१२ माघ, बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताए ।
समरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको थापाको भनाइ छ । नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेशले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको पनि उनले बताए ।
‘अब म यहाँको भाषा, रहनसहन, भेषभुषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’
काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेशका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेश र मधेशका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए ।
एक पटक भए पनि मधेशप्रति समर्पित नभई, मधेशमा आफू र आफूमा मधेश नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेश झरेको उनले स्पष्ट पारे । रासस
प्रतिक्रिया 4