+
+
Shares

खुम्चियो नेकपा, फैलियो कांग्रेस

राष्ट्रिय सभामा कांग्रेस–एमाले तालमेल अनुमोदन

नेपाली कम्युनिस्ट पार्टीका २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनमा यो पार्टीका उम्मेदवारले कतै पनि जितेनन् । अब राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ ११ गते २१:५४

११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको तालमेल अनुमोदन भएको छ । १८ पदका लागि भएको निर्वाचनमा तालमेल अनुसार दलीय भागबण्डामा उम्मेदवारहरू नै विजयी भएका छन् ।

कांग्रेस र एमालेबाट ९ र ८ जना निर्वाचित भएका छन् भने बाँकी एउटा पदमा लोसपाका उम्मेदवार महन्थ ठाकुर विजयी भएका छन् । योसँगै राष्ट्रिय सभाका दलीय समीकरण बदलिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् ।

आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा कांग्रेका सांसद संख्या २५ पुगेको छ । र कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ ।

दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ । जबकी, यसअघि नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा पहिलो दल थियो । नेकपा माओवादी (१७) र नेकपा एकीकृत समाजवादी (८) मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि यो पार्टीको राष्ट्रिय सभामा २५ सदस्यीय दल बनेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीका २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनमा यो पार्टीका उम्मेदवारले कतै पनि जितेनन् । अब राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ ।

तेस्रोमा नेकपा एमाले रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये ८ जना आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनबाट ८ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत तेस्रो स्थानमा रहनेछ ।

आगामी फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १/१ जना बिदा हुँदैछन् । यसपटकको चुनावमा लोसपाको तर्फबाट एक जना निर्वाचित भएकाले यो दलको राष्ट्रिय सभामा एक जना कायम रहनेछ ।

आइतबार भएको राष्ट्रिय सभा निर्वाचन ।

जनता समाजवादी पार्टी नेपालका तीन जना थिए । आगामी फागुन दुई पछि दुई जना मात्रै रहनेछन् । बाँकी जनमोर्चाको एक जना र मनोनीत तीन जना हुन्छन् । मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् । गौतमको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

राष्ट्रिय सभा निर्वाचनमा नागरिकले सिधै मतदान गर्ने होइनन् । स्थानीय तहका पदाधिकारी (प्रमुख र उपप्रमुख) तथा प्रदेश सभा सदस्यले मतदान गर्ने हुन् ।

निर्वाचनमा सातैवटै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका १ हजार ५०६ प्रमुख तथा उपप्रमुख मतदाता थिए । उनीहरूको मतभार भने फरक–फरक हुन्छ ।

कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुनः एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।

यसैगरी स्थानीय तहका पदाधिकारीको पनि मतभार निकालिएको छ जसअनुसार एक प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका एक जना पदाधिकारीको मतभार १९ छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

आइतबारको निर्वाचनबाट निर्वाचित सांसदहरूको कार्यकाल भने आगामी फागुन २१ बाट सुरु हुनेछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । एक तिहाइ सदस्यको निर्वाचन प्रत्येक दुई/दुई वर्षमा हुन्छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा राष्ट्रिय सभाको निर्वाचनको परिणाम पूर्वअनुमान गर्न सकिने रहेको बताउँछन् ।

‘अर्को दुई वर्षपछि फेरि निर्वाचन हुन्छ । र यो पहिले नै फिक्स मतदाता रहेको निर्वाचन हो’ उनी भन्छन्, ‘आम निर्वाचन जस्तो होइन । निर्वाचित प्रतिनिधिहरुद्धारा चुनिएको हो ।’ तैपनि पार्टीमा चुनावी परिणामको समीक्षा हुनेछ ।

चुनाव अगाडि प्रमुख दलका बीचमा नै तालमेलको प्रयास भएको थियो । भागवण्डामा कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । तर, परिणाम तालमेल गर्ने दलहरूको पक्षमा आएको छ ।

नेता सापकोटा भन्छन्, ‘तालमेल गर्न सकेको भए केही सिट आउँथ्यो । तालमेल भएन र आएन ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?