अघि बढ्न भने सकेन ।

नेकपाले यसपटक पनि शीर्ष तहका नेतालाई नै प्रतिस्पर्धामा उतारेको  छ । तत्कालीन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन यसपटक पनि रोल्पाको चुनावी मैदानमा छन् । गत निर्वाचनमा पुनले फराकिलो मतान्तरले अर्को उम्मेदवारलाई पछि पारेका थिए । रोल्पामा दोस्रो शक्तिका रुपमा रहेको कांग्रेससँग चुनावी गठबन्धन गरेर उम्मेदवार बनेका पुनले २०७९ सालको निर्वाचनमा ४१ हजार ७१४ मत प्राप्त गरेका थिए । एमालेबाट उम्मेदवार बनेका पूर्ण बुढामगरलाई अत्यधिक मतले पुनले पछि पारेको थिए । एमालेका उम्मदेवार बुढामगरले १६ हजार ४८५ मत पाउँदा तेस्रो स्थानमा राप्रपाको मत थियो ।

समानुपातिकतर्फ पनि अघिल्लोपटक माओवादी केन्द्रले अन्य दललाई उछिनेको थियो । माओवादी केन्द्रले समानुपातिकमा २८ हजार १५९ मत सहित पहिलो हुँदा कांग्रेसको पक्षमा १५ हजार ७० र एमालेले ११ हजार ८५७ मत पाएको थियो ।

गत स्थानीय तहको निर्वाचनको आधारमा पनि तत्कालीन माओवादी केन्द्र पहिलो दल बनेको थियो । १० स्थानीय तह रहेको रोल्पामा त्यसबेला माओवादी केन्द्रले ७ पालिका जितेको थियो । कांग्रेसले दुई र एमालेका उम्मेदवारले एक पालिकामा जितेको थियो । स्थानीय तह चुनावमा माओवादीले जितेका पालिकाहरुमा रोल्पा, माडी, परिवर्तन, लुङग्री, सुनछहरी, सुनिल स्मृति र थवाङ छन् । रुन्टीगढी र गंगादेवमा कांग्रेसले जितेको छ भने एमालेका उम्मेदवारले त्रिवेणीमा जितेका थिए ।

प्रदेशतर्फको नजिताका आधारमा पनि माओवादी अघि छ । कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुनलाई गठबन्धन गर्दा एक प्रदेश सभा छुट्याएपनि माओवादी केन्द्रका विद्रोही उम्मेदवारले जिते ।

माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा (क) मा जोखबहादुर महरा जित्दा गठबन्धनबाट कांग्रेसका लुम्बिनी सभापति पुनले निर्वाचित हुन सकेनन् । माओवादी केन्द्रबाट विद्राही उम्मेदवार दीपेन्द्र पुनले प्रदेश सभातर्फ रोल्पा (ख) मा जिते । कांग्रेसबाट उठेका पुनले दोस्रो स्थानको मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?