१२ माघ, सिरहा । माघ १० गते शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान पठाएको थियो ।
सोही दिन पोस्टमार्टमका लागि अस्पतालमा अर्को किशोरीको शव पनि ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालियो, जुन राधिकाको भएको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कारका लागि लगे । तर त्यो शव राधिकाको नभई निशाको थियो ।
शनिबार पोस्टमार्टमका लागि शव अस्पताल पुर्याए पनि प्रहरीले परिवारका सदस्य आएपछिमात्रै आवश्यक प्रक्रिया अघि बढाउने बतायो । सोमबार बिहान आमा-बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो १ बजे पोस्टमार्टम गराउनका लागि अस्पताल तयार भएको थियो ।
तर अस्पतालमा भएको शव सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको भएको खुल्यो । साथै राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य पनि सार्वजनिक भयो ।

तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने निशाकै परिवारले शव बुझिसकेको र पछि मात्र आफ्नो नभएको दाबी गरेपछि शव हेरफेर भएको थाहा भएको प्रतिक्रिया दिएका छन् ।
घटनाप्रति आक्रोश व्यक्त गर्दै स्थानीयवासी तथा आफन्तजनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए । केही समय राजमार्ग अवरुद्धसमेत भएको थियो ।
स्थानीयहरूले चिकित्सक तथा अस्पताल सञ्चालक समितिका अध्यक्षमाथि कडा कारबाहीको माग गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनामा दोषी देखिएका व्यक्ति वा निकायमाथि कानुनअनुसार कारबाही हुने बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4