+
+
Shares

‘कमेडी च्याम्पियन’ को चौंथो सिजन ओटीटीमा आउन लागेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियन्सलाई ओटीटी प्लाटफर्ममा ल्याउने तयारी भैरहेको छ र निर्देशक विशाल भण्डारीले सुझाव मागेका छन्।
  • ओटीटीमा विदेशमा बस्ने नेपालीले शुल्क तिरेर शो हेर्न पाउनेछन् भने नेपालबाट युट्युबमा निःशुल्क हेर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
  • कमेडी च्याम्पियनको चौथो सिजन बैशाखदेखि सुरु हुने छ र टिमले एक कथानक फिल्मको पटकथा लेखन कार्य गरिरहेको छ।

काठमाडौं । लोकप्रिय टिभी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ लाई ओटीटी प्लाटफर्ममा पनि ल्याउने तयारी भैरहेको यसका निर्माताले बताएका छन् ।

शोका निर्देशक समेत रहेका विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत दर्शक र प्रशंसकलाई ओटीटी प्लाटफर्ममा शो ल्याउनेबारे तयारी भैरहेको र यसबारे सुझाव मागेका छन् । अनलाइनखबरसँगको कुराकानीमा पनि उनले यसबारे गृहकार्य भैरहेको बताए ।

उनले मुख्यतः ३ सल्लाह सामाजिक सञ्जालबाट मागेका छन् । पहिलो- ओटीटीमा गएमा सब्सक्रिप्सन लिएर सहयोग गर्नुहुन्छ त ? दोस्रो- कुनै बिजनेस एकाउन्ट खोलेर क्यूआर हालेर युट्युबमै बसेको उचित होला ? तेस्रो- नेपालमा युट्युबमा जाने र विदेशमा ओटीटीमार्फत सब्सक्रिप्सन मोडेलमा जाने ।

यी तीन विकल्पमध्ये तेस्रोलाई अघि बढाउने सम्भावना रहेको र आफूले पनि सुझाव पनि त्यस्तै पाएको विशालले बताएका छन् । उनका अनुसार यो विकल्पअन्तर्गत विदेशमा बस्ने नेपालीले उचित शुल्क तिरेर ओटीटीमा शो हेर्न पाउनेछन् भने नेपालबाट भने युट्युबमै निःशुल्क हेर्न सकिनेछ ।

सक्षम कलाकार र दक्ष प्राविधिकलाई आर्थिकरुपमा पनि सम्मान होस् र नेपालमै बसेर काम गर्न सकियोस् भन्ने उद्देश्यले आफूहरूले यी विकल्प अघि सारेको निर्देशक भण्डारीले उल्लेख गरेका छन् ।

हरेक नयाँ सिजन गर्ने क्रममा बजारमा पुग्दा टिम महंगो भएको बताउँदै भण्डारीले कलाकार र प्राविधिक विदेश भासिन्छन् कि भनेर चिन्ता लागेको पनि उल्लेख गरेका छन् ।

उनका अनुसार, ‘कमेडी च्याम्पियन’ को चौंथो सिजन बैशाखदेखि ल्याउने तयारी छ । ‘कमेडी च्याम्पियन’ ले पनि त्यसपछि निरन्तरता पाउनेछ । साथै, यो टीम एक कथानक फिल्मको निर्माणमा जुट्दैछ । अहिले फिल्मको पटकथा लेखन कार्य भैरहेको समेत भण्डारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?