News Summary
Generated by OK AI. Editorially reviewed.- मिनासिंह रखालले छोरीहरूलाई पढाउनु नहुने सामाजिक विभेदविरुद्ध १२ वर्षको उमेरमा घर छोडेर कम्युनिस्ट राजनीतिमा होमिइन्।
- रखालले शिक्षकको जागिर छोडेर पूर्णकालीन राजनीतिमा होमिइन् र ४८ वर्षपछि कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्।
- उनी राष्ट्रिय सभामा महिला अधिकार र संघीयता कार्यान्वयनमा काम गर्ने योजना बनाइरहेकी छिन् र एमालेको केन्द्रीय सदस्य पनि हुन्।
१२ माघ, सुर्खेत । बाबु–आमाले सहजै स्कुल पठाइदिएको भए, छोरी भएकै कारण थरी थरीका विभेद झेल्नु नपरेको भए, मिनासिंह रखाल यति बेला अवकाश पछिको जीवन बिताइरहेकी हुन्थिन् । तर छोरीहरूले खेप्नु परेको विभेदले उनलाई यतिकै बसिरहन दिएन ।
उनले छोरीलाई पढाउनु हुन्न भन्ने समाज र परिवारका विरुद्ध विद्रोह गरेर १२ वर्षको उमेरमा घर छोडिन् । र, नेपालगञ्जमा पढ्दै गर्दा २०३४ सालमा कम्युनिस्ट राजनीतिमा होमिइन् । तीनै रखाल ४८ वर्षपछि कर्णाली प्रदेशबाट आइतबार राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छिन् ।
‘मेरा कथा व्यथा भनिनसक्नु छन् । लेखौँ भने किताब नै बन्छ । छोरीलाई पढाउनु हुन्न । घरबाहिर जान दिनुहुँदैन भन्ने परिवार र समाजमा विद्रोह गरेर निक्लिनु सामान्य कुरा थिएन,’ रखाल भन्छिन्, ‘साना पीडा र चोटले क्रान्तिमा होमिएको हैन म ।’
करिब ७ वर्ष शिक्षण गरेकी रखाल शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएकी थिइन् । छोरीहरूलाई पढाउनु पर्छ भनेर विद्रोह गर्ने तिनै ६३ वर्षीया रखाल विद्वतहरूको थलो भनिने राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।
जुन सामाजिक कुरीतिले महिलालाई पढाउनु हुन्न भन्यो । छोरी भएकै कारण पाइलैपिच्छे विभेद खेप्नु पर्यो त्यसैका विरुद्ध विद्रोहको बिगुल फुक्दाफुक्दै रखाललाई राष्ट्रिय सभा सदस्य बनेर कानुन निर्माणमा सहभागी बन्ने अवसर जुरेको छ ।
जागिर छोडेर राजनीति
बुवा कृष्णवीर सिंह र आमा ढाका कुमारी हमालबाट २०१९ साल चैत्र १२ गते नारायण नगरपालिका₋१, दैलेख बजारमा जन्मिएकी मिना शिक्षित परिवारमा हुर्किइन् । उनका बुवाले त्यो बेला स्थानीय युवाहरूलाई शिक्षा दिने काम गर्थे ।
‘आजभोलिको जस्तो त्यो बेला स्कुल थिएन । रुखको छहारी, चौतारो, घरको आँगनमा राखेर पढाइन्थ्यो,’ रखालले भनिन्, ‘परिवार शिक्षित भए पनि छोरीहरूलाई पढाउनु हुन्न । घर बाहिर पठाउनु हुन्न भन्ने परिवारको मान्यता थियो ।’

रखालले यहाँसम्म पुग्न अनेकौँ सामाजिक र राजनीतिक हन्डर भोगेकी छिन् । एमाले दैलेखका अध्यक्ष सूर्य बहादुर शाहीका शब्दमा उनी कर्णालीकी इमानदार र विद्रोही नेता हुन् । ‘मिना कमरेड महिला अधिकारका लागि लड्ने एउटा विद्रोही महिला नेतृ हो । महिला आन्दोलन र विद्रोहबाट माथि उठ्नु भएको व्यक्ति हुनुहुन्छ,’ अध्यक्ष शाहीले भने, ‘व्यक्तिगत स्वभावमा पनि शान्त, सरल र इमानदार नेता हुनुहुन्छ ।’
नेपालगञ्जबाट एसएलसीसम्मको पढाइ सकेर उनी २०४९ मा दैलेख फर्किइन् । गाउँकै एउटा विद्यालयमा शिक्षकको जागिर पाइन् । उनी शिक्षक हुँदा एमाले निकटको शिक्षक सङ्गठनमा आबद्ध भएर काम गर्दै आएकी थिइन् ।
पछि २०४१ सालमा उनले दैलेखकै भीम बहादुर रखालसँग बिहे गरिन् । उनका श्रीमान् पनि शिक्षक थिए । विवाह गरेपछि भने श्रीमान् र परिवारको साथ पाइन् । तर समाजले भने एउटा महिला शिक्षकलाई सहजै स्विकार्ने अवस्था थिएन ।
उनले उक्त स्कुलमा पढाइरहेकै बेला ०४६ सालको अन्तिमतिर प्रजातन्त्रका लागि आन्दोलन सुरु भयो । काठमाडौंमा आन्दोलन सुरु भएसँगै उनीले पढाइरहेको विद्यालयबाट राजीनामा दिइन् । त्यसपछि उनी कहिल्यै शिक्षकको जागिरमा फर्किइनन् । बरु जागिर छोडेर महिला हिंसाविरुद्ध लड्ने प्रतिबद्धतासहित राजनीतिमा होमिइन् ।
यस्तो छ, राजनीतिक यात्रा
मिनासिंह रखाल २०३४ सालमा नेपालगञ्जमा पढ्दै गर्दा कम्युनिस्ट राजनीतिमा होमिएकी थिइन् । उनी २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा उभिइन् । त्यो बेला उनी कक्षा ७ मा पढ्थिन् । १५ वर्षको उमेरदेखि उनी कम्युनिस्ट राजनीतिमा लागेकी थिइन् ।
२०४९ मा नारायण नगरपालिका ९ मा रहेको ईश्वरी प्राविमा शिक्षिकाको रूपमा काम गरिन् । २०४६ सम्म उनले ४ वटा विद्यालय फेर्नु पर्यो । त्यसको प्रमुख कारण आफू महिला शिक्षक हुनु भएको रखाल बताउँछिन् । ०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागिता जनाइन् ।
२०५४ सालमा नारायण नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित भइन् । २०५५ मा एमाले निकट अखिल महिला संघ दैलेख जिल्ला सचिव भएकी उनी २०५६ मा अनेम संघको जिल्ला अध्यक्ष बनिन् । ०५६ मै उनले एमाले दैलेख जिल्ला कमिटी सदस्य बनेकी थिइन् ।
२०५७ मा एमालेको भेरी अञ्चल समन्वय समितिको दुई कार्यकाल सदस्य बनेकी रखाल २०५९ मा एमाले दैलेखको उपसचिवमा निर्वाचित भइन् । २०७८ मा एमालेको केन्द्रीय सदस्य बनेकी उनी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पुन: केन्द्रीय सदस्यमा निर्वाचित भइन् । अहिले एमालेको केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इञ्चार्जको जिम्मेवारीमा छिन् ।
२०७४ मा एमालेबाट कर्णाली प्रदेश सभाको समानुपातिक सदस्य बनेकी उनीसँग ५ वर्ष प्रदेश सभामा काम गरेको अनुभव छ । पूर्व प्रदेश सभा सदस्य समेत रहेकी रखाललाई पार्टीले फेरी एक पटक राष्ट्रिय सभामा जिताएर पठाएको छ ।
‘मेरो हिजोको संघर्ष, त्याग र निष्ठालाई पार्टीले न्याय गरेको छ । म राष्ट्रिय सभामा प्रभावकारी भूमिका खेल्ने छु,’ उनले भनिन् । राष्ट्रिय सभामा निर्वाचित भएपछि रखालले पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्दै नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कर्णालीमा कांग्रेस₋एमालेको गठबन्धन हुँदा रखालले सहज जित निकालिन् । महिलातर्फ उम्मेदवार रहेकी उनले नेकपाकी उम्मेदवार अन्जु महतरालाई पराजित गरिन् ।
आइतबार भएको मतदानमा रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी थिइन् । पराजित भएका नेकपाका महिलातर्फ उम्मेदवार अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् ।
रखाललाई राष्ट्रिय सभामा गएर आफैँले लडेर ल्याएको संविधानको रक्षा गर्ने र संघीयता कार्यान्वयनको पक्षमा काम गर्ने योजना छ । महिला अधिकार र आन्दोलनका पक्षमा उभिनु त छँदै छ ।
प्रतिक्रिया 4